धरानमा राति १० बजेपछि होटल सञ्चालन गर्न रोक
धरान : धरानमा स्थानीय प्रशासनले राति १० बजेपछि होटल सञ्चालनमा रोक लगाएको छ । आसन्न प्रदेश सभा र प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गर्दे १० बजेपछि सञ्चालन गर्न नपाइने भएको हो ।
प्रशासनका अनुसार अब रेष्टुरेण्ट, डान्स बार पनि रातिब दश बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । व्यवसायका नाममा रातभर होटल सञ्चालन गरी मादक पदार्थ विक्रि वितरण गर्नुका साथै बजारको शान्ति सुरक्षामा समेत खलल पुगेको प्रशासनको निष्कर्श छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले धरान लागूऔषध कारोवार र सेवनकर्ताहरुका कारण पनि असुरक्षित रहेको बताएका छन् । भने रातभर होटल सञ्चालन गरी मादक पदार्थ विक्रि गर्दा आगामी निर्वाचनलाई असर पुग्ने पनि बताए ।
‘धरानको शान्ति सुरक्षालाई कमजोर हुन नदिनका लागि १० बजेसम्म मात्र होटल सञ्चालन गर्न दिने नियम बनाएका हौं’, उनले भने ।
रात्रिकालीन व्यवसायका कारण चोरी डकैती र व्यक्ति हत्याका घटनासमेत हुन सक्ने भन्दै निर्वाचनसम्म राति १० बजेपछि होटल सञ्चालनमा रोक लगाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए । उनले नियम उल्लंघन गरेको पाइए होटल सञ्चालकलाई कारवाही गरिने चेतावनी दिए।