इपिएललाई आइसिसीको मान्यता


३० कार्तिक २०७५, शुक्रबार
epl

काठमाडौं ३० कात्तिक । आगामी मङ्सिर २२ देखि पुस ७ गतेसम्म हुने एभरेष्ट प्रिमियर लिग ‘इपिएल’ टी–२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आइसिसी’ले मान्यता दिएको छ ।

epl

इपिएलको आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगितालाई आइसिसीले मान्यता दिएको जानकारी दिएको हो । प्रतियोगिताले आइसिसीको मान्यता पाएवापत आयोजकले २० हजार अमेरिकी डलर आइसिसीलाई बुझाएको छ ।

‘अमेरिकी डलरको भाउ बढेका कारणले २० हजार डलर बराबरको नेपाली २७ लाख ५० हजार नेपाल राष्ट्र बैंकमार्फत आइसिसीलाई पठाएका छौँ’ इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘नेपालको वर्तमान अवस्थालाई ध्यानमा राख्दै आइसिसीले इपिएललाई मान्यता प्रदान गरेको छ । लिग विशेषगरी नेपाली क्रिकेट र नेपाली खेलाडीको हितमा छ’, आइसिसीलाई उद्धृत गर्दै विज्ञप्तिमा जनाइएको छ । इपिएलले पठाएको उक्त रकम आइसिसीले नेपालको क्रिकेट विकासमै खर्च गर्ने विज्ञप्तिमा जनाइएको छ ।

इपिएलका लागि तयारी

अहिले नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट सङ्घ ‘क्यान’ आइसिसीको निलम्बनमा रहेका कारण नेपालमा क्रिकेट प्रतियोगिता गर्दा आयोजकले आइसिसीको मान्यता लिनुपर्ने प्रावधान छ ।

गत वर्षदेखि इपिएलले आइसिसीको मान्यता लिएर प्रतियोगिता गराएको थियो । यस्तै आइसिसीको मान्यतापछि विदेशी खेलाडीलाई समेत लिग खेल्ने बाटो खुलेको छ ।

इपिएलमा नेपालका विभिन्न छ शहरको नामबाट छ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसअघि नै केही टोलीले विदेशी खेलाडी अनुबन्ध गरिसकेका छन् । गत संस्करणदेखि एक टोलीले तीन विदेशी खेलाडी राख्नुपर्ने निर्णय आयोजकले गरेको थियो ।

इपिएलमा साविक विजेता विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७