कांग्रेसमा दोहोरिए १९ नेत्री
काठमाडौं : नेपाली कांग्रेसले दोस्रो संविधानसभामा निर्वाचन, २०७४ मा समानुपातिकतर्फ उम्मेदवार बनेका दुई दर्जनजति नेतालाई प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सोही सूचीमा दोहो¥याएको छ । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा दोस्रो संविधानसभाको बन्दसूचीमा परेका १९ महिला नेत्रीलाई अहिले पनि मौका दिएको हो।
यसरी दोहोरिएका महिला नेत्रीमा सुजाता कोइराला, चित्रलेखा यादव, शीला खड्का, दीपशीखा शर्मा, महेन्द्रकुमारी लिम्बु, मीना सुब्बा, डिला संग्रौला, उमा रेग्मी, रुक्मणिदेवी कोइराला, कल्याणी रिजाल, मञ्जु खाँण, मैना कार्की, सुजाता परियार, लक्ष्मी परियार, विमला नेपाली, आशा विक, मीनाक्षी भा, नगिना यादव, मनोरमा शेरचनलगायत छन् ।
यसैगरी समानुपातिक सूचीमा दोहोरिने पुरुष नेताको संख्या सात छ । मानबहादुर विक, मीनबहादुर विक, दिव्यमणि राजभण्डारी, लालकाजी गुरुङ, जीवनप्रेम श्रेष्ठ, नरभान कामी दोहोरिएका पुरुष नाम हुन्।
समानुपातिक उम्मेदवार सूचीमा दोहोरिएका सुजाता, चित्रलेखा, मीनबहादुर, मानबहादुर, आशासहित आधा दर्जन बढी यसअघि पनि सांसद् बन्न सफल भएका थिए । तत्कालीन महिला संघकी अध्यक्ष संग्रौला, व्यवसायी भण्डारी, मञ्जु खाँणसहितका नेता भने सांसद् बन्नबाट बञ्चित भएका थिए।
मधेसी सूचीको पहिलो नम्बरमा विनोद चौधरी
समानुपातिकतर्फको ९१ नम्बर क्रमसूचीमा रहेका उद्यमी विनोद चौधरी मधेसी पुरुषतर्फ पहिलो नम्बरमा परेका छन् । निर्वाचन कार्यतालिकाअनुसार पहिलो बन्दसूची आयोगमा बुझाएपछि मात्र कांग्रेस सभापति शेरबहादुर देउवाले चौधरीलाई पार्टीमा स्वागत गरेको पत्र पठाएका थिए । मधेसीतर्फ विनोदपछि स्मृतिनारायण चौधरी, नागेन्द्रकुमार राय, रामचन्द्र तिवारी र लक्ष्मण रायको नाम राखिएको छ।
सूचीमा कांग्रेसले मधेसी महिला कलस्टरको पहिलो नम्बरमा पार्टी कोषाध्यक्ष सीतादेवी यादव र दोस्रो नम्बरमा पूर्वकोषाध्यक्ष चित्रलेखा यादवलाई राखेको छ । मधेसी महिलाको सूचीमा क्रमशः तेस्रो, चौथो र पाँचौं नम्बरमा मीनाक्षी झा, रीतादेवी गुप्ता कलवार र नगिना यादवको नाम छ।
खस आर्य महिलामा सुजाता अगाडि
पहिलो संविधानसभामा सुनसरीबाट पराजित भएपछि दोस्रोमा समानुपातिक सभासद बनेकी सुजाता कोइरालाको नाम खस आर्य महिलाको पहिलो नम्बरमा छ । केन्द्रीय सदस्य पुष्पा भुसााल, डिला संग्रौलाको नाम दोस्रो र तेस्रो नम्बरमा छ । त्यसपछि मीना पाण्डे, उमा रेग्मी, दीपशीखा शर्मा, रुक्मणीदेवी कोइराला, मञ्जु खाँण, शीला खड्का र कल्याणी रिजालको नाम क्रमशः छ।
खस आर्य पुरुषमा बालकृण पहिलो
खस आर्य पुरुषको पहिलो सूचीमा बालकृष्ण खाँण र दोस्रोमा दिलेन्द्रप्रसाद बडूलाई राखिएको छ । तेस्रो नम्बरमा रहेका केन्द्रीय सदस्य किशोरसिंह राठौर अपांगता समूहमा छन् । राठौरलाई खस आर्य समूहबाट अलग गर्ने हो भने सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहनप्रसाद पाण्डे तेस्रो, चौथो र पाँचौ नम्बरमा पर्छन् । केही दिनअघि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरेका केसीलाई कांग्रेसले खस आर्य पुरुषतर्फको चौथो नम्बरमा राखेको छ।
आदिवासी जनजातिमा बहादुरसिंह पहिलाा
पार्टी केन्द्रीय सदस्य एवं निवर्तमान सांसद् बहादुरसिंह लामालाई आदिवासी जनजाति पुरुषतर्फ पहिलो स्थान दिएको कांग्रेसले त्यसपछि क्रमशः कर्मा घले, उमेश श्रेष्ठ लालकाजी गुरुङ र जीप छिरिङ लामालाई राखेको छ । अघिल्लो पटक समानुपातिक सूचीमा परेर पनि सांसद् बन्न नपाएका दिव्यमणि राजभण्डारीलाई भने यो समूहअन्तर्गत छैटांै नम्बरमा राखिएको छ । महिलातर्फ निवर्तमान सांसद् ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बु, हीरा गुरुङ र मीना सुब्बाको नाम क्रमशः एकदेखि पाँचौ नम्बरमा छ।
दलित पुरुषमा मानबहादुर पहिलो
निवर्तमान सांसद एवं केन्द्रीय सदस्यद्वय मानबहादुर विक र मीन विक दलित पुरुषको क्रमशः पहिलो र दोस्रो नम्बरमा छन । तेस्रो नम्बरमा प्रकाश रसाईली र चौथौंमा नरभान कामीको नाम छ । सुजाता परियार, लक्ष्मी परियार र विमला नेपालीको नाम दलित महिलाको पहिलो तीन नम्बरमा छ । यी तीनैजनाको नाम दोस्रो संविधानसभा समानुपातिक सूचीमा पनि थियो।
थारु पुरुषमा पद्मनारायण पहिलो
थारु पुरुषको पहिलो नम्बरमा पद्मनारायण चौधरी र थारु महिलातर्फ पहिलो नम्बरमा पार्वती डिसी चौधरीको नाम छ । यसैगरी दुवैतर्फ दोस्रो नम्बरमा हरिनारायण चौधरी र नमिताकुमारी चौधरीलाई राखिएको छ।
रामबहादुर बिष्टलाई पिछडिएको क्षेत्रबाट पहिलो नम्बरमा राखिएको छ भने रंगमती शाही यो समूहको महिलातर्फ पहिलो नम्बरमा छिन्।
त्यस्तै मुस्लिम समुदायबाट पुरुषतर्फ पहिलो नम्बरमा अत्तहर कमाल मुसलमान र सोही समुदायबाट महिलातर्फ पहिलो नम्बरमा सर्वत आरा खानमको नाम छ ।
-नागरिक दैनिकबाट