लगानीकर्ताको आँखा माथिल्लो तामाकोशीमा, शेयर मूल्य १० प्रतिशतले वृद्धि
काठमाडौं, ७ माघ । शेयर लगानीकर्ताको ध्यान अहिले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले खिचेको छ । अपर तामाकोशीको शेयर दोस्रो बजारमा सूचीकृत भएपछिको पाँच कारोबार दिनमा १० प्रतिशतका दरले मूल्य बढिरहेको छ ।
नेपाल स्टक एकस्चेन्ज (नेप्से) ले कम्पनीको अधिकतम शुरुवाती मूल्य २२४ रुपैयाँ तोकेको थियो । शुरुकै दिनदेखि १० प्रतिशतले बढ्दा पाँच कारोबार दिनसम्म मूल्य बढेर ३११ रुपैयाँ पुगेको छ ।
स्वदेशी लगानीको सबैभन्दा ठूलो जलविद्युत आयोजना अपर तामाकोशीको विद्युत उत्पादन क्षमता ४५६ मेगावाट छ । आउँदो आर्थिक वर्षेदेखि सञ्चालनमा आउने तथा लाभांस बाँड्न योग्य हुने भन्दै कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो ।
कम्पनीले आउँदो आर्थिक वर्षमा खुद मुनाफा ४ अर्ब १० करोड रुपैयाँ हुने अनुमान गरेको छ। यसका आधारमा कम्पनीको प्रति शेयर आम्दानी ३८.७२ रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । आउँदो वर्ष कम्पनीले आयोजना सम्पन्न भएपछि सरकारबाट प्रति मेगावाट ५० लाख रुपैयाँ भ्याट फिर्ता पाउने छ । कम्पनीले ४५६ मेगावाट बराबर २ अर्ब २८ करोड रुपैयाँ पाउने छ । यो कम्पनीको मुनाफामा जोडिन्छ ।
आर्थिक वर्ष २०७७–७८ मा कम्पनीले दुई अर्ब १२ करोड रुपैयाँ नाफा गर्ने प्रक्षेपण गरेको छ । यस्तो नाफा हरेक वर्ष तीन प्रतिशतका दरले बृद्धि हुँदै जाने कम्पनीका चार्टर्ड एकाउन्टेन्ट (सिए) सुरेशराज खकुरेलले जानकारी दिए ।
नाफाबाट लाभांस कहिले
कम्पनीले आयोजना निर्माणको लागि ऋणदाता संस्था कर्मचारी सञ्चय कोषसँग विद्युत उत्पादन सुरु भएपछि १० वर्षमा कर्जा तिर्ने सम्झौता गरेको थियो । तर निर्माण लागत बृद्धि हुँदा यस्तो अवधि बढ्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले शुरुमा आयोजना निर्माण लागत ३५ अर्ब रुपैयाँ पर्ने अनुमान गरेको भए पनि विभिन्न कारणले लागत बृद्धि भएर ४९ अर्ब २९ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ। जसले गर्दा कम्पलनीको ऋण तिर्ने अवधि लम्बिन सक्ने खकुरेलले जानकारी दिए । आयोजना निर्माणको लागि कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँ शेयर पूँजी जुटाएको छ । साथै बाँकी ३८ अर्ब ७० करोड रुपैयाँ ऋण तिर्नु पर्ने हुन्छ। पहिलो वर्ष ४ अर्ब १० करोड रुपैयाँ नाफा गर्ने अनुमान गरिएको छ ।