सिपिएलमा सन्दीपको जादु जारी, एकै ओभरमा लिए दुई विकेट


३१ श्रावण २०७५, बिहीबार
sandeep lamichhane 1

काठमाडौं, ३१ साउन । नेपाली युवा क्रिकेट खेलाडी स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा आफ्नो जादु कायमै राखेका छन् । बिहीबार बिहान भएको जमाइका तल्लावाजविरुद्ध सन्दीपले २१ रन खर्चेर २ विकेट लिए ।

सेन्ट किट्स एन्ड नेभीस प्याट्रियट्सबाट सिपिएल खेलिरहेका सन्दीपले जमाइकाका ओपनर केनर लेविस २३ बलमा ४९ रनको आक्रमक इनिङ्स खेलिरहँदा आउट गरे । उनलाई कुपरको हातबाट क्याच आउट गराए ।

त्यसको दुई बलमै उनले आन्द्रे मकार्थीलाई क्लिन बोल्ड गरे । सन्दीपले ४ ओभरमा २१ रन खर्चेर दुई विकेट लिए । उनले राम्रो गरेपनि प्याट्रियट्सका अन्य खेलाडीले राम्रो गर्न नसक्दा पराजित हुनुपर्यो ।

जमाइकाले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७८ रनको योगफल खडा गरेको थियो । जवाफमा प्याट्रियट्सले ९ विकेट गुमाउँदै १ सय ३१ रनमात्र बनाउन सक्यो । कप्तान तथा ओपनर क्रिस गेलले २४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

सन्दीपले प्रतियोगिताको तीन खेलमा ५ विकेट लिइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७