हिमालयन बैंकले ल्यायो ‘मास्टर डेविट कार्ड’
काठमाडौं, पुस २७ । हिमालयन बैंकले सुरक्षित चिप र पिन प्रविधियुक्त डेबिट मास्टरकार्डको सेवा थालेको छ।
बैंकद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र मास्टरकार्डका तर्फबाट दक्षिण एसिया क्षेत्रीय प्रमुख पोरुष सिंहले उक्त कार्डको सेवा शुभारम्भ गरे।
हिमालयन बैंकका ग्राहकले विभिन्न होटल, रेष्टुराँ, पब लगायत अन्य पसलहरुमा कारोबार गरिसकेपछि मास्टरकार्डमार्फत भुक्तानी गर्दा नगद फिर्ता समेत पाउने बैंकले जनाएको छ।
यसै अवसरमा बैंकले नयाँ खाता खोल्ने ग्राहकहरुका लागि सो कार्ड निशुल्क प्रदान गर्ने भएको छ। कार्यक्रममा बोल्दै बैंकका कार्यकारी प्रमुख राणाले मास्टरकार्डसँगको सहकार्यले बैंकको सेवा विस्तार भएको बताए।
उनले नयाँ खाता खोल्दा ग्राहकका लागि निशुल्क प्रदान गर्ने जानकारी दिए। ग्राहकहरुले उक्त कार्ड नेपाल तथा भारतका प्रायजसो एटिएम र पस मेशिनमा प्रयोग गर्न सक्नेछन्।
मास्टरकार्डका तर्फबाट सिंहले पछिल्ला वर्षहरुमा नेपालले डिजिटल भुक्तानी प्रणालीमा र कार्डको प्रयोगमा उच्च प्रगति गरेको बताए। उनले डेबिट कार्ड डिजिटल युगको प्रणालीमा अभिन्न अंग रहेको बताउँदै कारोबारमा कार्डको प्रयोग गर्न सुझाव दिए।
हिमालयन बैंकका ग्राहकले देशका ५७ वटा शाखाहरुबाट उक्त कार्ड लिन सक्ने तथा १११ वटा एटिएम मार्फत प्रयोग गर्न सक्ने छन्। साथै उक्त कार्ड नेपाल र भारतका पस मेशिनहरुमा प्रयोग गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ।