डेरीले फिर्दै ‘दिन’

बदलियो सोंच, बदलिंदै गाउँ


१२ बैशाख २०७६, बिहीबार
dairy factary डेरीले फिर्दै ‘दिन’

काठमाडौं, १२ बैशाख । चार वर्षअघिसम्म इलाम सन्दकपुर–३ का सुनिल खतिवडाको धेरैजसो समय साथीभाइसँगको जमघट र हाँसीमजाकमा बित्यो । तर, अहिले सुनिललाई अलमलिने समय छैन ।

घरमा डेरी र गाई फार्म खोलेपछि अहिले सुनिलको दैनिकी फेरिएको मात्र छैन सुखका दिन पनि फिर्न थालेको छ । डेरी र गाई फार्मको स्याहार गर्दागर्दै पहिला जस्तो बिना काम डुलिहिंड्ने फूर्सद नै हुँदैन । तीन वर्षअघि ५० हजार लगानीमा खोलिएको सुनिलको डेरीमा अहिले गाउँघरबाट दैनिक दुई सय ५० लिटर दूध संकलन हुन्छ । आधा दिन डेरीमा र अरु समय गाई फार्मको हेरचाहमा दिने सुनिलको डेरीमा घ्यू र छुर्पी उत्पादन हुन्छ ।

Dery Photo
डेरीमा काम गर्दै इलामका युवा । विगतमा खेलेरै दिन बिताउने युवा अहिले गाउँकै यस्ता साना उद्योगमा रोजगार बनेका छन् ।

शुरुमा गाई फार्म मात्र चलाएका सुनिलले गाई फार्मसँगै डेरी उद्योग पनि चलाउँदा फाइदा हुने सुनेपछि डेरी शुरु गरेको सुनाए । ५० हजारबाट शुरु गरेको सुनिलको डेरीमा मात्र अहिले तीन लाख बढी लगानी छ । डेरी र फार्मबाट अहिले महिनामा तीन लाख जति आम्दानी भइरहेको जानकारी दिंदै सुनिलले सुनाए, ‘सबै खर्च कटाउँदा पनि महिनामा ३५–४० हजार चोखो कमाई हुन्छ ।

यसैले घरबार चलिरहेको छ ।’ २३ वर्षका सुनिल डेरी खोलेर आफै मात्र स्वरोजगार बनेका छैनन् केहिलाई रोजगारी पनि दिएका छन् । ७० रोपनी आफ्नो र पाँच रोपनी लिजमा लिएको जग्गामा फार्मका गाईका लागि घाँस रोपेका सुनिल अब फार्म र डेरीमा दुई लाख लगानी गरेर अलि बढाउने सुरमा छन् ।

Reenji Cheej Photo 1
इलामको देयरालीस्थित प्रशान्त डेरीका मालिक रिञ्जी शेर्पा आफ्नो उद्योगमा उत्पादन भएको चीज देखाउँदै ।

सुनिलको डेरीमा उत्पादन भएको घ्यू–छुर्पी घरैबाट व्यापारीले किन्ने गरेका छन् । घ्यू प्रतिकिलो पाँच सय ५० र छुर्पी प्रतिकिलो नौं सय रुपैंयाँमा बिकिरहेको उनी बताउँछन् । १२ कक्षासम्म पढेका सुनिल कृषि क्षेत्रलाई आधुनिक तरिकाले गर्न सके जीविका मात्र होइन जीवन नै बदल्न सक्ने बताउँछन् । घरगाउँमा पैसा कमाउने बाटो नदेख्दा धेरै युवा रोजगारीका लागि विदेशिने गरेको बताउँदै सुनिलले सुनाए, ‘महिनामा ५०–६० हजार कमाउन खाडीमा पसिना बगाउनु पर्दैन । यहिं सानो तिनो उद्यम गर्दा नै त्यति पैसा कमाउन सकिन्छ ।’

चार वर्षअघि ५० हजार रुपैंयाँ जोहो गरेर डेरी उद्योग खोलेका इलाम सन्दकपुर पाउँपालिकाकै केवल राईको जीवनलाई पनि डेरी उद्योगले कायापलट गरिदिएको छ । केवलको डेरीमा पनि दैनिक एक सय ८० लिटर दूधबाट घु्यू–छुर्पी बन्ने गरेको छ ।

पैसा कमाउनका लागि सरकारी जागिर नै नचाहिंने बताउँदै केवलले कुरा खोले, ‘यहि सानो डेरीबाटै म महिनामा ३०–३२ हजार मज्जाले कमाइरहेको छु ।’ विगतको माओवादी युद्धको जगजगीले २५ वर्षकै उमेरमा विदेश जानु परेको सुनाउँदै केवल राई भन्छन्, ‘माओवादी युद्धकै कारण विदेश लागियो, कमाई भने सुक्को भएन दुःख भने भोग्नु भोगियो ।’

विदेशबाट दुःख भोगाईको तितो अनुभव बोकेर गाउँ फर्किएका राईले गाउँ आएपछि गाई पालेर स्थानीय संस्थामा दूध बेच्न थाले । दूधको भने जस्तो मूल्य नपाएपछि उनले संस्थामा दूध नदिई अन्यत्रै बेचे । अन्यत्र दूध बेचेको थाहा पाएपछि संस्थाले आफूलाई निकालेपछि इखैले आफैले डेरी उद्योग शुरु गरेको केवलले सुनाए । अब केहि समयमै डेरीमा दैनिक पाँच सय लिटर दूध संकलन गर्ने लक्ष्य रहेको केवल राई बताउँछन् ।

कक्षा ९ सम्म मात्र पढेका केवल डेरी उद्योगीसँगै छुर्पी व्यापारी समेत हुन् । उनले गाउँलगायत छिमेकी गाउँहरुबाट समेत छुर्पी संकलन गरेर बेच्छन् । इलाम नगरपालिका–४ का पदम राईलाई पनि डेरी उद्योग उद्योग खोलेपछि दोहोरो फाइदा भएको छ । ११ वटा बंगुरसँगै डेरी उद्योग चलाइरहेका राईलाई अहिले बंगुर र डेरी दुबैले राम्रो आम्दानी दिइरहेको छ । तीन लाख लगानीबाट शुरु भएको डेरीमा अब केहि लगानी बढाएर १० लाख पुर्‍याउने योजना पदमसँग छ ।

डेरीबाट उत्पादित घ्यू–छुर्पी बेचेर खर्च कटाएर महिनामा ३० हजार रुपैयाँ सजिलै कमाइने बताउँदै पदमले भने, ‘डेरीबाट खेर गएको दूध बंगुरलाई खुवाइन्छ । यो छुट्टै आम्दानी हो ।’ सुनिल, केवल र पदम जस्तै सानो लगानीमा उद्यमी बन्ने इलाममा धेरै युवाहरु छन् ।

डेरीको उत्पादनलाई सहज रुपमा भारतीय बजारमा पुर्‍याउन सकिने भएपछि अहिले इलामका सीमावर्ती गाउँमा धमाधम डेरी उद्योगहरु खोल्न किसान हौसिएका छन् । इलामको जमुना, माबु, माइमझुवा, प्याङ्ग, जोगमाई, गोर्खे, पशुपतिनगरलगायतका गाउँमा खुलेका डेरी उद्योगहरुले भारतीय रुपैंयाँ भित्र्याइरहेका छन् ।

इलामको जमुनामा मात्र अहिले १९ वटा डेरी उद्योग सञ्चालनमा रहेको स्थानीय कुमार गुरुङ्ग जानकारी दिन्छन् । जमुनाको एउटा गाउँमा मात्र पाँच डेरी उद्योग सञ्चालित छन् । सीमा क्षेत्रका डेरीले उत्पादन गरेको छुर्पी, घ्यू जिल्लाका विभिन्न बजार र भारतको दार्जिलिङ्ग, मिरिक, सिलिगुढीसम्म पुग्ने गरेको छ ।

जिल्ला पशुसेवा कार्यालयको तथ्याङ्कअनुसार संस्थानअन्तर्गतका कारखानाले वार्षिक आठ करोड रुपैयाँ हाराहारीको घ्यू, छुर्पी उत्पादन गर्छन । तर निजी लगानीको उद्योगमा यो भन्दा बढीको कारोबार हुने कार्यालयले बताएको छ । इलाममा हालसम्म २ सय ८८ डेरी उद्योगहरु दर्ता भइसकेको घरेलु तथा साना उद्योग विकास समिति इलामले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७