‘उपाधि नजिते पनि मेस्सी सर्वकालीन महान्’


८ असार २०७५, शुक्रबार
Messi 1

अर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३–० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ । दुईवटा खेल समाप्त हुँदा पाँच पटक विश्वका सर्वोत्कृष्ट खेलाडीको उपाधि पाइसकेका मेस्सीले कुनै पनि गोल गर्न वा अरूलाई गोल गर्न सघाउन सकेनन् । बरु उनी आइस्ल्यान्डसँगको पहिलो खेलमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्न समेत असफल रहे ।

Messi 1

मेस्सीका समर्थकहरु चौतर्फी निराश भइरहेको बेला मेस्सीलाई सर्वकालीन महान् खेलाडी मान्न उनले विश्वकप जित्न आवश्यक नरहेको भूतपूर्व स्ट्राइकर हेर्नान क्रेस्पोले बताएका छन् । मेस्सीले ३२ वटा उपाधि र बार्सिलोनाबाट १४ सिजन खेल्दा पाँच ’बालन डो’र’ अर्थात् सुनौलो बल पुरस्कार जितेका भए पनि विश्वकप अहिलेसम्म जित्न सकेका छैनन् । क्रेस्पोले बीबीसी स्पोर्टलाई भनेका छन्, ‘विश्वकप नजितेका भए पनि धेरै खेलाडीहरू हाम्रो स्मृतिमा महान् भएर रहेका छन् ।’मेस्सी गज्जबका खेलाडी हुन्। उनले खेलेको हेर्न मलाई मन पर्छ र उनी राम्रा व्यक्ति हुन् ।’

विश्वकप जिते पनि नजिते पनि मेस्सी महान् खेलाडी नै भएको उनको तर्क छ । भन्छन्, ‘कति महान् खेलाडीले यो जितेनन्? योहान क्रफ र (मिशेल) प्लाटिनिले जितेको मलाई थाहा छैन । विश्वकपमा मेस्सीको यो चौथो सहभागिता हो । सन् २००६ र २०१० मा आर्जे्न्टिना क्वार्टर फाइनलसम्म पुगेको थियो। सन् २०१४ मा जर्मनीसँग फाइनलमा पराजित हुँदा प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेर मेस्सीले ‘गोल्डन बल’ जितेका थिए ।

जसको गोलपछि शहरमा थर्किन्छ
स्पेनका वैज्ञानिकहरूले अर्जे्न्टिनी फुटबल स्टार लियोनल मेसीले बार्सिलोना फुटबल टीमका लागि गोल हान्दा बार्सिलोना शहरमा ’साँच्चै नै कम्पन हुने गरेको’ पाइएको बताएका छन् । अनुसन्धानकर्ताहरूले क्याम्प नोउ रंगशाला नजिकै कम्पन मापन गर्ने सिस्मोमिटर जडान गरेका थिए। र, मेसीले गोल हानेपछि भीडले खुसियाली मनाउँदा त्यस क्षेत्रमा मानिसहरूले महसुस गर्न सकिने कम्पन हुने गरेको उनीहरूले बताएका छन् ।

यसपाली मेस्सीको समस्या के हो ?
१) उनी शारीरिक रूपमा थकित छन्
सन् २०१७र१८ को युरोपेली सिजनमा मेस्सी ५४ वटा खेलमा सहभागी भए। यो सन् २०१४र १५ यताको सबैभन्दा धेरै हो । अझ विगत पाँच वर्षको समयमा उनले खेलेको सबैभन्दा धेरै खेल संख्या हो त्यो । तथ्याङ्कसम्बन्धी वेब्साइट ट्रान्स्फर्मार्क्टका अनुसार मेस्सीले ४,४६८ मिनेट खेलेका छन् र औसतमा ८२.७ मिनेट मैदानमा बिताएका छन् । त्यति हुँदा पनि बार्सिलोनाका लागि उनले उक्त सिजनमा ४५ गोल आफैँले र १८ पटक अरूलाई गोल गर्न सघाएका छन् ।

२) उनलाई बल्झिरहने चोट लागेको छ
सन् २०१८ को एप्रिलमा आर्जे्न्टिनाको समाचारपत्र क्लारिनले राष्ट्रिय फुटबल टोलीका स्रोतहरूलाई उद्धृत गर्दै मेस्सी दाहिने तिघ्रामा लागेको चोटका कारण समस्यामा रहेका र त्यसबाट छिटो गतिमा दौडिने र चाल परिवर्तन गर्ने उनको क्षमतामा असर पर्ने गरेको जनाएको थियो । इटली र स्पेनसँगका महत्त्वपूर्ण मैत्रीपूर्ण खेलहरूमा मेस्सी सहभागी नभएपछि त्यस्तो समस्या सार्वजनिक भएको थियो । स्पेनसँगको मैत्रीपूर्ण खेलमा आर्जे्न्टिना ६(१ ले पराजित भएको मेस्सीले बेन्चमा बसेरै हेर्नुपरेको थियो ।

३) आर्जे्न्टिना हिजोआज पहिलेको जस्तो अब्बल छैन

सन् २०१८ को रुस विश्वकपका लागि दक्षिण अमेरिकी छनोट चरणमा आर्जे्न्टिनाको प्रदर्शन खराब नै रह्यो। परिणाममा विभिन्न आरोहावरोह खेपेर आर्जे्न्टिनाले लिग चरणका लागि आफ्नो स्थान सुरक्षित गरेको थियो ।

प्रतियोगितामा सात गोल गरेर मेस्सी आर्जे्न्टिनाका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका थिए। तर खेल प्रशंसक र सञ्चारमाध्यमलाई उक्त टोलीको आलोचना गर्नबाट रोक्न त्यो प्रदर्शन पर्याप्त थिएन। गत विश्वकपमा पनि आर्जे्न्टिना फाइनलमा पुगेको थियो र जर्मनीबाट अतिरिक्त समयमा एक गोल खाएर हारेको थियो। अन्तिम पटक आर्जे्न्टिनाले सन् १९८६ मा विश्वकप जितेको थियो।

  • यो रिपोर्ट बीबीसका लागि बेन सदरल्यान्ड र फेर्नान्डो डुआर्टेले तयार पारेका हुन्

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७