‘म्यान अफ इलेक्सन’ राजेन्द्र राई माथि ‘चरम अन्याय’


७ जेष्ठ २०७५, सोमबार
Rajendra rai
????????????????????????????????????

काठमाडौं, जेठ ७ । गत वर्ष भएको स्थानीय तहको निर्वाचनमा धनकुटा एउटा मात्रै यस्तो जिल्ला हो, जहाँको स्थानीय तहमा एउटै पार्टीले विजय हालिस गर्यो । तत्कालिन एमालेले धनकुटाको सबै स्थानीय तहमा अन्य विपक्षीलाई ‘क्लिन स्वीप’ गर्यो ।

यही खुसीयालीमा स्थानीय तह निर्वाचनको सफलतापछि २४ असार २०७४ मा धनकुटामा आयोजित विजयसभामा तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरे, ‘स्थानीय तह निर्वाचन, २०७४ मा एमालेको ‘म्यान अफ इलेक्सन’ राजेन्द्र राई ।’ अध्यक्ष ओलीले यो घोषणापछि रोष्टमबाट नेकपा एमाले धनकुटाका अध्यक्ष राई बसिरहेको ठाउँमै पुगेर माला लगाइदिए । उनको नेतृत्वमा जिल्लाका तीन नगरपालिकासहित सबै सात स्थानीय तह जितेर एमालेले धनकुटा जिल्लामा क्लीन स्वीप गरेपछि अध्यक्ष ओलीले ‘म्यान अफ इलेक्सन’ घोषणा गरेका हुन् ।

Rajendra rai
राजेन्द्र राई, तस्बिर नयाँ पेज

अध्यक्ष ओलीले अध्यक्ष राईको खुलेर प्रशंसा मात्रै गरेनन्, अन्य जिल्लाका बिरोधीहरुलाई राजेन्द्र राई पठाएर ठिक पार्ने समेत बताए । भने, ‘एमाले बिरोधीहरुले बढी चरक–मरक नगरे हुन्छ, धनकुटाबाट राजेन्द्र राई पठाइदिउँला ।’ अध्यक्ष ओलीसहित पार्टीका शीर्ष नेताहरुले उनको प्रशंसा गरेका छन् । पार्टीका शीर्ष नेताहरू माधवकुमार नेपाल, वामदेव गौतम, बिष्णु पौडेललगायतले उनलाई  सरकारको मन्त्री बनाउने आश्वासन दिए ।

स्थानीय मात्रै होइन प्रदेश र प्रतिनिधिसभामा पनि सबै एमालेले जित्यो । राजेन्द्र राईको नेतृत्वमा एमालेले सबै निकाय जित्यो । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन अघि अध्यक्ष ओलीले राईलाई चुनाव जितेर आउनु मन्त्री बनाउछु भनेका थिए । उनले सूर्यबहादुर थापाका छोरा वहालवाला मन्त्री सुनिलबहादुर थापालाई फराकिलो मतले पराजित गरे । चुनाव जिते लगत्तै अध्यक्ष ओलीलाई भेट्न जादा पनि ओलीले राईलाई भनेका थिए,‘मैले कुरो बुझेको छु ।’

अध्यक्ष राईलाई मन्त्री त बनाइएन नै एमाले र माओवादी एक भएर बनेको नेपाल कम्युनिष्ट पार्टीमा एमालेको तर्फबाट ४५ जना केन्द्रीय सदस्य थपिदा समेत उनको नाम अटेन । यो लगत्तै राईमाथि अन्याय भएको भन्दै धनकुटाका कार्यकर्ताहरुले आक्रोश पोखेका छन् । नेपाल कम्युनिष्ट पार्टीका युवा नेता अर्जुन राई भन्छन्,‘यसरी वेवास्ता गरिदा दुःख लाग्यो । पार्टीलाई उठाउन यतिठुलो योगदान गरेको नेतामाथि चरम अन्याय भयो ।’

उनीभन्दा धेरै जुनियर नेताहरु पनि मनोनित भए । कहिल्यै भुगोल र जनताको बिचमा नगएका नेताहरु समेत केन्द्रीय सदस्य बन्दै गर्दा सधैं भुगोलमा काम गर्ने राजेन्द्र भने परेनन् । उनी दुई पटक धनकुटाका एमाले अध्यक्ष भइसकेका छन् भने अहिले प्रतिनिधिसभा सदस्य हुन् । ४५ जना मनोनित हुदै गर्दा पनि उनी धनकुटामा जनताकै काममा थिए ।

आइतबार साझ नयाँ पेजसँग उनले भने,‘जनताको मन जिते पनि नेताको मन जित्न सकिएनकी जस्तो लाग्दैछ ।’ उनले केन्द्रीय सदस्य नबनाएकोमा धेरै बोल्न चाहेनन् । भने,‘काठमाडौं आईपुगेको छु, अब नेताहरु कहाँ गएर मेरो अयोग्यता बारेमा सोध्छु । अझैं योग्यता पुगेको रहेनछ भने काम गरीरहन्छु ।’ आफू पद र प्रतिष्ठाको लागि होइन रुपान्तरण र परिवर्तनको लागि राजनीतिमा लागेकोले धेरै गुनासो नगर्ने उनको भनाई छ । उनले भने,‘पार्टी एक भएको छ, अब समृद्धिको अभियान सुरु हुनेछ, जनताले दिएको पदमा बसेर पनि उत्कृष्ट काम गर्नेछु । म गुनासो गरेर हिड्दिन । मेरो अयोग्यताको बारेमा नेतालाई दृढताको साथ प्रश्न चहिँ गर्छु ।’

त्यसो त अहिले नेपाल कम्युनिष्ट पार्टीको हेडक्वाटरमा उनले मानेका नेताहरुकै वोलवाला छ । अध्यक्ष ओली सहित वामदेव गौतम र बिष्णु पौडेल निकट मानिन्छन् । तर, उनका नजिकका नेताहरु नै हेडक्वार्टरमा भएको बेला उनी भने छानिएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७