राजनीति खेलकुदको ‘बाउन्ड्री’ भन्दा बाहिर हुनुपर्छ : दावा गुरुङ

नेपाली खेलकुद क्षेत्रमा दावा गुरुङ ऐतिहासिक नाम हो । सन् १९९९ को आठौं साफमा उनको अगुवाइमा नेपालले ऐतिहासिक उपलब्धी हासिल गरेको थियो । त्यो बेला नेपालले ३१ स्वर्ण,२७ रजत र १६ कास्य जितेर नेपाल दोस्रो भएको थियो । यो अहिलेसम्मकै खेलकुदमा ठुलो उपलब्धी हो । जुन नेपाली खेलकुदका लागि अहिलेसम्म गौरवको विषय बनेको छ । खेलाडी, प्रशिक्षक हुँदै खेलकुद क्षेत्रको विकास गर्ने संस्थाको नेतृत्व गर्दै आउनु भएका उनको संस्थागत संलग्नता पनि व्यापक छ । हाल राष्ट्रिय खेलकुद परिषदको सदस्य, कराँते महासंघको अध्यक्ष र सितोरियो कराँते संघका अध्यक्ष रहेका गुरुङ खेलकुद संघका संस्थापक अध्यक्ष पनि हुन् । १३ औं दक्षिण एशियाली खेलकुदका लागि नेपालको संयोजक रहेका गुरुङसँग खेलकुद क्षेत्रमा केन्द्रित बनेर नयाँपेजका लागि प्रबिन कुलुङ राईसँग गरिएको कुराकानी :

१. तपाईको खेल जीवनबारे बताई दिनुस् न ?
मैले २०३६ सालदेखि खेल्न शुरु गरेको हो । २०३८–२०३९ सालमा नै मैले नेपालको तर्फबाट क्वालाम्पुरमा थर्ड प्यासिफिक ओसन गेम खेलेको हुँ । त्यसबाट मेरो अन्तर्राष्ट्रिय खेल जीवन शुरु भएको हो । नेपालबाट पहिलो डब्ल्युटिएफ खेल्ने, पहिलो एटिएफ खेल्ने, पहिलो एशियन प्यासिफिक खेल्ने, पहिलो साउथ एशियन खेल्न र जित्नेमा पनि मै पर्दछु ।

२. तपाईले यतिका धेरै खेलहरुमध्ये कराँते नै रोज्नुको कारण चाँहि के होला ?
स्कुल लाइफमा म हरेक गतिविधिमा टप थिए । म पोखराको गण्डकी टेक्निकल स्कुल पढ्थें । त्यसबेला म स्काउटको पनि ट्रिप्लिकल थिए, स्पोर्टस्मा पनि म टप क्याप्टेन नै थिएँ । हरेक स्पोर्टस् गतिविधिहरुमा पनि म टप क्याप्टेन नै थिएँ । र, पढाइमा पनि म त्यहाँको टप थ्रीभित्रमा पर्थे ।

३. कराँते खेलमा यतिका ४० वर्ष बिताउँदा तपाईले कराँतेलाई के दिनु भयो र के गुमाउनु भयो जस्तो लाग्छ ?
मैले कराँते खेलेर देशको लागि गौरव हुने काम गरेको छु । तर, मेरो एउटा सानो कमजोरी चाहीं के हो भने घरायसी लाइफका लागि त्यति समय दिन सकेको छैन ।

४. सन् १९९९ को साफ गेममा नेपालकातर्फबाट तपाईले छुट्टै इतिहास र पहिचान बनाउनु भएको छ । अबको १३ औं साफमा त्यो इतिहास दोहोर्‍याउन मन छैन ?
मैले जीन्दगीमा जे जति काम गरें, चाहे त्यो कराँते खेलेर होस्, चाहे त्यो, स्काउटमा छिर्ने बेला होस् या त एन्सिएनको ट्रेनिङ्गमा छिर्ने बेला होस् । ती सबै समयमा मैले अब्बल रुपमा काम गरेको थिएँ र अब्बल दर्जाको नै थिएँ । त्यसपछि मैले म्यानेजमेन्ट सम्हालें । म्यानेजमेन्टमा पनि मैले इतिहास रचेको छु। जसको ज्वलन्त उदाहरण मैले अघि नै भनिहालें । सन् १९९० को खेलको म नेपालको आठौ दक्षिण एशियाली खेल तयारी संयोजक पनि थिएँ । र, मैले चाहे खेलाडी भएर होस्, चाहे व्यवस्थापनमा बसेर होस्, कराँतेको गुरु भएर काम गर्दा पनि मैले इतिहास रचेको थिएँ । मलाई विश्वास छ, अब यो तेह«ौं दक्षिण एशियाली प्रतियोगितामा पनि संयोजक मै छु अहिले । मलाई अपोइमेन्ट गरिएको छ । तर, काम चाहीं शुरु भइसकेको छैन । त्यो भईसकेपछि लाग्ने छु । टाइम पनि कतिकति छ । अहिले के छ भने नेपालको राजनीतिक परिवर्तन सँगसँगै हरेक कुरामा राजनीति हावी छ । यहि राजनीतिक हावीका कारण देश अन्योलको अवस्थामा छ । यस्तै सरकार बनिनसकेको अवस्थामा यसको काम पनि अलमल भइरहेको छ ।

५. विगतको इतिहासलाई थप चम्काउँदै अबको साफमा चाहीं कति मेडल भित्रयाउने लक्ष्यका साथ लागिरहनु भएको छ ?
अब म एउटा कुरा क्लियर भन्छु, कराँतेको त कुनै डाउट नै छैन हामी जित्छौं नै । हामी कति स्वर्णको तयारी गर्छौ त्यसको ९५ प्रतिशत स्वर्ण हामी जित्छौं । यो कुरा म पूरा विश्वासका साथ भन्छु । १३ औँ एशियाली खेलकुदको संयोजक म रहिरहे भने मलाई विश्वास छ आठौं दक्षिण एशियाली प्रतियोगिताको भन्दा राम्रो रिजल्ट ल्याउने छौं ।

६. पहिला नेपाल दक्षिण एशियाली खेलकुदमा अब्बल मानिन्थ्यो । अहिले यो अवस्था खस्किंदै जाँदैछ यसको कारण के होला ?
हैन त्यो गलत कुरा हो । तपाईहरुलाई थाहै छ, हरेक मान्छेलाई महासंघको अध्यक्षमा बस्ने, हरेक मान्छेलाई महासंघमा बस्ने, हरेक मान्छेलाई परिषदमा बस्ने, एउटा ठूलो ठाउँमा बसेर ठूलो मान्छे बन्ने धेरैको धोको हुन्छ । तर, कर्म गरेर प्रमाणित गर्ने धेरै कम र विरलै हुन्छन् । म तपाईलाई प्रष्ट पाछु, मैले आठ वर्ष खेलकुद कराँते छोडेर बस्दा कराँतेको अवस्था कहाँ छ थियो मलाई थाहा छैन । त्यो बेला कराँतेको अवस्था खस्केको पनि हो । तपाईहरुले यो पाँच वर्षको दर्मियानमा हेर्नुस् हामीले तीन वटा दक्षिण एशियाली कराँतेमा भाग लियौं । तीनटैमा स्विप गरेर हामीले सयमा सय प्रतिशत नै ल्यायौं । त्यो मात्र होइन एशियन प्यासिफिकमा दुईटा स्वर्ण, चार वटा रजत, सात वटा काँस्य ल्याउनु भनेको अहिलेसम्म इतिहास नै छैन । यस्तै गरेर अब विभिन्न इन्टरनेशन अफिसियल गेमहरुमा पनि हामीले प्रमाणित गरेर देखाइसकेका छौं कि, दक्षिण एशियामै हामी अब्बल दर्जामा छौं ।

७. नेपालमा सबैभन्दा बढी प्रशिक्षक कराँतेमै छन् । तर, धेरै प्रशिक्षकहरुले सरकारी तलव आएर काम नगरेको उदाहारण पनि छन् । खास कारण के होला ?
अब के भो भन्दाखेरी, पहिला प्रशिक्षक भन्दा उनीहरु भन्दा बाहेक अरु कोही थिएनन् । जुन–जुनले ७५ जिल्लामा गएर जो–जोले दुःख गर्छौ भने मैले जागिर दिलाएकै हो । अहिलेको अवस्थामा हाम्रा कार्यरत प्रशिक्षक मात्रै करीब–करीब २३ सय भन्दा बढी छन् । अहिले नयाँ कोचहरु पनि आएका छन् । पूराना कोचहरु भनेको चाहीं खाली ‘गाइडेन्स’ मात्र गर्ने, नयाँ कोचहरुलाई चाहीं, जुनियर कोचहरुलाई सही बाटो देखाउने र कोच गर्ने, कन्ट्रोल गर्ने काममा मात्र खटेका छन् । केहि काम नगर्ने खालका पनि छन् र छन् होलान् मेरो कारण जागिर खाएका मान्छेले काम गर्छ गर्दैन त्यो हेर्ने मेरो काम होइन । मेरो काम के हो भने जसरी हुन्छ कराँतेलाई विकास गरेर कराँतेलाई उत्कृष्ट दिशा दिएर कराँतेलाई देशको गौरव बनाउनु पर्छ । अहिलेसम्म यसले देशको इज्जत राखिरहेको छ । अहिले देशको ६५ वटै जिल्लाका गाउँगाउँमा कुना कुनामा कराँतेको विकास होस् भन्ने चाहीं मेरो चाहना हो । त्यो अनुसार अहिले काम पनि भइरहेको छ ।

८. सन् २०२० को ओलम्पिकमा पनि कराँतेलाई राखिएको छ । नेपालबाट के कराँतेले प्रतिनिधित्व गर्न सक्छ ?
अब त्यो कुरामा के छ भने नेपालले सन् २०२० को ओलम्पिकमा कराँते राख्नेमा नेपालको पनि ठूलो हात छ । सम्बन्धित निकायलाई ढकढकाएर सम्बन्धित निकायले २०२० को ओलम्पिकमा कराँतेलाई छिराउनुमा पनि ठूलो हात छ । अब हामीले राम्रोसँग खेल बुझ्ने मान्छे सरकार, खेलमा राजनीतिकरण नगर्ने पायो भने कराँतेले मेडल हान्छ । यो चाहीं ग्यारेन्टड छ ।
९. अबको ओलम्पिकमा खेल्न खेलाडीलाई सरकारको सहयोग कस्तो हुनुपर्छ ?
यसमा सबैभन्दा बढी सरकारले नै सहयोग र पहल गर्नुपर्छ । सरकारले त्यो अनुसारको ट्रेनिङ्ग राख्नु पर्‍यो, त्यहि अनुसारको ‘फेसिलिटी’ दिनु पर्‍यो । त्यहि अनुसारको टेक्निकल व्यवस्था गर्नुपर्‍यो, फाइनान्सियल सहयोग गर्नु पर्‍यो । यी कुरा गरेपछि, अन्य कुरामा त हामी छँदैछौं नि । हामी गाइडेन्स दिइहाल्छौं । यसलाई लागू गर्ने कुरामा सरकारको ठूलो हात हुन्छ । जसले चाहीं हाम्रो लक्ष्य र उपलब्धीमा सहयोग पुर्‍याउँछ ।

१०. सरकारले खेलकुद क्षेत्रमा व्यवस्था गरिरहेको बजेट कतिको पर्याप्त छ ?
खेलकुद विकासको क्रममा हेर्दाखेरी चाहीं त्यो बजेटले पुग्छ । तर, टार्गेट र खेलकुदमा गौरव हासिल गर्नका लागि चाहीं खेलकुको विज्ञहरुको राय अनुसार बजेट छुट्याउनु पर्छ । अर्को कुरा गेम भन्दैमा सहभागिता जनाउने मात्र गेम हुँदैन । पदक चाहीं ल्याउन नसक्ने तर, ओलम्पिकमा भाग लिना साथ ओलिम्पियन हुने जुन सिस्टम छ, त्योबाट चाहीं हामी टाढै छौं । हामी के चाहन्छौं भने, ओलम्पिकमा भाग लिएपछि त्यो ओलम्पिक जित्नु पर्छ । मेडल चाहीं लिनैपर्छ । रेकर्ड तोड्नै पर्छ । ४३ औं मा दौडेर ४३ औं बन्ने हो भने त्यो ओलम्पियनको काम छैन ।

११. खेलकुद क्षेत्रमध्ये सबैभन्दा बढी कराँतेमै बढी विवाद देखिन्छ । यसको खास कारण चाहीं के होला ?
दावाः यसको मेजर कारण भनेको चाहीं राष्ट्रिय खेलकुद परिषद हो । अर्को राजनीति हावी हुनु हो । एउटा गेमको अफिसियल्ली एटटा संस्था मात्र दर्ता हुन्छ । तपाई हेर्नुस् रङ्गशालामा ७६ वटा कराँते र मार्सलआर्टको नाममा संस्था दर्ता भएको छ । तपाईले यस्तो कहिं सुन्नु भएको छ । यो हुनै नसक्ने कुरा हो । ७६ वटामा ७५ वटा राम्रोमा एउटा न एउटा नराम्रो त निस्किहाल्छ । उसले आफ्नो केहि फाइदाका लागि राजनीतिक परिवर्तनको नाजायज फाइदा उठाएर त्यसलाई विवादित पार्नेतिर लाग्छ । हाम्रो संस्थागत विवाद भनेको कुनै ठूलो कुरा होइन । सबभन्दा ठूलो कुरा के हो भन्दाखेरी राष्ट्रको देशको गौरवका लागि सक्षम र सवल युवा नेतृत्व तयार गर्ने हाम्रो लक्ष्य हो । त्यो लक्ष्यलाई हामीले अझैसम्म डगमगाउन दिएका छैनौं ।

११. तपाई त परिषदको सदस्य पनि कराँतेको स्तरोन्नतिका लागि के सोंचिरहनु भएको छ । अबको योजना के छन् ?
अब हेर्नुस् म परिषदमा बसे पनि नबसे पनि म खेलाडी संघको संस्थापक अध्यक्ष हुँ । यो खेलको जगजगी भएको नै हामी सबै खेलाडी संघको क्याप्टेनहरु मिलेर संघ बनाएपछि शुरु भएको हो । जुन संघले आज खेललाई यो अवस्थासम्म पुर्‍याएर खेलाडीहरुको भ्यालु के हो, खेलाडीहरुको भविष्यलाई कसरी राम्रो बनाउन सकिन्छ कुराको सोंच विकास भएको छ । अहिले त एउटा परिषदको सदस्य मात्र छु, जुन दिन खेल क्षेत्रको विकासका लागि केहि गर्न सक्ने हैसियतमा हुन्छु तपाई हेर्दै जानुस् नेपालको खेलकुद इतिहासमा कसैले गर्न नसकेको काम गरेर देखाई दिन्छौं । त्यो चाहीं हाम्रो अठोट हो ।

। भन्नुनै पर्ने अरु केहि  महत्वपुर्ण कुरा छुटे जस्तो लाग्छ ?
खासै कुरा त्यस्तो छैन । तर, मेरो एउटै कुरा छ, राजनीति खेलकुदको ‘बाउन्ड्री’ भन्दा बाहिर हुनुपर्छ । हामी के चाहन्छौं भन्दाखेरी यो संस्था धेरै रगत–पसिनाले आर्जेको संस्था हो । हामी नक्कली खेलाडी पनि होइन । कुनै राजनीतिक लेवल लागेर आएको खेलाडी पनि होइन । हामी सक्कली खेलाडी हौं । त्यसकारण म एउटा खेलाडी संस्थाको संस्थापक अध्यक्षको हैसियतले पनि, एउटा सच्चा खेलाडी भएको र मेरो पालामा देशलाई एउटा गौरववान्वित हुने मौका दिएका कारण पनि राजनीतिकवालाहरुले राष्ट्रको भविष्य र राज्यको गौरवलाई मध्यनजर गर्दै जहाँ पनि राजनीतिकरण नगरिदिनुहोस् यो मेरो मान्छे, त्यो तेरो मान्छे भनेर । यो काम नहोस् भन्ने आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस्