रावाखोला जलविद्युत् आयोजना ८० प्रतिशत काम सकियो


८ माघ २०७५, मंगलवार
rawa

खोटाङ, ८ माघ । केपिलासगढी गाउँपालिकाको सुङ्देलबाट उत्पादन गर्न लागिएको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको छ ।

rawa

राष्ट्रिय वाणिज्य बैंकको ७० र प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशत लगानीमा उत्पादन हुने तीन मेगावाट क्षमताको साना जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको जनाइएको छ ।

सुङ्देलको दाम्कुबेँसीमा पानी खसालेर उत्पादन गरिने विद्युत् आयोजनाको पावरहाउस, हेडड्रेस, पाइपलाइनलगायत ठूला काम अन्तिम चरणमा पुगेको रावा इनर्जी डेभलपमेन्ट प्रालिका सञ्चालक मुक्ति तिम्सिनाले जानकारी दिए । ‘आगामी असार मसान्तभित्र विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको छ’, उनले भने, ‘उत्पादित विद्युत् सिधै केन्द्रीय प्रसारण लाइनमा जडान गरेर वितरण गरिने छ ।’

करीब दुई हजार १०० मिटर माथिबाट पानी झारेर विद्युत् उत्पादन गरिने उक्त विद्युत् आयोजनामा अहिले एक हजार मिटरभन्दा बढी पाइपलाइन बिच्छ्याउने काम सम्पन्न भएको छ । दाम्कुबेँसीमा रहेको विद्युतगृहको काम भने अन्तिम चरणमा पुगेको सञ्चालक तिम्सिनाको भनाइ छ ।

आयोजनाको विद्युतगृह, हेड, पाइपलाइन, एङ्कर ब्लकलगायत सिभिल कन्स्ट्रक्सनको काम ट्रिपल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, जेनेरेटर, टर्बाइन, ट्रान्सफरमर, प्यानल उपकरण जडानलगायत इलेक्ट्रोनिक मेकानिकलको काम सिमर इनर्जी र इञ्जिनीयरिङको काम युनिट्स इञ्जिनियरिङ कन्सल्टेन्सीले जिम्मा लिएका छन् । दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनको बाक्सिलास्थित सबस्टेशनमा जडान गरिने विद्युत्को अहिले हेडमा सेटलिङको काम तीव्र गतिमा भइरहेको छ ।

माथिल्लो रावाखोलाकै पानी प्रयोग गरेर हौंचुर र जालपाकोबीचबाट पनि ६.५ मेगावाटको रावाखोला हाइड्रोपावर उत्पादन गर्ने गरी काम अगाडि बढाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा सानाठूला गरी दर्जन बढी विद्युत् आयोजना सञ्चालनमा रहेका छन् । विसं २०५७ जेठ २ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेको केन्द्रीय प्रसारण लाइनको विद्युत् हालसम्म जिल्लाको साविक ४४ गाविसमा मात्र विस्तार भएको छ ।

दुई नगर र आठ गाउँपालिका रहेको खोटाङमा अहिलेसम्म १२ हजार ३२४ घर विद्युत् उपभोक्ता रहेका छन् । तीन वर्षअघिबाट ३३ केभी क्षमतामा विस्तार गरिएको विद्युत् पछिल्लो समय अवरुद्ध हुनेक्रम हट्दै गएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७