यी ५ कर्मचारी ‘इन्टेग्रिटी आइडल’ घोषित


४ मंसिर २०७५, मंगलवार
Karmachari 1 1

काठमाडौं, ४ मङ्सिर । सार्वजनिक प्रशासन क्षेत्रमा काम गर्ने पाँच जना उत्कृष्ट कर्मचारीलाई ‘इन्टेग्रिटी आइडल नेपाल–२०१८’ घोषणा गरिएको छ । एकाउन्टबिलिटी ल्याब नेपालले मंलवार आयोजना गरेको कार्यक्रममा सेवाग्राहीको कामप्रतिको मूल्याङ्कनका आधारमा पाँच जना कर्मचारीलाई आइडल घोषणा गरिएको हो ।

Karmachari 1 1

यसरी आइडल घोषणा गरिएको कर्मचारीमा तरकारी बाली विकास केन्द्र खुमलटार ललितपुरका वरिष्ठ बागवानी विकास अधिकृत अरुण काफ्ले, टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रवराज आचार्य, युवा तथा खेलकूद मन्त्रालयका उपसचिव महेन्द्रप्रसाद पौड्याल, बर्दियाका प्रजिअ रामबहादुर कुरुङवाङ र वीरेन्द्रनगर नगरपालिकाका नगर स्वास्थ्य कार्यलयमा कार्यरत अनमी सीताकुमारी शर्मा रहेकोे ल्याबका प्रमुख नारायण अधिकारीले जानकारी दिएका छन् ।

छनौट समितिका सदस्य तथा नेपाल प्रशासन प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले स्थलगत कामको मूल्याङ्कन, सेवाग्राहीसँगको व्यवहार, नैतिकवान् र इमान्दारजस्ता मापदण्डका आधारमा उनीहरुलाई यस वर्षको आइडल कर्मचारीको रुपमा छनौट गरिएको बताएको छ ।

छनौट समितिका अर्का सदस्य प्रशासनविद् काशीराज दाहालले धेरै कर्मचारीबाट पाँच जना छनौट गर्न कठिन भएको भन्दै उत्कृष्ट कर्मचारी छनौटले नेपालको सार्वजनिक प्रशासनमा सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । यस प्रक्रियामा सहभागी नभएको राम्रा कर्मचारी पनि रहेको उल्लेख गर्दै उनले त्यस्ता राम्रा कर्मचारीलाई अर्को पटक सहभागी गराउनुपर्ने बताएको छ ।
गत वर्ष पुसमा संस्थाले कर्मचारीलाई आवेदन दिन माग गरेको थियो । त्यसमा ७२ जिल्लाका एक हजार ६२ कर्मचारीले आवेदन दिएका थिए ।

आवेदन दिएकामध्ये पाँच जनालाई कामप्रतिको जिम्मेवारी, उत्तरदायित्व, सेवाग्राहीसँगको व्यवहारका जस्ता मापदण्डबाट ती कर्मचारी रहेको ठाउँमा पुगेर अध्ययन गरेर मात्र छनौट गरिएको ल्याबका प्रमुख अधिकारी ताए । छनौटमा परेकामध्ये एक जनालाई एसएमएस र अनलाइन मतबाट सर्वोकृष्ट कर्मचारी घोषणा गरिने पनि उनले बताए ।

छनौटमा परेका पाँच जनालाई यही मङ्सिर २१ गते एक कार्यक्रम गरी आइडल प्रदान गरिने छ । उत्कृष्ट पाँचमा परेका टीकापुरका प्रमुख प्रशासकीय अधिकृत आचार्यले अहिलेसम्म आफूले गरेको कामप्रति फल पाएको र आफूले सेवाग्राहीको मन जित्न सफल भएको लागेको बताए ।

यस्तै आइडल घोषणा भएका युवा तथा खेलकूद मन्त्रालयका उपसचिव पौड्यालले आइडल घोषणाले सेवाग्राहीप्रति आफ्नो जिम्मेवारी थप बढेको बताएका छन् । ल्याब नेपालले सन् २०१४ देखि इन्टेग्रिटी आइडल घोषणा गर्दै आएको छ ।रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७