फुटबलर बन्ने लक्ष्य लिएकी रश्मी गायन क्षेत्रमा लोकप्रिय
काठमाडौं, ७ जेठ । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा एउटा चम्किलो ताराको रुपमा उदाएकी गायिका हुन् रश्मी राई । उनले विभिन्न भाषामा गीत गाउन सक्ने बताइन् ।
नेपाली, चाम्लिङ, वान्तावा र कोयु भाषामा आफ्नो स्वर दिएकी रश्मीले दर्शक तथा स्रोताको ध्यान आफूमा तान्न सफल भएकी छन् । उनले हालसम्म दुई दर्जन भन्दा बढी गीत गाईसकेको बताइन् ।
हालसम्म कलेक्सन एल्मबममा मात्र आफ्नो स्वर दिने गरेको बताउँदै उनले किरातीहरुको मुख्य नाच साकेला सिली जस्ता गीतमा पनि आवाज दिएको बताइन् । उनले भनिन्, ‘वाल्यकालदेखि नै गीत संगीत असाध्यै मन पथ्र्यो, राजेश पायल राईले गाएका अधिकांश गीतहरु म सुन्ने गर्थे, जसले गर्दा गीत संगीतप्रति लगाव राखे त्यसबाटै प्रेरणा मिल्यो ।’ उनले भनिन्, ‘फुटबल प्लेयर बन्ने लक्ष्य थियो तर अहिले गायन पेशामा रमाई रहेकी छु ।’
रश्मीले गाएको भेडेटारमुनि सुन्दर धरान बजार भन्ने गीत बजारमा यहि हप्ता आउँदैछ । यस गीतमा संगीतकार महेन्द्र राई, म्युजिक एरेन्जर राजु कार्की र गीतकार जितमान राई छन् ।