प्रधानन्यायाधीश र न्यायाधीशहरुबीच छलफल शुरु
काठमाडौं, ९ कात्तिक । सर्वोच्च अदालतका न्यायाधीशहरू प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्न उनको च्याम्बरमा गएका छन् । सर्वोच्चका १४ न्यायाधीश छलफलपछि जबराको च्याम्बरमा गएका हुन् ।
प्रधानन्यायाधीश जबरा विवादमा मुछिएपछि उनले निकास दिनुपर्ने माग भइरहेको वेला सर्वोच्चका न्यायाधीशहरू जबरालाई भेट्न पुगेका हुन् । सर्वोच्चमै आन्तरिक छलफल गरेपछि न्यायाधीश दीपक कार्की, हरिकृष्ण कार्की र मीरा खड्कासहितका न्यायाधीशहरु प्रधानन्यायाधीश जबरालाई भेट्न पुगेका हुन् ।
वर्तमान गठबन्धन सरकारमा ‘भाग’ खोजेकोसहित आरोप लागेका प्रधानन्यायाधीश जबरालाई उनीहरू केही बेरअघि भेट्न पुगेका छन् । प्रधानन्यायाधीश जबरालाई भेटेर सहकर्मी न्यायाधीशहरूले अहिलेको संकटको निकासका लागि उनलाई पद छाड्न दबाब दिने भएका छन् ।
सोमबार ‘फुल कोर्ट’ र इजलास समेत बहिष्कार गरेका न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई भेटेपछि थप रणनीति बनाउने भएका छन् ।