सुरु भयो किराती समुदायको महान चाड उधौली (फोटोफिचर)
काठमाडौं : किराती समुदायको महान् चाड साकेला उधौली, लिम्बुहरूले चासोक तङनाम, राईहरूले साकेला, याख्खाहरूले चासुवा र सुनुवारहरूले फोलस्याँदर आइतबारदेखि सुरु भएको छ । किराती समुदायको बसोबास रहेको देशदेखि विदेशमा कम्तीमा १५ दिनेसम्म साकेला मनाइनेछ ।
काठमाडौंमा बसोबास गर्ने किराती समुदायले हात्तीवनको किराँत माङहिम्मा (किरात धार्मिकस्थल) मा विधिवत् नयाँ अन्न धान, अदुवा, मर्चा, पानीलगायत मुन्धुविधिअनुसार पूजाआजा गरी उधौली चाड मनाउन सुरु गरेका छन् । भने पूर्वी पहाडी जिल्लाहरूमा साकेला थानमा पूजा गरी सुरु भयो । राई र सुनुवारले हात्तिवनमा पूजा गरी ललितपुरको नख्खिपोटमा कार्यक्रम गरी सामूहिक शिली नाचेका छन् ।
किरात राई यायोख्खा ललितपुर जिल्लाको आयोजनामा यस क्षेत्रको राई र सुनुवारहरुले शिली नाचेका हुन् । कार्यक्रम किरात राई यायोख्खाको कार्यबाहक अध्यक्ष दिवस राईले साकेला उधौली शुभकामना दिँदै साकेला पुर्खाहरू सिकाएका कुराहरूको शिलिको रूपमा प्रस्तुत गरिआए बताए । उनले कृर्षि युगबाट आजको युग सुरु गरेको ठाउँबाट पूजा गरी पुर्खाबाट सिक्दै आएका कुरालाई साकेला उधौलीको रूपमा निरन्तरता दिएको बताए ।
उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ । साकेला पर्वको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदिबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल बजाउँदै साकेला नाच्ने गरिन्छ । सरकारले यो चाड मनाउन मंसिरे पुर्णीमा र वैशाखेपूर्णिमाकिरात चाडकै रूपमा घोषणा गरी सार्वजनिक बिदा दिदैँ आएको छ ।