रविन्द्र अधिकारी स्मृति सभा, सम्भावना बोकेका असल नेता गुमायौं : मन्त्री भट्टराई


१५ फाल्गुन २०७६, बिहीबार
Rabindra scaled

काठमाडौं, १५ फागुन :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गत साल १५ फागुन २०७५ मा ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटनामा सम्भावना बोकेका एकजना असल नेता गुमाएको बताएका छन् । देशको राजनीतिक नेतृत्व गर्न सक्ने नेताको रुपमा उदाइरहेका तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारी दुर्घटनामा गुमेको उनको भनाई छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विहिबार हेलिकप्टर दुर्घटनामा निधन भएकाहरुको सम्झनामा आयोजना गरेको प्रथम स्मृति सभामा आयोजित कार्यक्रमममा मन्त्री भट्टराईले गत १५ एउटा दुःखत दिनका रुपमा सम्झना गरे । उनले मन्त्री अधिकारीले नेपालको विद्यार्थी तथा शैक्षिक आन्दोलन, राजनीतिक परिवर्तनको आन्दोलन, संसदीय राजनीति र मन्त्रीको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

भट्टराईलेले स्वा. अधिकारीसँग अनेक राजनीतिक उत्तरचढावहरुमा सँगै रहेको सम्झना गर्दे आफूले एक असल मित्र गुमाएको बताए । विद्यार्थी राजनीतिदेखि संबिधानसभा सदस्य, सांसद, संसदीय समितिको सभापति र मन्त्रीको जिम्मेवारीमा रहेर अधिकारीले सम्झनायोग्य कामहरु गरेको उनको भनाई छ । दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, कर्मचारी, सुरक्षाकर्मी र पाइलटको उनले सम्झना गरे ।

गत फागुन १५ मा ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारी सहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रवु भोछिभोया, उपसचिव युवराज दाहाल, पाइलट क्याप्टेन प्रभाकर केसी र नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेको निधन भएको थियो । मन्त्रालयले मन्त्री अधिकारी सहित दुर्घटनामा निधन भएकाहरुको सम्झनामा स्मृति सभाको आयोजना गरेको हो ।

पुरस्कार स्थापना

Rabindra adhikari scaled
मन्त्री भट्टराईले अधिकारीको सम्झनामा मन्त्रालयले ‘रविन्द्र अधिकारी स्मृति पर्यटन पुरस्कार’को पनि घोषणा गरे । पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वलाई हरेक वर्ष यो पुरस्कार दिइने उनको भनाई छ । यस वर्षको पुरस्कार स्व अधिकारीको जन्मदिन आगमी वैसाख २२ मा दिइने बताए । अन्य वर्षहरुमा भने १५ फागुन स्मृति दिवसमा दिइने उनको भनाई छ ।

रविन्द्र अधिकारीको यात्रा
स्व अधिकारी ०३८ मा ७ कक्षा पढ्दै गर्दा अनेरास्ववियुमा संगठित भएर ०४५ मा अनेरास्ववियु कास्कीको अध्यक्ष, ०४७ मा गण्डकी अञ्चल अध्यक्ष, अनेरास्ववियुको केन्द्रीय सदस्य भए । ०४९ मा पृथ्वीनारायण क्याम्पस पोखरा र ०५३ मा त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापतिमा निर्वाचित भए ।

अनेरास्ववियुको महासचिव हुँदै तत्कालीन मालेनिकट अनेरास्ववियुमा अधिकारी २०५६ मा केन्द्रीय अध्यक्ष निर्वाचित भए । रवीन्द्र अधिकारी त्यस्तो नेता थिए, जतिबेला रत्नपार्कबाट नारायणहिटीको दुरी धेरै टाढा मात्रै थिएन, भयनाक पनि थियो । रत्नपार्कबाट नारायणहिटीतिर फर्केर हेर्दा शिर झुकाएर हेर्नुपर्ने बाध्यता थियो । तर, रवीन्द्र दाइले त्यही नारायाणहिटीका एकजना वेलगाम शाहाज्यादा पारस शाहलाई चुनौती दिए । शाहको गाडीले ठक्कर दिएर संगीतकार प्रवीण गुरुङको मृत्यु भएपछि उनलाई कारबाहीको माग गर्दै उनकै नेतृत्वमा ५ लाख २३ हजार हस्ताक्षर संकलन गरेर राजदरबारमा बुझाए ।


‘कालापानी मार्च’को नेतृत्व गर्दै अधिकारीले लक्ष्मणपुर बाँधको विरोधमा सीमा सुरक्षा अभियान चलाए । राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई सीमाबाट सहरको केन्द्रसम्म ल्याउन भूमिका खेले । यातायातलगायत सार्वजनिक क्षेत्रमा विद्यार्थीलाई ३३ प्रतिशत सहुलियत दिने आन्दोलनको अगुवाइ गरे ।

विद्यार्थी मात्रै होइन मूल प्रवाहको राजनीतिमा पनि उत्तिकै प्रिय थिए । ०४६ मा आन्दोलनमा क्याम्पस, जिल्ला र संयुक्त आन्दोलन परिचालन कमिटीको संयोजककै हैसियतमा नेतृत्व गरे । पोखरामा २०६२÷६३ को जनआन्दोलनका नेतृत्व गरे । कास्कीबाट ०६४, ०७० मा संविधानसभा तथा ०७४ प्रतिनिधिसभा सदस्य निर्वाचित भए । दुई कार्यकाल संविधानसभा सदस्यमा निर्वाचित भए । विकास समितिको सभापति बने ।

२०७४ को प्रतिनिधिसभाको निर्वाचनपछि ३ फागुन ०७४ मा बनेको केपी ओली नेतृत्वको सरकारमा संस्कृति, पयर्टन तथा नागरिक उड्डयनमन्त्री भए । त्यही जिम्मेवारी सम्हाल्ने क्रममा ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्नेखोलानजिक हेलिकोप्टर दुर्घटनमा सधैंका लागि बिदा भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७