देउवालाई सिटौलाले भने, ‘पार्टी त कब्जा गर्नुहोला, तर देश अरुकै कब्जामा जान्छ’


९ चैत्र २०७४, शुक्रबार
krishna prasad sitaula

काठमाडौं, ९ चैत :  नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवाले पार्टीमा फरक विचारको सुनुवार्इ नगरी एकतर्फी तरिकाले काम गरे कांग्रेस कमजोर हुने बताएका छन् । यदि त्यसो गरे देउवाले पार्टी कब्जा गरेपनि मुलुकलाई कम्युनिष्टहरुको कब्जामा जाने उनको भनाई छ ।

krishna prasad sitaula
फाइल तस्बिर

नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार शुरु भएको केन्द्रीय कार्य समितिको बैठकमा पूर्वमहामन्त्री सिटौलाले सभापति देउवाको चर्को आलोचना गरे । उनले भने, ‘वामपन्थीहरुको झन्डै दुई तिहाइको सरकार बनाइसक्दा समेत सभापति ज्यु पार्टी कब्जा गरेर बसिरहनु भएको छ, यस्तै हो भने पार्टी त तपाईंले कब्जा गर्नुहोल तर देश अरुकै कब्जामा जान्छ।’ एक नेताका अनुसार सिटौलाले झण्डै ४५ मिनेट लामो भाषण गरेका थिए । भाषणको अधिकांस समय देउवाको आलोचना गरे । उनले नेतृत्वको राणनीतिक असफलता, अस्पष्ट नीतिगत एजेण्डा र विधान सम्मत पार्टी नचलेकै कारण कांग्रेसले निर्वाचनमा पराजय भोग्नु परेको जिकिर गरे ।

सिटौलाले संविधान घोषणापछिको सत्ता समीकरणमा नेतृत्वबाट गम्भीर त्रुटि भएको उल्लेख गरे । पराजित हुने देख्दादेख्दै तत्कालीन सभापति सुशील कोइरालालाई प्रधानमन्त्री पदमा उठाउँदा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायत महत्वपूर्ण पद सबै कम्युनिष्ट पार्टीको हातमा गएको उनको टिप्पणी छ । प्रचण्डलाई खुशी बनाउने नाममा स्थानीय तहको निर्वाचनमा चितवनमा काँग्रेस उम्मेदवार दिनेश कोइरालाको उम्मेदवारी केन्द्रबाटै रद्द गर्दा काँग्रेसप्रति मनोवैज्ञानिक नकारात्मक असर परेको नेता सिटौलाले बताए ।

लोकतान्त्रिक गठबन्धनका नाममा काँग्रेसले अन्य दललाई सहयोग गरेको तर बदलामा आफ्ना उम्मेदवारलाई असहयोग भएको भन्दै उहाँले नेतृत्वले चुनावी रणनीतिको तालमेल गर्न नसकेको आरोप लगाए । संघीयता, समाबेशी लोकतन्त्र, गणतन्त्रजस्ता एजेण्डालाई निर्वाचनका वेलामा व्यापक प्रचारप्रसार गर्न नसकेको, निर्वाचन व्यवस्थापन र टिकट वितरणको निर्णय प्रक्रियामा त्रुटि भएको उल्लेख गर्दै नेता सिटौलाले संसदीय बोर्ड, केन्द्रीय कार्यसम्पादन समिति विधानविपरीत गठन गर्दा नकारात्मक सन्देश गएको बताउनुभयो ।

पार्टीको घोषित सिद्धान्त र व्यवहारमा ठूलो अन्तर देखिएको उनकाे आरोप थियो । पार्टी प्रदेश र केन्द्रमा प्रतिपक्ष रहेकाले सशक्त प्रतिपक्षीका लागि नयाँ ढंगले नीति, संस्कार, व्यवहार, निर्णय प्रक्रिया र सिद्धान्तमा आमूल परिवर्तनको आवश्यकता रहेको टिप्पणी गरे ।

पार्टीको १४औँ महाधिवेशन छिट्टै गर्नुपर्ने नभए तत्काल महासमिति बैठक बोलाउनुपर्ने उहाँको विचार थियो । पार्टी पदाधिकारी मिलेर पार्टी कब्जा गर्न सकिएला तर वामपन्थीको कब्जाबाट मुलुकलाई भने छुटकारा दिलाउन नसकिने उनकाे धारणा थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७