उपत्यकाका २७ स्थानमा होली कार्यक्रमका लागि अनुमति, इच्छा विपरीत रङ्ग दले सार्वजनिक मुद्दा


५ चैत्र २०७५, मंगलवार
holi 2

काठमाडौं, ५ चैत । होलीलाई उश्रृखंल र अमर्यादित बन्न नदिन सुरक्षाकर्मीले विशेष सुरक्षा योजना बनाएको छ ।

holi 2

कसैको इच्छा विपरीत रङ्ग दल्ने, लोला हान्ने जस्ता अमर्यादित गतिविधि गरे तत्काल पक्राउ गरी सार्वजनिक मुद्दा चलाइने काठमाडौं प्रहरी परिसरले जनाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले होली पर्वलाई लक्षित गरेर यस्तो सुरक्षा योजना पारित गरेसँगै प्रहरीले सोही अनुरुप तयारी गरेको जनाएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तकुमार लामाले अभद्र तरिकाले होली खेलिएको पाइए तत्काल पक्राउ गरेर कार्वाही अघि बढाइने जानकारी दिए ।

एसएसपी लामाले कसैले होलीको नाममा जब्बरजस्ती गर्न खोजे प्रहरी कन्ट्रोल १०० मा तुरुन्त खबर गर्न पनि सर्वसाधारणलाई आग्रह गरेका छन् । ‘‘हामीले एउटा कार्ययोजना नै बनाइसकेका छौं । जसअनुसार होलीको दिन काठमाडौंमा मात्रै एक हजार ७११ जना प्रहरी अधिकारी फिल्डमा खटिने छन्’, उनले भने, ‘होली पर्वलाई भद्र र सौहार्दपूर्ण बनाउने कुरामा हाम्रो प्रयास रहने छ ।’

उनका अनुसार होलीलाई लक्षित गरेर उपत्यकामा चेक पोइन्टहरु राखिएको छ भने मोबाइल गस्ती पनि बढाइएको छ । उनले विगतका वर्षझैं साताअघि नै होली खेल्ने क्रम यस पटक नेखिएको बताउँदै बुधबार पनि सौहार्दपूर्ण वातावरणमा होली मनाइने आशा गरिएको बताए ।

होलीलाई सम्भय र मर्यादित बनाउन जानकारी दिने उद्देश्यले सोमबार काठमाडौंको सोह्रखुट्टेलगायतका स्थानमा चेतनामुलक र्‍याली निकाल्नुका साथै माइकिङ समे गरिएको लामाले बताए । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार हालसम्म यस वर्षको होलीमा सार्वजनिक कार्यक्रम आयोजना लागि २७ वटा समूहले अनुमति लिएका छन् । ती कार्यक्रमहरुको सुरक्षामा सम्बन्धित आयोजकका तर्फबाट स्वयम्सेवकसँगै प्रहरी पनि खटिने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७