कपिलवस्तुमा दुग्ध उत्पादन : छिमेकीलाई बाँड्दै र फाल्दै


२८ चैत्र २०७६, शुक्रबार
dudh milk

कपिलवस्तु, २८ चैत । कोभिड–१९ को सम्भावित संक्रमण रोक्न नेपाल सरकारले देशैभर लकडाउन घोषणा गरेपछि कपिलवस्तुको ग्रामीण क्षेत्रका पशुपालक किसान प्रभावित भएका छन् ।

ती पशुपालक किसानका दूध दिने पशुबाट दूध उत्पादन घटेको छ । उत्पादन भएको दूधसमेत बिक्री नहुँदा पशुपालक किसानले ठूलो नोक्सानी ब्यहोर्नु परेको छ । कपिलवस्तुमा किसानले उत्पादन गरेको दूध नबिकेपछि खेतमा फाल्नुपर्ने अवस्था समेत सिर्जना भएको छ ।

वाणगङ्गा नगरपालिका– ४ मा रहेको ट्विन्स डेरी उद्योगले दुई दिनमा १६ हजार लिटर दूध खेतमा फाल्नु परेको बताएको छ । दुग्ध विकास संस्थानले दूध नकिनेपछि बाध्य भएर बारीमा फाल्नुपरेको सञ्चालक इन्दिरा पौडेलले बताइन् ।

वाणगङ्गा नगरपालिका, व्यावसायिक पशुपालन समितिका सचिव तथा सक्रिय कृषक जयलाल गिरीका गोठमा ६५ बाख्रा र ४८ गाईभैंसी छन् । घाँस पनि पर्याप्त मात्रामा उत्पादन हुन नसक्नु र दानाको अयातनिर्यात नै बन्द भई पशुलाई पर्याप्त खाना दिन नसक्दा उत्पादनमा ८० प्रतिशत गिरावट भएको उनको गुनासो छ ।

गिरीले भने, ‘अब गोठमा बाँधिएका गाईभैंसी तथा बाख्रालाई कसरी जोगाउने भन्ने ठूलो चिन्ता छ ।’ उनका अनुसार पहिले खर्च कटाएर पनि मासिक रु एक लाखसम्मको आम्दानी हुने सो व्यवसायमा अहिले ८० प्रतिशत घाटा भइरहेको छ ।

वडा नम्बर–८ बोडगाउँका खुमानन्द पौडेलले २४ गाई पालेका छन् । उनले यसअघि गाईपालनबाट मासिक रु ८० हजार आम्दानी गर्दै आएका थिए । यतिबेला दूध उत्पादन घट्नु तथा बन्दाबन्दीले दाना पाउन नसक्नुले आम्दानी घटेको छ ।

उनको जस्तै समस्या वडा नम्बर–९ चप्परगाउँका अगुवा कृषक विष्णु पौडेलको पनि छ । उत्पादित दूध बिक्री नभएपछि छरछिमेकलाई फोन गरेर दूध लिन बोलाएको र बचेको दूधको पनिर बनाइएको उनले बताए ।

वडा नम्बर–११ खुरबुधियाका पशुपालक किसान कमल सुवेदी गाउँस्थित डेरीले दूध नल्याउनू भनेपछि उत्पादित दूध गाउँबाट १० किलोमिटर दूरीमा रहेको डेरीमा गएर बेच्न बाध्य भएका छन् । गोठभरि ४० भैंसी पालिरहेका बुद्धभूमि नगरपालिका मोर्मा–३ का ईश्वरी पौडेल लकडाउनका कारण दाना पाउन समस्या भएको र पाए पनि महँगो पर्ने भएकाले समस्या निम्तिएको बताउँछन् ।

शुद्धोधन गाउँपालिका– १ बगदीका खेमराज भण्डारीले सन्तुलित र चापट दाना प्रति क्विन्टल रु ५०० देखि ६०० सम्म मूल्यवृद्धि भएकाले गोठमा भएका गाईभैंसी पाल्न समेत धौधौ भएको बताए । दैनिक साठी लिटर उत्पादन भइरहेको दूध घटेर अहिले २५ लिटरमा पुगेको बताउँदै उनले घरमा भएको दूध फाल्नुपर्ने र आफन्त बोलाएर दिनुपरेको गुनासो गरे ।

वाणगङ्गा क्षेत्रमा मात्र झण्डै तीन सय पशु फार्म दर्ता भए पनि हाल डेढ सयभन्दा बढी मात्र सक्रिय रहेको नगरका पशु शाखा प्रमुख राजकुमार तिवारीले बताए । तिनमा तीन ठूला र चार–पाँच साना डेरी छन् । लकडाउन खुलेपछि प्रभावित किसानको समस्या सम्बोधनका लागि नगरपालिकाले योजना बनाउने तिवारीले जानकारी दिए ।

जिल्लाभित्रका पशुपालक किसानको पीडा उस्तै भएको कपिलवस्तु जिल्लाका भेटेरीनरी पशु चिकित्सक दुर्गाप्रसाद खनालको भनाइ छ । कोरोनाको त्रासले बजारमा माग कमी भएकाले दूध तथा मासुजन्य खाद्य पदार्थले बजार मूल्य नपाउँदा यतिबेला किसान प्रत्यक्ष–अप्रत्यक्ष मारमा परिरहेको खनालको बताउँछन् । दानाका लागि भारतबाट कच्चा पदार्थ आउन नसक्दा नेपालका उद्योग धरापमा पर्ने अवस्था आउने उनको आंकलन छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७