देउवालाई धनराजको सुझाव : ‘आई लभ यु’ भन्नेहरुले ओलीलाई बार्दलीमा पुर्याएको हेक्का राख्नुस्
काठमाडौं, २९ साउन । सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवाको ‘अघोषित’ सचिवालयले ‘भाइबर ग्रुप’ मा सार्वजनिक गरिरहेका भिडियोप्रति आपत्ति जनाएका छन् ।
पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवा निवास बूढानीलकण्ठमा जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले ‘अघोषित’ सचिवालयले ‘भाइबर ग्रुप’ मा सार्वजनिक गरिरहेका भिडियोप्रति आपत्ति जनाएका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘आई लभ यु’ भन्नेहरुले सिंहदरबारबाट बालकोटको बार्दलीमा पुर्याएको टिप्पणी गर्दै गुरुङले प्रधानमन्त्रीलाई ‘मलाई शेरबहादुर मनपर्छ’ भन्नेहरूबाट सजग हुन सचेत गराए ।
‘आई लभ यु भन्नेहरुले केपी ओलीलाई सिंहदरबारबाट बालकोटको बार्दलीमा पुर्याए । सभापति ज्यू तपाईं प्रधानमन्त्री बनेपछि कांग्रेसमा पनि मलाई शेरबहादुर मनपर्छ भन्ने प्रवृत्ति शुरु भएछ,’ बैठकमा उनले भने, ‘भिडियो देख्दा झसङ्ग भएँ । यस्तो प्रवृत्तिबाट सजग हुनुहोस् ।’