किन बुधवार नेपालमा रिलिज हुन सकेन ‘कलंक’ ?


४ बैशाख २०७६, बुधबार
kalank poster

काठमाडौं, ४ बैसाख । भारतमा बोलिने भाषा नेपालको लगभग आधा बढी जनसंख्याले सहजै बुझ्छ । अझ सीमावर्ती क्षेत्रमा त नेपालीहरु नेपालीभन्दा हिन्दी भाषा बढी बोल्दछन् । भाषाको सहजताका कारण पनि वर्षौदेखि नेपालमा भारतीय फिल्मले आफ्नो एकाधिकार कायम गरिरहेको छ ।

kalank poster

बलिउडका प्रख्यात अभिनेता राज कपुरको युगदेखि अहिले बलिउडमा आफ्नो प्रभुत्व जमाइरहेका अभिनेता कात्तिक आर्यनसम्म आइपुग्दा बलिउड फिल्मले नेपालमा आफ्नो लोभलाग्दो बजार बनाएको छ ।

बलिउड फिल्मको प्रभाव नेपालमा कतिसम्म छ भन्ने कुरा बलिउडका तीन खान (सलमान, शाहरुख र आमिर) का फिल्म रिलिज हुँदा नेपालका कुनै फिल्म प्रदर्शनमा नआउनुले नै छर्लङ्ग पार्छ । नेपाली फिल्मले घरेलु बजार बिस्तारै गुमाइरहेको छ ।

बलिउड फिल्मले दिन प्रतिदिन नेपाली बजार कब्जा गरिरहेको छ । नेपाली फिल्मले आफ्नै बजारबाट लगानी उठाउन सकेका छैनन् । बलिउड फिल्मले भने नेपाली दर्शकको खल्तीबाट करोडौं रुपैयाँ झारिरहेका छन् ।

नेपाल र भारत दुई देशबीच खुल्ला बजार अर्थनीति लागू भएका कारण नेपालमा भारतीय फिल्म प्रदर्शनमा नआउन लगभग असम्भव छ । तर, वर्षौदेखि बलिउड फिल्मका कारण नेपाली फिल्मले नराम्रो हैरानी खेप्नु परेको छ । दशक अगाडि नेपालका दुई संस्था चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीच नेपाली फिल्म नेपालीहरुको चार ठूला पर्वबाहेक अनिवार्य रुपमा शुक्रवार मात्र प्रदर्शन गर्नुपर्ने सम्झौता भएको छ । नेपाली फिल्मले यो नियमलाई शिरोधर गरि अवलम्बन गरिरहेका छन् ।

fb

तर, यो नियम नेपाली फिल्मका लागि मात्र लागू हुँदै आएको छ । बलिउड फिल्म भने कुनै ठूलो चाडपर्व विनै शुक्रवारभन्दा अगाडि नै रिलिज हुन्छन् । केही हप्ता अगाडि बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘केशरी’ नेपालमा बिहीवार नै हलमा लागेको थियो ।

यसले अघिल्लो हप्ता प्रदर्शनमा आएको र शुक्रवार आउने नेपाली फिल्मलाई ठूलो असर गर्छ । दर्शक त बाँडिन्छन् नै साथमा ठूलो संख्यामा हल पनि गुम्छ । यसै त विदेशी फिल्मका कारण दर्शकहरु नेपाली फिल्म भनेपछि नाक खुच्याउने गर्छन् ।

भारतमा बलिउड फिल्म पनि प्रायः शुक्रवार नै प्रदर्शनमा आउँछन् । चाडपर्वमा भने भारतमा शुक्रवारभन्दा अगाडि पनि फिल्म प्रदर्शन गर्न मिल्ने प्रावधान छ । त्यहाँ शुक्रवारभन्दा अगाडि फिल्म लाग्दा नेपालमा पनि त्यही दिनमा रिलिज हुन्छ । यसले नेपाली फिल्मलाई नराम्रो असर गरिरहेको वर्षौदेखि बहस चलिरहेको छ ।

तर, यसतर्फ आजसम्म न चलचित्र विकास बोर्ड गम्भीर देखियो न त नेपाली फिल्मको विकासका लागि गठन भएका दर्जन बढी संघ संस्थाले नै आवाज उठाए । कुरा गरौं बुधवार भारतमा प्रदर्शनमा आएको बहुप्रतिक्षीत फिल्म ‘कलंक’ को । यो फिल्म हेर्न भारतीय जनता जति आतुर छन् नेपाली दर्शकहरु पनि त्यो भन्दा कम छैनन् ।

अभिषेक वर्मा निर्देशित यस फिल्ममा २० वर्षपछि स्क्रिन सेयर गरेको जोडी माधुरी दिक्षित र सञ्जय दत्त छन् । एकसेएक हिट फिल्म दिएका आलिया भट्ट र वरुण धवनसँगै सोनाक्षी सिन्हा र आदित्य रोय कपुरको पनि अभिनय छ । मल्टिस्टारर यो फिल्म पहिलो दिन नै हेर्न नेपाली दर्शकको ठूलो संख्या तमतयार थियो ।

तर, यो फिल्म बुधवार नेपाल रिलिज हुन सकेन । सम्भवतः भारतमा रिलिज भएकै दिन नेपालमा पनि बलिउड फिल्म प्रदर्शन नहुनु यो पहिलो पटक हो । बुधवार नै बलिउडको ठूलो रिलिज मानिएको ‘कलंक’ नेपाल आउँदा गत शुक्रवार रिलिज भएका दुई नेपाली फिल्म ‘यात्रा’ र ‘ए मेरो हजुर ३’ को व्यापारमा ठूलो असर गर्ने पक्का थियो । नेपाली फिल्म जोगाउनका लागि ‘कलंक’ बुधवार प्रदर्शनमा रोक लगाउनु पर्ने भन्दै फिल्मकर्मीहरुले जोडतोडले आवाज उठाएका थिए ।

अन्ततः चलचित्र विकास बोर्डले पहिलो पटक शुक्रवारभन्दा अगाडि नै बलिउड फिल्म प्रदर्शन गर्ने परम्परालाई ब्यान्ड गरेको छ । बुधवार नै बलिउड फिल्म रिलिज हुँदा प्रदर्शनरत दुई नेपाली फिल्मलाई असर पुग्ने भन्दै ‘कलंक’ लाई शुक्रवार मात्र रिलिज गर्नुपर्ने निर्णयमा बोर्ड अध्यक्ष केशव भट्टराई अडिक रहेपछि यो फिल्म बुधवार प्रदर्शन आउन सकेन । बुधवार रिलिज नहुँदा अब शुक्रवार पनि ‘कलंक’ नेपाल रिलिज हुन्छ वा हुँदैन ? कुनै टुंगो छैन ।

विदेशी फिल्म शुक्रवारभन्दा अगाडि प्रदर्शनमा रोक लगाउनु पर्ने मागसहित चलचित्र निर्माता संघले बैशाख २८ गते चलचित्र विकास बोर्डलाई पत्र पठाएको थियो । निर्माताको गुनासोलाई सुनवाई गर्दै बोर्डले पनि नेपाल चलचित्र संघलाई पत्रमार्फत् विदेशी फिल्म शुक्रवार मात्र प्रदर्शनमा ल्याउन निर्देशन दिएपछि ‘कलंक’ बुधवार नेपाल प्रदर्शनमा आउन नसकेको हो । वितरक कम्पनी गोपिकृष्ण र वैंकटेश फिल्मस भने बुधवार नै फिल्म ल्याउन बोर्डमा सेन्सर पासका लागि पुगेको थियो ।

bhaskar

तर, बोर्डले ‘कलंक’ को सेन्सर पासका लागि अनुमती दिएन । विदेशी फिल्म शुक्रवारभन्दा अगाडि नै प्रदर्शनमा ल्याउन बोर्डले रोक लगाएपछि फिल्मकर्मीले बोर्ड अध्यक्ष भट्टराईको सामाजिक सञ्जालमा चौतर्फी प्रशंसा गरिरहेका छन् । धेरैले उनको निर्णयलाई सहासिक भनेका छन् । कतिपयले भने उनको निर्णयमा स्वार्थ देखेका छन् । किनकी, बोर्ड अध्यक्षको फिल्म ‘यात्रा’ अहिले हलमा चलिरहेको छ । आफ्नो फिल्मको व्यापार चौपट हुने डरले उनले बलिउड फिल्म बुधवार ल्याउन रोकेको कतिपयको आरोप छ ।

बुधवार ‘कलंक’ नेपाल रिलिज नभएपछि नेपाली फिल्मकर्मीले खुसीयाली मनाइरहँदा मल्टीप्लेक्स क्यूएफएक्सले भने बोर्डको निर्णयको विरोध गरेको छ । बोर्डको निर्णयलाई क्यूएफएक्सका सञ्चालक मध्येका एक भाष्कर ढुंगानाले ‘स्वार्थहरुको द्वन्द्व’ र ‘अख्तियारको दुरुपयोग’ भनेका छन् । उनले फिल्मको मिति तोक्ने काम बोर्डको नभएर वितरक, निर्माता र प्रदर्शकको सम्झौताले तय गर्ने फेसबुकमा एक स्टाटस लेख्दै बताएका छन् । उनको कुरामा वितरक राठी पनि सहमत छन् ।

‘कलंक’ बुधवार रिलिज हुने वा नहुने तय नहुन्जेल क्यूएफएक्सले मंगलवार साँझसम्म सोज होल्ड गरेर राखेको थियो । विदेशी फिल्म पनि शुक्रवार मात्र प्रदर्शन गर्नुपर्ने बोर्डको निर्णयपछि क्यूएफएक्सले ‘कलंक’ लाई जोगाएर राखेको सोज दुई नेपाली फिल्म ’ए मेरो हजुर ३’ र ’यात्रा’ लाई बाढेको छ । स्रोतका अनुसार, ‘कलंक’ लाई बुधबार रिलिज गराउन गोपिकृष्ण, गंगा र गुणले अध्यक्ष भट्टराईको फिल्म ‘यात्रा’ लाई ठूलो हल उपलब्ध गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७