काठमाडौंसँग सीधै जोडिंदै रोल्पाको थवाङ
काठमाडौं । रोल्पाको थवाङ सीधै काठमाडौंसँग जोडिएको छ । थवाङबाट काठमाडौंका लागि पहिलो पटक रात्रिबस सेवा शुरु भएको हो । बस सेवामार्फत थवाङबाट अब १२ घण्टामै काठमाडौं पुग्न सकिने भएको छ ।
थवाङबाट रुकुमपूर्वको खावाङ, बागलुङको बुर्तिवाङ, पोखरा हुँदै काठमाडौंका लागि रात्रिबस सेवा शुरु भएको छ । हाल घोडाघोडी डिलक्स यातायातले सेवा दिइरहेको छ ।
यसअघि थवाङवासी सदरमुकाम लिवाङसम्म जिपमार्फत करिब ८ घण्टाको दूरी पार गर्दै रात्रिबसमा काठमाडौं जाने गरेका थिए । थवाङ-लिवाङ र लिवाङ-काठमाडौंको बराबरी भाडा तिर्न बाध्य उनीलाई थवाङ-काठमाडौं बस सेवा शुरु भएसँगै राहत मिलेको छ । रासस