बेलायती विश्वविद्यालयमा पहुँच बढाउँदै गोर्खा सैनिकका सन्तान
राधाकुमारी राई युनिभर्सिटी अफ हार्टफोर्टसायर यूकेकी ग्रयाजुएट हुन् । २० वर्षीया उनी करिब तीन महिनाअघि ग्रयाजुएसन सेरेमोनीमा सहभागी भइन् । बेलायती गोर्खा सैनिक छोरी उनले तीनवर्षे रेडियोग्राफी पूरा गरिन् । उनको पुख्र्यौली घर ओखलढुंगा हो । सन् २००९ मा बुबाआमाको साथ लागेर बेलायत पुगेकी हुन् ।
त्यतिखेर नेपालमै साइन्समा प्लसटु सकेकी थिइन् ।
उनले बेलायतमा सुरुमा किङस्टन कलेजबाट एकवर्षे एक्सेस कोर्स गरिन् । ‘मेरो उद्देश्य साइन्स पढ्ने थियो,’ उनले भनिन्, ‘नेपालमा बसेको भए साइन्स नै पढ्थें । अहिले साइन्समै रेडियोग्राफी पढेर जागिरसमेत पाइसकेकी छु ।’
उनले पढ्नको निम्ति ऋण खोज्नुपरेन । सरकार मातहतको नेसनल हेल्थ सर्भिस (एनएचएस) ले नि:शुल्क पढ्ने अवसर दियो । उनी यतिखेर त्यहीँ एउटा अस्पतालमा कार्यरत छिन् ।
योजना राई लन्डन वेस्ट मिनिस्टर काउन्सिलअन्तर्गत भिओलिया इन्भाइरोमेन्टल सर्भिसेस कम्पनीमा कार्यरत छिन् । २६ वर्षीया उनी पेई रोल एकाउन्टेन्ट हुन् । फ्रान्समा स्थापना भएको यो कम्पनी बेलायतका ठूलामध्ये पर्छ ।
उनी सन् २००७ मा बेलायत प्रवेश गरेकी हुन् । ९ कक्षा पढदै गर्दा आवासीय भिसामा बुवाआमासितै बेलायत हाँकिएकी उनले सुरुमा जीसीएसई गरिन् ।
‘ए लेभलका सबै विषयमा ए र म्याथ्समा बी आयो । त्यसपछि एक वर्ष ग्याप बसें । काम गरें । ड्राइभिङ सिकें,’ अर्को वर्ष घरपायक युनिभर्सिटी अफ केन्टमा ब्याचर्ल डिग्रीका निम्ति भर्ना भएको सुनाउँदै उनले थपिन्, ‘मैले तीनवर्षे बिजनेस एन्ड म्यानेजमेन्ट रोजेँ । काम गर्ने कम्पनीहरूलाई चाहिने जस्तो फस्ट क्लास नै आयो । अगस्ट २०१४ मा ग्रयाजुएसन सकें ।’
उनले अगाडि भनिन्, ‘ग्रयाजुएसनपछि पनि काम पाउन सजिलो हुन्न । एउटा कम्पनीमा प्रवेश गर्न चार वटा इन्टरभ्यु हुन्छ । एप्लिकेसन र फोन इन्टरभ्यु लिन्छन् । मन पराए बोलाउँछन् । त्यसपछि ग्रुप इन्टरभ्यु लिन्छन् । टिम वक्र्स स्किल्स टेस्ट लिन्छन् । व्यक्ति व्यक्तिको क्षमता हेर्छन् । त्यसपछि मन पराएकालाई एक्लाएक्लै इन्टरभ्यु लिन्छन् । अन्तमा सम्बन्धित कम्पनीका प्रमुखसमेतले इन्टरभ्यु लिन्छन् ।
ब्याचलर्स गर्न बेलायती सरकारले ऋण पनि दिन्छ । उनका पालामा तीन वर्षमा एक विद्यार्थीले ९ हजार पाउन्ड टयुसन फी तिर्नुपथ्र्यो । विद्यार्थीले ग्रयाजुएसनपछि त्यो ऋण तिर्दै जानुपर्छ । वर्षभरिमा २१ हजार पाउन्डभन्दा बढी कमाउने भएपछि उसको मासिक तलबबाट काटिन्छ । तलब त्योभन्दा कम भए काटिँदैन ।
उनी अहिले काममै व्यस्त छिन् । मास्टर्स पढ्न आफैंले बैंकबाट ऋण लिनुपर्ने हुन्छ । ‘लोन लिएलगत्तै हरेक महिना तिर्दै जानुपर्ने हुन्छ,’ एकवर्षे मास्टर्स पढ्नेबारे भनिन्, ‘त्यसैले मास्टर्स पढ्न गाह्रो छ । अरू समस्या हुन्छ ।’
सरोज गुरुङले भर्खरै स्पोर्टस् साइन्स ब्याचलर पास गरेका छन् । यी २१ वर्षेले यूकेको युनिभर्सिटी सेन्टर फानबरोबाट पूरा गरेका हुन् । उनी आमा, बाबु र बहिनीका साथ स्यान्डसमा बस्छन् । यतिखेर टेस्को कम्पनीमा पार्ट टाइम काम गर्दै छ ।
उनी अब खेलकुद क्षेत्रमा काम गर्ने योजनामा छन् । ‘स्पोर्टस् साइन्स भनेको खेलकुदसँग सम्बन्धित छ,’ यी पोखरेली ठिटो भन्छन्, ‘यसले खेलकुदमा लागेका मान्छेहरूलाई कसरी हेल्दी, सेफ्टी रहने । इनजुरी भएमा रिहाभ गर्ने एक्सरसाइज, खानेकुराहरूको बारेमा जानकारी दिने ज्ञान दिइन्छ । मोटोपन घटाउने, स्वस्थ र तन्दरुस्ती रहनेबारे सिकाउँछौं । समग्रमा स्पोर्टस् साइकजीबारे जानकारी मिल्छ ।’ उनी २००९ डिसेम्बरमा यूके पुगेका हुन् । त्यसअघि पोखराको बाटुलेचौरस्थित प्रगति बोर्डिङ कक्षा ८ मा पढेका थिए ।
यूके आएपछि ए नाइनको बीचमा भर्ना पाए । जीसीएसई त्यहीबाट गरे । त्यसपछि फान्बरो सिक्सफमबाट ए लेभल गरेका हुन् । उनी यूके आएपछि नेपाल फिरेका छैनन् । ‘ठूलो ममी, बाबा, मामा माइजू, बाजेबजै सम्झिरहन्छु । सधैं पोखराको याद आइरहन्छ ।’ आफूले पढेको विषय नेपालमा काम लाग्ने/नलाग्नेबारे उनी अनभिज्ञ छन् ।
रमेश सेरपुन्जा स्टाफसायर युनिभर्सिटीका छात्र हुन् । २२ वर्षे उनी सेकेन्ड इयर पढ्दै छन्, डिजाइन बेस्ड एरोनोटिकल टेक्नोलजी । अहिले डिजाइनमा इन्जोय गरिरहेको उनले बताए । ‘पढाइ ग्याप राखेर काम गर्दै छु,’ उनले भने, ‘जोडियस फान्बरो एयरपोर्टमा काम गर्ने तयारीमा छु । एक वर्ष काम गरेपछि पढाइ पूरा गर्छु ।’
उनको घर पोखरा हो । सन् २०१० मा बेलायत पुगेका हुन् । ब्ल्याकवाटरमा बुवाआमा, तीन दिदी, एक भाइ र एक बहिनीका साथ बस्छन् उनी । पोखराको बिन्देश्वरी स्कुलमा १० कक्षासम्म पढे । त्यसपछि इयर टेन बेलायतमै पढे । जीसीएसई सकेर फान्बरो टेक्नोलजी कलेजमा दुईवर्षे एरोनटिकल इन्जिनियरिङ पढे ।
‘सानैदेखि लडाकु विमान, फाइटर जेट उडाउने मन थियो,’ आफ्नो सपना पूरा हुँदै गरेको उल्लेख गर्दै उनले भने, ‘उडाउनेभन्दा पनि बनाउने काममा जुट्दै छु ।’
२१ वर्षे रिहान्त तामाङ अक्सफोर्ड ब्रुक्स युनिभर्सिटीका छात्र हुन् । मोटर स्पोर्ट टेक्नोलजीमा ब्याचलर्स पढ्दै छन् उनी । सेकेन्ड इयर रनिङ छ । यो विषय पढेकाले रेसिङ गाडीहरूको डिजाइन गर्ने हो । यो विषय उनी आफैंले रोजेका हुन् ।
‘रेसिङ कारहरूको कम्पोनेन्ट कसरी पर्फम हुन्छ भन्ने जानकारी पाइन्छ,’ पहिलो वर्ष एरोनोटिकल पढेर मोटर स्पोर्टमा ट्रान्सफर गरेका उनले सुनाए, ‘अब एक/दुई वर्ष बाँकी छ । पछि रेसिङ कम्पनीहरूमै काम गर्छु । गाडीका कम्पनीहरूमा पनि काम पाइन्छ ।’
उनको घर पुख्र्यौली भारतको दार्जिलिङ हो । उनी एक्लो छोरा हुन् । बेलायतमै जन्मेहुर्केका हुन् उनी । ए लेभलमा एयरक्राफ्ट मेन्टेनेन्स पढेका थिए ।
प्रशान राई स्टानफोर्ड युनिभर्सिटी युकेका छात्र हुन् । यी २२ वर्षेले भर्खरै स्ट्ेरन्थ एन्ड कन्डिसनिङ तीनवर्षे कोर्स पूरा गरेका छन् । ‘यो फुटबल टिम, बास्केटबल टिमलाई पूर्वतयारी गराउने विषय हो,’ सानैदेखि खेलकुदमा रुचि राखेको उल्लेख गर्दै उनले सुनाए, ‘बलियो बन्ने, छिटो कुद्ने, उफ्रिने, खेलको तयारी गर्ने, बोल्ने शैली सिक्ने, कोच गर्ने, बुझाउने र सहज तुल्याउने विषय हो यो ।’
उनी अहिले कलेजमा बास्केटबल कोच गर्दै छन् । ‘अब यही विषयमा काम गर्छु,’ उनले भने, ‘यो साइन्स डिग्री हो । पढ्नु, लेख्नु, एक्सपेरिमेन्ट टेस्ट, प्राक्टिकल, सिक्ने र अरूलाई सिकाउने काम गर्नुपर्छ । यो स्पेसिफिक विषय हो । कस्तो खाले एक्सरसाइज खेलाडीलाई सिकाउने भन्नेमा यो केन्द्रित छ ।’
उनको दिनहुँ बढी समय एक्सरसाइजमा बित्ने गर्छ । केही वर्ष अनुभव बटुलेपछि मास्टर्स पढ्ने उनको योजना छ ।
२५ वर्षीया एलिना कार्की युनिभर्सिटी अफ ब्रिस्टल युकेकी छात्रा हुन् । मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षमा पढदै छिन् उनी । तीनवर्षे ब्याचलर्सलगत्तै एकवर्षे मास्टर्स पूरा गर्ने लक्ष्य राखेकी छन् उनले । उनी हङकङ आईडीवाला बा–आमाका छोरी हुन् । घर मोरङको उर्लाबारी हो । त्यहीँको पशुपति स्कुलबाट एसएलसी पास गरिन् ।
त्यसपछि काठमाडौंको ट्रिनिटी कलेजबाट साइन्समा प्लस टु गरिन् । अनि गिलफर्ड कलेज यूकेबाट ए लेभल सकिन् ।
उनले यूकेकै पासपोर्ट पाएकी छन् । आमाबुबा हङकङमै छन् । ‘युनिको लोन लिएर पढदै छु,’ होस्टलमै बस्दै आएकी उनले सुनाइन्, ‘वार्षिक ९ हजार पाउन्ड पाइन्छ । खान र बस्न दिन्छ । लोनले पुगेको छ ।’
नेपालमा पढेकालाई यूकेमा केही गाह्रो हुने उनको ठम्याइ छ । ‘युनिभर्सिटी पाउनै गाह्रो छ,’ यूकेको लेभलमा नेपालको प्लस टु एएस सरह मात्र ठहरिने उल्लेख गर्दै भनिन्, ‘मैले दोहोर्याए पढ्नुपर्यो । नेपालमा थ्यौरी बेस्ड भयो । घोकेर पास गर्न सकिन्छ । यूकेमा त्यस्तो छैन । टपिक बुझेपछि मात्र गर्न सकिन्छ । नेपालमा सोर्स पुग्दैन । यहाँ सबै कुरा गरेर बुझ्ने अवसर छ । नेपालमा अवसर र स्कोप कम छ ।’ नेपालमै डाक्टरी पढ्ने सोचाइ रहे पनि उनी बेलायतमा स्कोप फरक पाएर विषय बदलेको उनले सुनाइन् ।
–कान्तिपुर दैनिकबाट