आठ वर्षीया बालिका बलात्कृत : घटना गाउँमै ‘मिलापत्र’


३ श्रावण २०७९, मंगलवार
Rape
सांकेतिक तस्वीर

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका-६ मा एक आठ वर्षीया बालिकालाई बलात्कृत भएको घटना ६ महिनापछि बाहिरिएको छ । लामो समयसम्म गाउँमै ‘गुपचुप’ राखिएको घटना सार्वजनिक भएको हो ।

कानेपोखरी-६ का ४३ वर्षीय काजीमान पुरीले गत माघ ५ गते बालिकालाई बलात्कार गरेको खुलेको छ । घटना सार्वजनिक भएपछि प्रहरीले पुरीलाई पक्राउ गरेको छ । मौखिक रूपमा मिलापत्र गरेर गाउँमै ‘गुपचुप’ पारिएको घटना ६ महिनापछि बाहिरिएको छ ।
‘बालिकालाई ६ महिनाअघि बलात्कार गरेको पत्ता लागेको छ,’ मोरङ प्रहरीका डीएसपी राजन कार्कीले भने, ’घटना सार्वजनिक हुने वित्तिकै आरोपीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ ।’

कार्कीका अनुसार पुरीले आफ्नै घरमा लगेर बालिकालाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । बलात्कारका बारेमा स्थानीयले थाहा पाएपछि घटनालाई बाहिर नल्याउने शर्तमा सोही दिन मौखिम रूपमा मिलापत्र गराइएको रहेछ । डीएसपी कार्कीले पीडित बालिकाका अभिभावकले दिएको किटानी जाहेरीका आधारमा बलात्कारमा संलग्न पुरीलाई सोमबार पक्राउ गरिएको जानकारी दिए । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन मंगलबार म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । पीडित परिवारले गत असार ३० गते प्रहरीमा जाहेरी दिएका हुन् ।

कार्कीले बलात्कारलाई ’गुपचुप’ राखिएको विषयमा अनुसन्धान भइरहेको र घटना लुकाउन भूमिका खेल्नेहरुलाई निगरानीमा राखिएको जानकारी दिए । पुरीले गत माघ ५ गते बालिकालाई बलात्कार गरेको स्थानीयले बताए । घटनालाई बाहिर नल्याउने शर्तमा सोही दिन गाउँका अगुवाले धाकधम्की दिँदै पीडित बालिकाकी आमालाई क्षतिपूर्तिवापत केही रकम दिलाएको पनि प्रहरीले जनाएको छ । घटना हुँदा पीडितका बुबा घरमा थिएनन् । जागिरको शिलशिलामा मोरङ बाहिर रहेका बुबा घरमा आएपछि मात्रै घटना सार्वजनिक भएको हो ।

‘म घरभन्दा बाहिर थिएँ । यो घटनाका बारेमा मलाई कसैले सुनाएनन्,’ बालिकाका बुबाले भने,’ छोरीलाई पिसाबमा समस्या भएपछि पटक-पटक डाक्टरलाई देखाएँ । पछि छोरीले घटनाका बारेमा सुनाइन् ।’ बिरामी परेकी छोरीलाई पिसाब गर्नसमेत गाह्रो हुन थालेपछि सोधीखोजी गर्दा बलात्कार भएको थाहा पाएको उनले सुनाए । उनका अनुसार घरमा श्रीमती र छोरी मात्रै थिए । घटना सार्वजनिक गरेमा ज्यान मार्ने धम्की आएका कारण श्रीमतीले पनि बलात्कारको विषयलाई बाहिर ल्याउन नसकेको उनको भनाइ छ ।

‘ज्यान मार्ने धम्की आएका कारण श्रीमतीले मलाई सुनाइनन्,’ उनले भने, ’घरमा आमा- छोरी मात्रै बस्छौ, कसैलाई सुनाए ठीक हुँदैन भन्ने धम्क्याएका रहेछन् ।’ छोरीले पनि लामो समयसम्म आफूलाई नभनेको उनले बताए । आफूले घटनाका बारेमा थाहा पाउने वित्तिकै प्रहरीलाई खबर गरेको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७