पहिरो किन बन्छ बिपत ?

नेत्र भण्डारी
प्रत्येक बर्ष नववर्षको दिन आउँछ भनेझैं प्रत्येक बर्षाको समयमा पहिरो आउँछ भन्दा अचम्म लाग्दैन तर पहिरो भनेको नववर्ष, दशैं जस्तो नियमित कुनै अवसर वा घटना पनि होइन तर हामी यसको जोखिमबाट पर रहन सकेका छैनौं । सामान्य भाषामा पहाडको भिरालो जमिनमा रहेका माटो, पत्थर वा दुवै अडिन नसकेपछि गुरुत्वाकर्षण बलका कारण तल झर्ने भू–चलनलाई पहिरो भनिन्छ । जुन एक नियमित भौगर्भिक प्रक्रिया र पहाडको भूचक्र पनि हो ।


स्थिर रहँदै आएको भिरालो भागमाअस्थिरता भएपछि सामान्यतया पहिरोको सिर्जना हुन्छ । जमिनलाई अस्थिर बनाउने केही कारणहरु भिरालो जमिनको प्रकृति, भूमिगत तथा सतही जलस्रोत, थ्रेड बल (Shearing strength), त्यहाँको भौगर्भिक संरचना र बनोट, पहाड र जमिनको झुकावको सम्बन्ध, उक्त जमिनको भार, सतही तथा भुमिगत क्षयीकरण, जमिनमा हुने कम्पन र तरलीकरण आदि हुन् ।

यस्तैगरी पहिरोलाई पहिचान गरी विभिन्न आधारमा वर्गीकरण गरिएको हुन्छ । पहिरो कस्तो ठाँउमा जान्छ भन्ने कुरा सरल लाग्छ तर कतिपय ठाँउमा पहिरो जान लागेका संकेतहरु नबुझ्दा वा पहिरो नचिन्दा ठूलो क्षति भएका छन् । पहिरोका सामान्य कारणहरु त माथि उल्लेख गरे पनि यसका सबैले बुझ्ने सामान्य संकेतहरुबारे जानकार हुन आवश्यक छ । जस्तैः खेतबारी वा जमिनमा चिराहरु पर्ने, घर, पर्खाल वा बारहरु चर्कने वा स्थानान्तरण नै हुने, पानीको मूल सुक्ने वा परिवर्तन हुने, जमिनमा रहेका रुखहरु बक्र वा बाङ्गा हुने आदि ।

कुनै पहिरो अनुभुति गर्नै नसकिने सुस्त तर सक्रिय हुन्छन् भने कुनै पहिरोले केही सेकेन्डमै तहसनहस पार्छ । नेपालमा भूकम्प र पराकम्पन आइराख्ने भएकाले पनि पहिरो थप सक्रिय हुने गर्छ । हालसालै जापानको उत्तरी होक्काइडोमा भूकम्पका कारणले गएको पहिरो हेरेर हाम्रो धेरै ध्यानाकर्षण हुन जरुरी छ ।

हिमाली तथा पहाडी क्षेत्रका हाम्रा वस्तीहरु धेरै पहिरोमा नै छन् । पहिरो आएपछि त्यहाँ जमिन बढ्ने, तुलनात्मक रुपमा समथर हुने, कृषिको लागि नयाँ भूमि र माटो हुने, पानीका श्रोतहरु हुने जस्ता कारणले बस्तीहरुको रोजाइ पुराना पहिरोमा पर्छ । केही स्थानमा त पहिरो गएको केही महिना वा बर्षमै घर बनाएर बसेको डरलाग्दो परिस्थिति पाइन्छ । हामीले पहिरो वा प्राकृतिक प्रक्रियालाई अवमूल्यन गर्नु जोखिम बढाउनु हो ।

यसो भनिरहँदा पहिरो गएका स्थानमा वस्ती बस्नै नहुने होइन, तर त्यसको भौगर्भिक अवस्था अध्ययन गरेर मात्रै अगाडि बढ्नुपर्छ । नेपालमा धेरै सुन्दर वस्तीहरु पुरानो पहिरोमा छन् जुन कुरा आज झट्ट हेर्दा मानिसलाई विश्वास गर्न गाह्रो हुन्छ । जस्तै मुस्ताङको लेते गाउँ कालीगण्डकीको पुरानो पहिरोमाथि अवस्थित छ ।

पहिरोले आफ्नो छेउछाउमात्रै होइन, कहिलेकाही नदी नै थुनेर नदी आसपासका सम्पूर्ण वस्ती बजार नै ठूलो जोखिममा पर्छन् । जस्तैः तातोपानीभन्दा अलि तलको पहिरोले कालीगण्डकी नदी थुन्दा अधिकांश तातोपानीबजार नै डुबानमा पर्यो र पछि बाँध खुलेपछि तल रहेको बेनी लगायतका स्थान डुबान र कटानमा परे । यस्तै अर्को जुरेको पहिरो पनि ताजै छ । नेपालमा यस्ता धेरै उदाहरण छन् । हामी आफंै सुरक्षित स्थान पहिचान नगरी बस्नु पनि क्षतिको मुख्य कारण हो ।


हामी सडक निर्माण गर्दा पनि आवश्यक भौगर्भिक अध्ययन वा प्रविधिको प्रयोग नगर्नु नै आजका दुःखद घटनाको कारण हुन् । सडक निर्माण गर्दा वा कुनै विकासका कार्यक्रम अगाडि बढाउँदा त्यहाँको जमिनले कस्तो संरचना माग्छ वा कस्तो प्रविधि अपनाउनु पर्छ भन्ने ख्याल नै नगरी काम गर्नु दुर्घटना निम्त्याउनु हो ।

अहिले देशका अधिकांश सडक पहिरोको चपेटामा छन् । सडक निर्माणमा भन्दा सडकले निम्त्याएको पहिरोको रोकथाम र सडक मर्मत गाह्रो, महङ्गो र चुनौतीपूर्ण बनेका छन् । सडक, जलविद्युत, वस्तीविकास तथा सहरीकरण गर्दा आवश्यक भौगर्भिक अध्ययनविना गरिएकाले आज दुःख पाएका छौँ । मुग्लिङनारायणगढ सडक, बुटवल सिद्धबाबापाल्पा सडक लगायतका अधिकांश पहाडी सडकका यात्रामा जीवनकै चुनौती छ !


देशको प्रमुख पूर्वाधार सडकको निर्माण उचित ढंगले हुन नसक्नु र ठूलो जनधनको क्षति हुँदा पनि यसमा क्षति कम गर्नेगरी दीर्घकालीन योजनाअनुरुप विकास गर्न सकिएन भने हाम्रो रेलमार्ग जस्ता महत्वपूर्ण योजना पनि संकटरहित रहलान् भन्न सकिन्न । समृद्ध राष्ट्र निर्माणमा लागेका हामीले यसरी आवश्यक भौगर्भिक अध्ययनविना नै विकासका कार्यक्रम अगाडि बढाएर कहिलेसम्म दुस्ख पाउने, कहिलेसम्म नियमित प्राकृतिक प्रक्रियालाई पनि बिपत बनाउने ?
त्यसैले हाम्रो जस्तो कमजोर अर्थतन्त्र भएको देशमा लगानीपूर्व नै सम्पुर्ण आवश्यक अध्ययन गरी दिगो विकास र समृद्ध रास्ट्र निर्माणका लागि सबै जिम्मेवार बन्नुपर्छ ।

लेखकः त्रिचन्द्र कलेजको भूगर्भ विभागमा आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्