नक्कली भ्याटबिल प्रयोग गर्नेमा सेनाका ठेकेदार बिजय श्रेष्ठ पनि मुछिए


२५ चैत्र २०७५, सोमबार
bijaya shrestha

काठमाडौं, २५ चैत । नक्कली भ्याटबिल प्रयोग गरी राष्ट्रको राजस्वमा हानीनोक्सानी पुर्याउनेहरुमा निर्माण ब्यवसायीका अलावा सेना र प्रहरीमा सामान आपूर्ति गर्ने ठेकेदार पनि संलग्न रहेको खुलासा भएको छ । राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा नक्कली भ्याटबिलबाट अहिलेसम्म ६ अर्ब रुपैयाँ राजस्व अपचलन गरेको देखिएको छ ।

bijaya shrestha
ठेकेदार बिजय श्रेष्ठ

राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार नक्कली भ्याटबिलबाट अहिलेसम्म करिब ६ अर्ब रुपैयाँ करछली भएको देखिएको छ । नक्कली मूल्य अभिबृद्धि कर(भ्याट) बिल बिक्री गरी अरबौं रुपैयाँ राजस्व हानीनोक्सानी पु¥याउने गिरोहका मुख्य दोषी जयकिशोर साह र परमेश्वर साहलाई राजस्व अनुसन्धान विभागले २०७५ फागुन २१ मा मुद्दा दायर गरिसकेको छ । विभागले साहद्वयसहित उनीहरुले दर्ता गरेका २४ कम्पनीका संचालकविरुद्ध १ अर्ब ७५ करोड रुपैयाँ बिगो कायम गरी जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । निम्न आय भएका मजदुरहरुलाई प्रलोभन दिएर उनीहरुका नाममा कम्पनी दर्ता गरी साहद्वयले आफूलाई कर्मचारीको रुपमा प्रस्तुत गरी चेक संचालन गरी ३ देखि ५ प्रतिशत रकम लिएर भ्याटबिल बिक्री गर्दैआएको विभागको अनुसन्धानमा देखिएको मैनालीले बताएका छन् ।

राजस्व अनुसन्धान विभागले ६ अर्ब भ्याटबिल बिक्री गर्ने गिरोहका मूल नाइके जयकिशोर साह र परमेश्वर साहलाई पक्राउ परेपछि ती बिल किन्ने करिब ५ सय फर्महरुको छानबिन सुरु गरेको छ । नक्कली भ्याटबिलबाट ६ अर्ब करछली गर्नेमा खानी निर्माण सेवाका रत्न गौतम निकटस्थ ठेकेदारहरु बढी रहेको स्रोतले बताएको छ । गौतमले आफंैले नक्कली भ्याटबिल प्रयोग गरेका छैनन् । तर उनी नै संलग्न अरु कम्पनीले नक्कली भ्याटबिल प्रयोग गरेकाले उनी जोगाउन हारगुहार गर्दै नेताहरुकोमा धाइरहेका छन् ।

स्रोतका अनुसार जयकिशोर र परमेश्वरबाट नक्कली भ्याटबिल लिनेमा नेपाली सेनामा सामान आपूर्ति गर्दैआएका ठेकेदार विजय श्रेष्ठ पनि छन् । न्यू क्रियसनका संचालक बिजय श्रेष्ठले साहहरुबाट भ्याटबिल किनेर करछली गरेकोमा राजस्व अनुसन्धान विभागमा बयानका लागि धाइरहेका छन् । नक्कली भ्याटबिल प्रयोग गर्ने बिजय श्रेष्ठ राजस्व अनुसन्धान विभागको कारबाहीबाट जोगिनका लागि शक्तिकेन्द्र धाइरहेका छन् ।
श्रेष्ठले पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीको पालामा सेनापति निवास झम्सिखेलमा आवश्यक सामान आपूर्तिदेखि सेनाको वेभ इक्युपमेन्ट ब्यागको ठेक्का लिएका थिए । वाटरप्रुफ हुनुपर्ने वेभ इक्वीपमेन्ट ब्याग गुणस्तरहीन र पानी सबै छिर्ने भएको बारेमा गुनासो आए पनि सेनाले सुनेको नसुन्यै गरी भुक्तानी दिएको थियो । रक्षामन्त्री इश्वर पोखरेलको सालो नाता पर्ने हुँ भन्दै उनी अहिले सेनाका अतिरिक्त प्रहरीका ठेक्का पनि हात पार्न थालेका छन् । रक्षामन्त्री पोखरेलको नाम लिएपछि सेनाको वेभ इक्युमेन्ट ब्याग (गोलीगट्ठा, रासन र पानी बोक्ने) खरिदका क्रममा सबैभन्दा कम दरमा टेण्डर हाल्ने कम्पनीलाई नदिई बढी दर पेश गर्ने न्यू क्रियसनलाई ठेक्का दिइएको थियो । बढी दरमा टेण्डर हाल्ने न्यू क्रियसनले मापदण्ड अनुसारको ब्याग नदिई पानी छिर्ने गुणस्तरहीन ब्याग सेनालाई बुझाएको थियो ।

यो पनि पढ्नुहोस्ः

६ अर्बको नक्कली भ्याटबिल प्रयोग गर्ने ५ सय ब्यवसायी को को हुन् ?


प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७