गोर्खा सैनिकहरुको माग पुरा गराउन सरकारले कुटनीतिक पहल गर्छ : रक्षामन्त्री पोखरेल
काठमाडौं, १२ चैत : नेकपा (एमाले)का महासचिव एंव रक्षामन्त्री ईश्वर पोखरेलले सेवा निवृत्त गोर्खा सैनिकहरुको समस्या लागि सरकारले कुटनीतिक पहल गर्ने बताएका छन् । सरकार आफ्ना नागरिकले भोगीरहेका समस्या समधान र सम्बोधनका निम्ती गम्भिर रहेको उनको भनाई छ ।
आइतबार गोर्खा भूतपूर्व सैनिक संघ(गेसो)को टोलीसँग मन्त्री पोखरेलले भने,‘गोर्खाहरुको माग सम्बोधन गराउन सरकारले ठोस पहल गर्छ ।’ गेसोको टोलीले गोर्खाहरुको समस्या अध्ययन गर्न बनेको त्रिपक्षीय प्राविधिक समितिले तयार पारेको अन्तिम प्रतिवेदनको बारेमा रक्षमन्त्री पोखरेललाई जानकारी गराएका थिए । ब्रिटिस सरकार, नेपाल सरकार र भूपू गोर्खा प्रतिनिधि सम्मिलित त्रिपक्षीय प्राविधिक समितिले तयार पारेको अन्तिम दस्ताबेज विहीबार (मार्च २२ तारिख) बेलायती रक्षा मन्त्रालय (एमओडी) र नेपाल सरकारलाई बुझाइएको हो । सो प्रतिवदेन बारेमा जानकारी दिन गेसोका उपसभापति त्रय मणि किरात वान्तावा, जीतबहादुर राई, डम्बर लिम्बु सहितको टोलीले मन्त्री पोखरेललाई भेटेको हो ।
सेवा निवृत्त गोर्खा सैनिकहरुको समस्या अध्ययन गर्न बनेको त्रिपक्षीय प्राविधिक समितिले तयार पारेको प्रतिवेदन बुझाई सकेको अवस्थामा तत्काल बेलायत र नेपाल सरकारस्तरीय वार्ता समिति बनाउन पहल गरीदिन गेसोको आग्रह थियो । बेलायतस्थित नेपाली राजदूताबासका उच्च अधिकारका अनुसार बेलायत र नेपाल सरकारको सचिवस्तरीय वार्तामा त्रिपक्षीय प्राविधिक समितिले तयार पारेको यहि प्रतिवदेनमाथि छलफल हुनेछ । प्रतिवदेनले सिफारिस गरेका र औल्याएका समस्या समधानका निम्ति त्यो वार्ताले टुङ्गो लगाउने छ ।
भेटमा एमाले केन्द्रीय सदस्य तथा भूपू सैनिक फाँटका इन्चार्ज हरिबहादुर राई, गेसो मध्यमअञ्चल क्षेत्रिय समितिका अध्यक्ष विरध्वज राई, काठमाडौं अध्यक्ष सुनिता गुरुङ, सचिव इमानसिंह राई लगायत थिए । विहीबार बेलायती रक्षा मन्त्रालय (एमओडी) मा आयोजित विशेष कार्यक्रममा १३ बूँदासहितको ४० पेजको दस्ताबेज बेलायत सरकार र नेपाल सरकारलाई बुझाइएको छ ।