‘स्वतन्त्र मधेश’ को मुद्दा त्यागेर सीके राउत मूलधारको राजनीतिमा, नेकपामा प्रवेश गर्न लागेका हुन् ?


२४ फाल्गुन २०७५, शुक्रबार
ck

काठमाडौं, २४ फागुन । पटक–पटक ‘राज्य विप्लव’ विरुद्धको मुद्दा झेल्दै आएका सीके राउत पछिल्लो समय आफैले चलाएको अभियानबाट गल्दै गएका छन् ।

ck

दुई दिनअघि मात्र सर्वोच्च अदालतले थुनामुक्तको आदेश पाएका सीके राउत अब स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधिबाट अलग हुने भएका छन् । अब राउतले ‘अखण्ड’ नेपाल स्वीकार्दै पृथकतावादी सबैखाले गतिविधि परित्याग गर्न तयार भएका छन् । पछिल्लो समय भित्रभित्रै सरकारसँग नजिकिंदै आएका र पृथकतावादी गतिविधि त्याग्न तयार भएका सिके राउतले आजैबाट यस्ता गतिविधि त्याग्ने भएका छन् ।

आज (शुक्रबार) अपरान्ह १ बजे राष्ट्रिय सभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्वोधन गर्दै सीके राउतले पृथकतावादी गतिविधि समाप्त गरेको घोषणा गर्ने कार्यक्रम रहेको छ । बिहीबार मात्र सर्वोच्चको आदेशपछि थुनामुक्त भएका राउतले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्वोधनसँगै सीके राउतले नेतृत्व गर्दै आएको स्वतन्त्र मधेस गठनबन्धन समेत आजैबाट विघटन हुनेछ ।

राष्ट्रिय सभागृहको सम्वोधनमा सीके राउत समेत उपस्थित हुनेछन् । प्रधानमन्त्री केपी शर्मा ओली र सीके राउत आज एउटै मञ्चमा हुने भएका छन् । सीके राउत र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका केपी शर्मा ओलीबीचको यो पछिल्लो निकटताले के सीके राउत अब नेकपामा प्रवेश गर्न लागेका हुन् त भन्ने जिज्ञासा उत्पन्न भएको छ ।

तर, सीके राउत तत्काल नेकपामा प्रवेश गर्ने कार्यक्रम भने नरहेको राउत निकट स्रोतले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले राष्ट्रिय महत्वको कार्यक्रम रहेको र यसका लागि सम्बोधन गर्न प्रधानमन्त्री जान लागेको बताएका छन् । प्रधानमन्त्रीका सल्लाहकार अर्यालले मिडियालाई प्रत्यक्ष प्रशारणका लागि आह्वान समेत गरेका छन् ।

राउतको विषयमा निर्णय गर्न नेकपाको सचिवालय बैठक बसिरहेको छ । बैठकले राउतको विषयमा धारणा बनाउने छ । प्रधानमन्त्रीले गर्ने सम्बोधनको विषय पनि बैठकले तय गर्ने जनाइएको छ ।

राउतले झण्डै एक दशकदेखि मधेश छुट्टै प्रदेशको अभियान चलाएका थिए । यसका लािग उनले लडाकु दस्ता समेत तयार पार्न थालेका थिए । मुलुक नै टुक्राउने अभियान चलाएका कारण उनी पटक–पटक पक्राउ परेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७