६ अर्बको नक्कली भ्याटबिल प्रयोग गर्ने ५ सय ब्यवसायी को को हुन् ?


२५ चैत्र २०७५, सोमबार
rib

काठमाडौं, २५ चैत । नक्कली मूल्य अभिबृद्धि कर(भ्याट) बिल बिक्री गरी अरबौं रुपैयाँ राजस्व हानीनोक्सानी पु¥याउने गिरोहका मुख्य दोषी जयकिशोर साह र परमेश्वर साहलाई राजस्व अनुसन्धान विभागले २०७५ फागुन २१ मा मुद्दा दायर गरिसकेको छ ।

rib

विभागले उनीहरुलाई २०७५ माघ ४ मा नियन्त्रणमा लिएको थियो । विभागले अनुसन्धान गरी साहद्वयसहित उनीहरुले दर्ता गरेका २४ कम्पनीका संचालकविरुद्ध १ अर्ब ७५ करोड रुपैयाँ बिगो कायम गरी जिलला अदालतमा मुद्दा दायर गरेको छ ।

४५ दिनभन्दा बढी थुनामा राख्न नपाइने भएकाले प्रारम्भिक अनुसन्धान गरी १ अर्ब ७५ करोड बिगो कायम गरी मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले बताएका छन् ।

‘विभागले विस्तृत अनुसन्धान गरिरहेका छ, नक्कली भ्याट बिक्री गरी करिब ६ अर्बभन्दा बढी राजस्व छली भएको अनुमान छ । आर्थिक बर्ष २०७३÷०७४ देखिका नक्कली भ्याटबिल फेलापरेको छ । त्योभन्दा अघिदेखि नै नक्कली भ्याटबिल जारी गरेकोबारेमा हामी अनुसन्धान गरिरहेका छौं ।’

अरबौंको बिल बिक्री, कम्पनीका संचालक अनभिज्ञ
बारा, पर्सातिरका निम्न आय भएका मजदुरलाई प्रलोभनमा पारी उनीहरुबाट नागरिकता लिने, कम्पनी र करमा दर्ता गरी उनीहरुको नाममा बैंकमा खाता खोल्ने गरेका थिए । बैंकखाता खोलिसकेपछि जयकिशोर साह र परमेश्वर साहले आफूलाई कर्मचारीको रुपमा प्रस्तुत गरी फर्म संचालक र आफ्नो दुवैको दस्तखत कार्ड पेश गर्थे । र, कुनै एकजनाको दस्तखतबाट बैंक कारोबार गर्ने गरेको राजस्वले गरेको अनुसन्धानबाट खुलेको छ ।

बैंक खाता संचालक वा कर्मचारीमध्ये एकको हस्ताक्षरमा चल्ने निर्णय गराइसकेपछि चेक जयकिशोर र परमेश्वरले संचालन गर्दैआएका थिए । बैंक खाता खोलिसकेपछि भ्याटबिल छाप्दै बिक्री गरी ३ देखि ५ प्रतिशत रकम लिने गरेका थिए । जति रकमको भ्याटबिल जारी गरेको हो, त्यसबाट ३ देखि ५ प्रतिशत रकम एकाउन्टपेयी चेकबाट बैंकमा जम्मा गरी निकाल्ने गरेका थिए ।

१५ करोड रुपैयाँको नक्कली भ्याटबिल बिक्री गर्दा उनीहरुले ५ प्रतिशतका दरले ७५ लाखको चेक लिएर बैंकमा जम्मा गरी भोलिपल्टै निकाल्ने गरेका थिए । जयकिशोर र परमेश्वरले नक्कली भ्याटबिल बिक्री गर्न खोलिएका सबै कम्पनीमा उनीहरु कर्मचारीका रुपमा रहेका छन् । र, चेक उनीहरुले नै जम्मा गरी बैंकबाट रकम निकालेको पाइएको विभागले जनाएको छ ।

कम्पनीका वास्तविक संचालकले आफ्नो नाममा जयकिशोर र परमेश्वर साहले कम्पनी दर्ता गरी भ्याट बिल छापेर बिक्री गरी अरबौं रुपैयाँ छली गरेको पत्तै पाएनन् । जब राजस्व अनुसन्धान विभागले उनीहरुको सम्पर्क नम्बरमा फोन गरी नक्कली भ्याटबिल बिक्री गरेकोबारेमा उनीहरुसँग सोधपुछ ग¥यो, उनीहरु कोही भैंसी चराइरहेका, कोही मजदुरी गरिरहेको भन्थे । विभागले उनीहरुलाई तपाईंहरुको नाममा कम्पनी दर्ता छ, यति रकम राजस्व छली गरिएको फेलापरिसकेको छ भन्दा उनीहरुले ‘सर ठट्टा गरिलिनुहुन्छ’ भनेर विश्वास नै गरेनन् ।

जयकिशोर र परमेश्वरले बारा र पर्साका सोझासिधा मुस्लिम, मधेशी समुदायका नागरिकलाई ललाई फकाई कम्पनी दर्ता गरेको देखिएको छ । उनीहरुले नक्कली भ्याटबिल बिक्री गर्न एउटै ब्यक्तिका नाममा ३ वटा भन्दा बढी कम्पनी खोलेको देखिएको छ ।

ज्याला मजदुरी गर्ने अनपढ व्यक्तिहरुलाई प्रलोभनमा पारी उनीहरुको नाममा कम्पनी खोली त्यस्ता कम्पनीबाट वास्तविक रुपमा मालबस्तुको खरिद बिक्री कारोबार नै नगरी झुट्टा बिजक जारी गरी राजस्व चुहावट गर्ने मुख्य नाइक जयकिशोर र परमेश्वर साहका कारण अनाहकमा निर्दोषहरु पनि संजायको भागिदार हुनुपरेको छ ।

राजस्व अनुसन्धान विभागले लामो अध्ययन, विश्लेषण तथा सुक्ष्म अनुसन्धानको प्रयासबाट झुट्टा तथा नक्कली बिल बिजकहरुको कारोबार गर्ने गिरोहका जयकिशोर र परमेश्वर साहलाई पक्राउ गरी तिनीहरुलाई अनुसन्धानको दायरामा ल्याइसकेपछि ती भ्याट बिल प्रयोग गर्नेहरुको बारेमा पनि अनुसन्धान गरिरहेको छ, यो समाचार आजको साँघु साप्ताहिकले लेखेको छ ।

dg
महानिर्देशक दीर्घराज मैनाली

महानिर्देशक मैनालीले भने, विभागका साथीहरुले रातदिन लगाई अनुसन्धान गरेर मुद्दा दायर गर्न सफल भएका छौं । पहिलो चरणको अनुसन्धान गरी १६ जनाविरुद्ध मुद्दा दायर गरिसकेका छौं ।

अब ती भ्याटबिल प्रयोग गर्नेहरुको बारेमा अनुसन्धान भइरहेको छ । प्रमाण नष्ट गर्नसक्ने भएकाले अनुसन्धान नटुंगी नक्कली भ्याटबिल प्रयोगकर्ताहरुको नाम गोप्य नै राखिएको हो, मैनालीले भने–‘पाँच सय जनाको अनुसन्धान गर्न विभागलाई समय लाग्छ । तर नक्कली भ्याटबिल प्रयोग गरी राष्ट्रलाई हानी पु¥याउनेलाई विभागले छाड्दैन ।’

नक्कली भ्याटबिलका दोषीहरु शक्तिकेन्द्र गुहार्दै
राजस्व अनुसन्धान विभागले ६ अर्ब भ्याटबिल बिक्री गर्ने गिरोहका मूल नाइके जयकिशोर साह र परमेश्वर साहलाई पक्राउ परेपछि ती बिल किन्ने करिब ५ सय फर्महरुको छानबिन सुरु भएको छ । नक्कली भ्याटबिलबाट ६ अर्ब करछली गर्नेमा खानी निर्माण सेवाका रत्न गौतम निकटस्थ ठेकेदारहरु छन् । गौतमले आफंैले नक्कली भ्याटबिल प्रयोग नगरे पनि उनी नै संलग्न अरु कम्पनीसमेत संलग्न रहेकाले विभागले छानबिन गरिरहेको छ ।

विभागले अनुसन्धान गरेपछि ठेकेदारहरुलाई कारबाहीबाट बचाउन माग गर्दै गौतम प्रधानमन्त्री केपी शर्मा ओलीदेखि नेकपाका महासचिव विष्णु पौडेलसँग पनि हारगुहार गरिरहेका छन् । ६ अर्ब भ्याटबिल प्रयोग गर्नेहरुलाई उन्मुक्ति दिन जुनसुकै निकायबाट दबाब आए पनि कारबाही गरेरै छाड्ने राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए । उनले भने–‘प्रमाण नष्ट गर्नसक्ने भएकाले नाम गोप्य राखेका हौं । अनुसन्धान भइरहेको छ । नक्कली भ्याटबिलका कारण राष्ट्रको अर्थतन्त्र नै खोक्रो पारिएकाले उनीहरुलाई कुनै हालतमा उन्मुक्ति दिइनेछैन ।

प्रधानमन्त्रीज्यूले सुशासन कायम गर्ने विभागको अभियानमा पूरापूर साथ र सहयोग गर्नुभएको छ ।’
महानिर्देशक मैनालीले भने–‘यो बर्ष नक्कली भ्याटबिल बिक्री गर्ने दोषीहरु पक्राउपछि २ अर्ब सरकारी रकम दुरुपयोग रोकिने अनुमान गरेका छौं ।

जनताले तिरेको करमा यस किसिमको बदमासी गर्नेलाई कडाभन्दा कडा कारबाही हुन्छ । पहिलो चरणको अनुसन्धान सकेर १ अर्ब ७५ करोड रुपैयाँ बिगो कायम गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिसकिएको छ । भ्याटबिल बिक्री गर्नेमात्र होइन, सामान किन्दै नकिनी भ्याटबिल बनाएर करछली गर्नेहरुविरुद्ध अनुसन्धान गरी मुद्दा दायर गर्नेछौं ।’

‘निम्न आयस्तर भएका मजदुर र किसानका नाममा कम्पनी दर्ता गर्ने नक्कली भ्याटबिल छापेर बिक्री गर्नेहरुले त्यस्तो कम्पनीको कारोबार एक दुई बर्षपछि बन्द गरी पुनः अर्कोबाट गर्दैआएको खुलेको छ । कारोबारमा तलमाथि हुनसक्ला तर सून्य कारोबार त हुँदैन । तीन बर्षदेखि नक्कली भ्याटबिल छापेर बिक्री गर्ने गिरोह सक्रिय भएको भेटिएको छ । त्यो भन्दा अघि पनि थियो कि थिएन अनुसन्धान गरिरहेका छौं, मैनालीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७