कुवेतमा सयौं नेपाली चेली बेच्ने ‘मोस्ट वान्टेड’ दम्पति पक्राउ
काठमाडौं, ७ जेठ । नेपाली युवतीहरुलाई कुवेत लगेर बेचबिखन गर्ने ‘मोसट वान्टेड’ दम्पती पक्राउ परेका छन् ।
सिन्धुपाल्चोक ठुलोपाखरकी मिना लामा र उनका श्रीमान श्यामकुमार लामालाई दुबईको प्रहरीले कुवेतबाट पक्राउ गरेको हो ।
उनीहरुविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो । उनीहरुले कुबेतमा बसेर सयौं नेपाली चेलीहरुलाई बिक्री गरेको प्रहरी अनुमान छ ।
पक्राउ परेकी मिनालाई प्रहरीले इन्टरपोलको सहयोगमा आइतबार नेपाल ल्याएको छ भने उनका श्रीमानलाई आगामी साता ल्याउने तयारी भइरहेको छ । महानगरीय अपराध महाशाखाका डिएसपी मनोहर भट्टका अनुसार उनीहरुले सिन्धुपाल्चोककै प्रिती तामाङलाई कुबेत लगेर बेचेका थिए । प्रितीलाई कुबेत लगेर बेच्ने विजय तामाङलाई गत भदौमा महाशाखाले पक्राउ गरी मुद्दा दायर गर्दा सो गिरोहका नाइके मिना र श्याम भएको खुलेको थियो । उनीहरु कुवेतमै बसेर यस्तो धन्दामा सक्रिय रहेका खुलेपछि नेपाल प्रहरीले रेड कर्नर नोटिसका लागि प्रक्रिया अघि बढाएको थियो ।