नेपालले आज भारतसँग मैत्रीपूर्ण खेल खेल्दै, सुखद नतिजाको अपेक्षा


१७ भाद्र २०७८, बिहीबार
nepal vs india1630550162

काठमाडौं, १७ भदौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज (बिहीबार) भारतसँग मैत्रीपूर्ण फुटवल खेल्दैछ । खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुनेछ । बलियो टिम भारतविरुद्ध मैदान उत्रँदा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जित्नकै लागि खेल्ने बताएका छन् ।

कप्तान किरण चेम्जोङले भारतसँग खेल्न कठिन हुने बताउँदै भारतको कमजोरी पत्ता लगाएर आउँदा दिनको लागि पाठ सिक्ने बताए । उनले नेपालले घरेलु मैदानको फाइदा लिन सक्नुपर्ने पनि बताए ।

माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र भारतबीचको दोस्रो खेल आइतवार हुनेछ । साफ च्याम्पियनसिप आउँदो असोज १५ देखि ३० गतेसम्म हुँदैछ ।

नेपालले पछिल्लो पटक सन् २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो । अनिल गुरुङ र जुमानु राईले गोल गरेपछि दशरथ रङ्गशालामा नेपालले भारतलाई २–१ ले हराएको थियो । यसैबीच नेपाल र भारतबीचको खेलका क्रममा दर्शकलाई रङ्गशाला प्रवेश दिइने भएको छ ।

कोरोनाविरुद्धको खोप लगाएका वा ७२ घण्टा अघिको पीसीआर नेगेटिभ रिपोर्ट भएका पाँच हजार एक सय दर्शकलाई प्रवेश दिइने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । टिकटका लागि एन्फाले भीआईपीतर्फ २ हजार र साधारण प्यारापिटतर्फ १ हजार रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७