बुवा

श्रीदीप दाहाल

मेरो बुवा सारै गरिब हुनुहुन्छ
किनभने, मेरो बुवा
पसिना बगाउनुहुन्छ
पसिना बेच्नुहुन्न ।
‘बुवा !, ब्यापारीहरु मात्रै
धनी हुने देश हो यो
र सबैभन्दा धनी चाहिँ
स्वाभिमान बेच्नेहरू भए ।’

मलाई सबैभन्दा मीठो लाग्छ बुवा
तपाईको पसिनाको गन्ध ।
मान्छेहरू जान्दैनन् …
फुलको बास्ना~~भन्नूपनि
फूलले, फुल्नको लागि
बगाएको पसिनाकै गन्ध हो ।
तपाई किन फुल्नुभएन बुवा ?
`सबैका पसिना फुल्दैनरछन् ।´
मेरो बुवाको नाममा फूलेको त
कपाल मात्रै छ ..
र थाहा छैन मलाई
आजभोलि देवीथान जाँदा
बुवा फुल चढाउनुहुन्छ कि कपाल ?

हाम्रो गाउँमा
बाँस झ्याङको मुन्तिर
भित्रभित्रै रसाएर
एउटा कुवा रुन्छ
भित्रभित्रै रसाएर
अर्को बुवा रुनुहुन्छ ।
कुवा र बुवा
रोइरहँदापनि ..
शान्त देखिन्छन् , किन ??

तपाईले आफ्नो जीवनमा
के के गर्नुभएन बुवा ?
के के खेप्नु भएन ?
के के भोग्नु भएन ?
तर तपाईँलाई मैले
` मेरो बुवा ´ भनेर चिनेको दिनदेखि
मैले थाहा पाइन
तपाईले आफ्नै लागी चाहिँ
के के गर्नुभयो ?
आफ्नै लागि चाहिँ
के के खेप्नुभयो ?
के के भोग्नु भयो …
आफ्नै लागि चाहिँ ?

जब म तिनको अनुहार नियाल्छु
हाम्रा गोरुहरू
जो धान कुटेर रहेको ढुटो खाएर
धान फल्ने खेतको मेलो जोतिन्छन्
त्यस्ता गोरुहरूको अनुहारमा
म तपाईँको अनुहार किन देख्छु बुवा ?
जब म तिनको अनुहार नियाल्छु !!

मेरो बुवा ..
जस्ता सबैका बुवा
पहाड हुन्
तर पहाड चढ्नेहरूले कहिल्यै सम्झेनन्
पहाड चढ्न भन्दा
पहाड बन्न गाह्रो हुन्छ ।
मेरो बुवा..
जस्ता सबैका बुवा
तराई हुन्
तर तराई झर्नेहरूले कहिल्यै सम्झेनन्
तराई झर्नभन्दा
तराई बन्न गाह्रो हुन्छ ।
र त्यसै गरी ….
हिमालको पनि कुरा उस्तै हो ।

देशमा आइसक्दा पनि
तपाईको अनुहारमा किन आएन बुवा ?

सङ्घीयता !
हिजो हाम्रो घरमा
बाँस माग्दै आउने
त्रास लाग्दा क्रान्तिकारीहरू
युद्धमै मरेछन् क्यार !
बाँचेका भए
लिएर किन फर्केनन्
जुन लिएर गएका थिए
चन्दाको नाममा
मेरो बुवाको पसिना ।
बाँचेकै भए आज
उनीहरू सबैभन्दा धनी भए होलान्
मेरो बुवा सारै गरिब हुनुहुन्छ ।

( किरात राई विद्यार्थी संघ आरआर क्याम्पसमा इकाई कार्यसमितीले आयोजना गरेको खुल्ला कविता तथा बकतृत्वकला प्रतियोगितमा प्रथम भएको कविता)

प्रतिक्रिया दिनुहोस्