साफ यू–२० च्याम्पियनसिप नेपालले आज भारतसँग खेल्ने


१५ श्रावण २०७९, आईतवार
u20 nepal k1658909406

काठमाडौं , भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपालले तेस्रो खेलमा आइतवार घरेलु टोलीसँग खेल्दैछ ।

भुवनेश्वरमा भइरहेको खेल कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे शुरू हुनेछ । नेपाल आजको खेल जित्दै फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिदै छ ।

यसअघिको दुई वटा खेल जितेको टोली उच्च आत्मविश्वासका साथ मैदान उत्रने प्रशिक्षक मेघराज केसीले बताए । नेपालले यसअघि माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको थियो । भारतले भने यसअघि मिश्रित नतिजा निकालेको छ । पहिलो खेलमा बंगलादेशसँग २–१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलंकालाई ४–० ले पराजित गरेको थियो । फाइनल पुग्नका लागि दुवै टोलीलाई यो खेल महत्वपूर्ण छ ।

भारतलाई हराएमा नेपाल लगभग फाइनल पुग्नेछ । भारतलाई पनि फाइनल पुग्ने सम्भावना कायम राख्न नेपालविरुद्ध खेल जित्नै पर्नेछ दबाब छ । पाँच राष्ट्र सहभागी च्याम्पियनसिप सिंगल राउण्ड रोविन लिगका आधारमा भइरहेको छ । सहभागी टोलीले एकआपसमा खेलेपछि धेरै अंक जोड्ने दुई टोलीले फाइनल खेल्नेछन् ।

तीन खेल जित्दै ९ अंक जोडेको बंगलादेश शीर्ष स्थानमा छ । दुई खेलबाट ६ अंक जोडेर नेपाल दोस्रो स्थानमा छ । भारत दुई खेलबाट ३ अंकसहित तेस्रो स्थानमा छ । माल्दिभ्स र श्रीलंका अंकविहीन छन् । माल्दिभ्स र श्रीलंकाबीच पनि आइतवार नै खेल हुने छ । उनीहरूबीचको खेल सवा ४ बजे शुरू हुनेछ । माल्दिभ्सले लगातार दुई र श्रीलंकाले लगातार तीन खेल हारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७