कोञ्जेसोममा ५४ प्रतिशतले तेस्रो किस्ता लिए


७ माघ २०७५, सोमबार
money

ललितपुर, ७ माघ । दक्षिणी भेगमा पर्ने कोञ्जेसोम गाउँपालिकामा घर निर्माण सकेर तेस्रो किस्तावापतको रकम लिनेको संख्या ५४ प्रतिशत रहेको छ ।

money

जिल्लाका छ स्थानीय तहमध्ये यो गाउँपालिकामा निजी आवास पुनःनिर्माण सबैभन्दा द्रुत गतिमा भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतका जिल्ला आयोजना कार्यान्वयन एकाइ (आवास) ले जनाएको छ ।

यो गाउँपालिकामा जम्मा दुई हजार १५४ लाभग्राही रहेकामा एक हजार १६४ ले घर निर्माण सम्पन्न गरिसकेको एकाइले जनाएको छ । एक हजार ६४६ लाभग्राहीले दोस्रो किस्तावापतको रकम र दुई हजार ४१ जना लाभग्राहीले पहिलो किस्ता वापतको रकम यो गाउँपालिकामा लिइसकेका छन् । गाउँमा घर बनाउन शहरी क्षेत्रमा भन्दा कठिनाइ कम हुने एकाइका आयोजना प्रमुख वीरबहादुर रावलले बताए ।

शहरी क्षेत्रमा कम क्षेत्रफलमा घर बनेको हुँदा भूकम्पपछि पनि त्यतिमा नै घर बनाउनुपर्छ । ग्रामीण क्षेत्रमा एकातिर पर्याप्त जमीन हुन्छ भने अर्कातिर मापदण्ड पनि लचिलो हुन्छ । भूकम्प प्रभावित सबै जिल्लामा सरकारबाट अनुदान लिएका घर बनाएका लाभग्राहीको भन्दा गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत घर बनाउँदा चाँडो बनेको छ ।

यो गाउँपालिकामा २४२ घर लुमन्ती संस्थाले बनाएको हो । उनले भने, ‘घर निर्माण सकिएर सबै लाभग्राहीले तेस्रो किस्ता पनि लिइसकेका छन् ।’ जिल्लाभरमा भने तेस्रो किस्ता लिने लाभग्राही २३ प्रतिशत मात्रै रहेको छ । गुनासोपछि थप भएका समेत जम्मा लाभग्राही संख्या २८ हजार ३८२ रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७