प्रहरीको गोली लागेर एक जनाको मृत्यु
बुटवल (पूर्व), २९ पुस । रुपन्देहीको शंकरपुरमा प्रहरीको गोलीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
गोली लागेका व्यक्ति तस्कर समूहको सदस्य रहेको प्रहरीले दाबी गरेको छ । रुपन्देही प्रहरी प्रमुख हृदय थापाका अनुसार सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरीमाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार तस्करको समूहले गोली हानेको थियो ।
गोली लागेर एक जना प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् । श्रेष्ठको बायाँ पाखुरामा गोली लागेको छ । त्यसपछि जवाफी कार्बाहीमा एक जना तस्करको मृत्यु भएको प्रहरीको भनाइ छ । मारिनेमा करीब ३०–३५ वर्षका पुरुष छन् । मृतकको परिचय खुलेको छैन ।
प्रहरीको गोली लागेर घाइते भएका उनको अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक थापाले जानकारी दिएका छन् । उनको शव पोष्टमार्टमका लागि भीम अस्पताल रुपन्देहीमा राखिएको छ ।
घटना राति करिब १२ बजेतिरको हो । भारतीय मोटरसाइकल युपी ५३ एच २०२८ मा आएका तस्करहरुलाई सादा पोशाकका प्रहरीले रोक्न खोज्दा उनीहरुले प्रहरीमाथि नै गोली चलाएको प्रहरी उपरीक्षक थापाको भनाइ छ ।