‘नबिक्ने रायो, गाईले पो खायो’


२ माघ २०७४, मंगलवार
Rayo Photo

गोविन्द पौडेल

इलाम : शहर–बजारका अधिकांश गृहिणीलाई उज्यालो भएपछि आज के को सब्जी पकाउने भन्ने चिन्ताले पिरोल्छ । तर, अहिले इलामका अधिकांश धेरै किसानलाई भने बारीको रायो साग कहिले गाईबस्तुले खाईसक्छ भन्ने चिन्ता छ ।rayo sag photo

इलाम जिर्मलेका अधिकांश किसानको बारीमा अहिले हरियै रायो साग देख्न सकिन्छ । कसैले ‘यतिविघ्न रायो साग के गर्नु हुन्छ ?’ भनेर सोध्न नपाउँदै जिर्मलेबासीको उत्तर हुन्छ ‘नबिक्ने रायो, गाईले पो खायो ।’ जिल्लाकै सदरमुकाममा रायो साग हारालुछ भईरहेका बेला इलाम जिर्मलेका किसान भने बारीको रायो उखेलेर गाईबस्तुलाई घाँस खुवाइरहेका छन् । जिर्मलेकी माया पौडेलले आजभोलि घाँस नकाटेको धेरै दिन भयो । बारीमा रोपेको रायो सागले त्यतिकै बारी ओगटेपछि अहिले त्यहि उखेलेर गाईबस्तुलाई खुवाइरहेको उनी बताउँछिन् ।

सडक सुविधा राम्रो भएको गाउँका किसानले रायो साग बेचेर राम्रो कमाइ गरिरहेको खबर दैनिकजसो रेडियोबाट समाचार सुन्नु हुने जिर्मलेकी कृष्णमाया प्रधानलाई रेडियोको समाचार ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ जस्तै लाग्छ । उनको बारीमा पनि अहिले हरियैगरी रायो साग छ । तर, बेच्नका लागि लैजाने बाटो र गाडीको सुविधा नहुँदा आफूले पलाएको साग गाईबस्तुलाई घाँस खुवाउनुको विकल्प छैन । उनी भन्छिन्–‘दुई÷तीन घण्टा उकालो बोकेर कन्याम पुर्‍याउनु हो भने यहि साग एकैछिनमा सकिन्छ । तर, के गर्नु यत्रो उकालो कसरी बोकेर लैजानु । बल्ल–तल्ल पु¥यायो, सित्तैजसो दिनु भन्छन् ।’

यहाँका किसानको घरमा बारीभरी रायो साग छ । कतिपय किसानले आफूले बेलाबखत खाने र चैत–बैसाखका लागि ‘गुन्द्रुक’ हाल्ने गरे पनि फलेको सबै साग यसैमा मात्र खपत नहुँदा गाईबस्तुलाई खुवाउने गरेका छन् । गाउँमा कहिलेकाहीं मात्र एक÷दुई वटा गाडी चल्ने र त्यहि पनि बाटो अप्ठ्यारो भएकाले धेरै भारी बोक्न नमान्ने गरेका कारण आफूहरुको गाउँमा उत्पादन भएको नगदेबाली त्यतिकै नाश भएर गईरहेको जानकारी दिंदै स्थानीय गिरीराज प्रधान भन्छन्–‘असंगठित किसान, व्यापारीको मनखुशी मूल्य र सवारी साधनको असुविधाले किसानले खेतीबाट आम्दानी लिन सकेका छैनन् ।’ जिर्मलेका अधिकांश किसानले चार÷पाँच रोपनी जग्गामा रायो साग रोप्ने गरेका छन् । तर, बेलामौकामा बाहेक यहाँका किसानले चाहेर पनि आफ्नो उत्पादन बेच्न सकेका छैनन् । बजारमा प्रतिमुठा २५ देखि ३० रुपैंयाँसम्ममा रायो साग हारालुछ भएर बिक्ने गरे पनि जिर्मले क्षेत्रका किसानलाई ५-१० रुपैंयाँमा पनि रायो नबिक्ने समस्या छ ।

तर, मेची राजमार्ग आसपासका किसानले भने रायो साग बेचेर राम्रो आम्दानी लिइरहेका छन् । मेची राजमार्गले छोएको कन्याम, पशुपतिनगर, कोल्बुङ्ग, बरबोटे, सुम्बेक, माइपोखरीलगायत क्षेत्रका किसानले भने रायो साग बेचेर घरायसी खर्च मात्र नभई दुई÷चार पैसा जोडेका पनि छन् । सडक सुविधा भएका गाउँका किसानले मात्र होइन विचौलियाले समेत रायो सागबाट राम्रो आम्दानी गर्ने गरेका छन् । किसानबाट किनेको रायो ‘मुठा फारेर’ विचौलियाले बढी मुठा बनाएर बेच्ने गरेका छन् । सडक सुविधा भएको गाउँका किसानले प्रत्येक वर्ष रायो बिक्रीबाट एक लाख रुपैंयाँसम्म समाउने गरेका छन् ।

इलाममा उत्पादन भएको रायो साग जिल्लाबाहेक झापाको विर्तामोड, चारआली, बुधबारे, भारतको दार्जिलिङ्ग, मिरिकसम्म पुग्ने गरेको छ । रायो साग विक्रीबाट वर्षमा सरदर ३४ करोड रुपैंया“ भित्रने गरेको कृषि विकास कार्यालय इलामले जानकारी दिएको छ । रायोको सागमा भिटामिन ‘ए’ प्रशस्त पाइने भएकाले यसले रतन्धोलगायत रोगबाट केटाकेटीलाई बचाउँछ । रायोको सागले आँखाको शक्ति र स्मरण शक्ति समेत तेज बताउने स्वास्थ्यकर्मी बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७