जग्गा प्लटिङ कारोबारमा सक्रिय बन्दै सेना


१ फाल्गुन २०७५, बुधबार
army

काठमाडौं, १ फागुन । सैनिक कल्याणकारी कोषको साढे पाँच अर्ब परिचालन गरेर नेपाली सेनाले विभिन्न नाफामूलक व्यवसाय बढाएको छ ।

army

पार्टी प्यालेस, पेट्रोलपम्प, सडक निर्माणदेखि सपिङ कम्प्लेक्स र जग्गा प्लटिङ गरेर बेच्ने कारोबारमा समेत सेना सक्रिय छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको तथ्यांकअनुसार गत मंसिर मसान्तसम्म सेनाले कल्याणकारी कोषमार्फत पाँच अर्ब ५७ करोड २४ लाख ३० हजार रुपैयाँ विभिन्न परियोजनामा लगानी गरेको छ ।

यतिखेर सेनाले इचंगुनारायणमा ४२ करोडको जग्गा खरिद गरी धमाधम प्लटिङ गरेर बिक्री–वितरणको अन्तिम तयारी गरिरहेको छ । उसले भक्तपुरको दुवाकोटमा एक सय २२ रोपनी र काठमाडौंको कीर्तिपुरमा दुई सय २६ रोपनी जग्गा खरिद गरी प्लटिङ गरेको छ ।

त्यस्तै, प्लटिङ गरेर सुनसरीको इटहरीमा ११ सय ८, पोखराको फूलबारीमा ७२, पोखराकै राधाकृष्ण टोलमा एक सय ५१ र चितवनको पिठुवामा दुई सय ८९ घडेरी सेनाले बिक्री गरिसकेको छ ।

प्लटिङ गरेर तयार पारिएका घडेरी बहालवाला, अवकाशप्राप्त तथा लडाइँमा मृत्यु भएका सैनिक परिवारलाई एकमुष्ठ भुक्तानी वा किस्ताबन्दीमा सेनाले बेच्दै आएको छ । किनबेचबाट हुने मुनाफा कोषमा स्वतः जम्मा हुने सेनाको दाबी छ ।

तर, सेनाले यसरी व्यवसायमा हात फैलाउँदै गएकोमा सेनाकै पूर्व अधिकारीहरूले समेत आश्चर्य व्यक्त गरेका छन् । पूर्वरथी शिवराम प्रधान भन्छन्, ‘यो राम्रो देखिएन । सेना यस्ता काम र आर्थिक विवादबाट टाढै बस्नुपर्छ ।’ त्यस्तै, पूर्व उपरथी बिनोज बस्न्यात भन्छन्, ‘मेडिकल कलेज स्थापनादेखि नै नेपाली सेना व्यापारउन्मुख देखिन्छ । संसारमा यस्तो बिरलै हुन्छ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७