एसपीको आदेश नमान्ने इन्स्पेक्टर घुस लिएर भाग्दाभाग्दै पक्राउ


२८ आश्विन २०७५, आईतवार
ciaa

सुर्खेत, २८ असोज । पटक पटक आचरणमा सुधार गर्न दिएको निर्देशन अटेर गर्दा सुर्खेतको इलाका प्रहरी कार्यालय बाबियाचौरका इन्चार्ज सुशोभन श्रेष्ठ घुस लिंदालिंदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार उनलाई घुस लिएर भाग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरेको छ ।


इलाका प्रहरी कार्यालय बाबियाचौरका इन्जार्ज इन्सपेक्टर श्रेष्ठलाई आफ्नो आचरणमा सुधार गर्न सुर्खेतका प्रहरी प्रमुख एसपी बसन्त रजौरेले निर्देशन दिएका थिए । तर उनले एसपीको निर्देशन अटेर गर्दै चोर पक्राउ गर्नका लागि घुस माग्ने काम गरे । जुन घुस लिएर भागिरहेको अवस्थामा उनी पक्राउ परेका छन् । घुस रकम लिएर भाग्दै गरेका इन्सपेक्टर श्रेष्ठसँगै प्रहरी जवान तिलक लामिछाने पनि पक्राउ परेका हुन् ।


पञ्चपुरी नगरपालिका–२ सालकोटमा रहेको अस्थायी प्रहरी पोष्टबाट सेवाग्राहीसँग १५ हजार घुस मागेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका निमित्त प्रमुख जंगबहादुर डाँगीले घुससहित पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
‘स्थानीय एउटा सुनचाँदी पसलमा चोरी भएको रहेछ, त्यही घटनामा चोरलाई पक्राउ गर्नमा सहजिकरण गरिदिएवापत प्रहरीले घुस मागेको उजुरी हामीकहाँ आएको थियो’, डाँगीले भने, ‘उजुरीका आधारमा हामीले छापा मारेका थियौं, घुस लिएर भाग्दै गर्दा उनीहरुलाई हाम्रो टोलीले समातेको हो ।’ पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७