सगरमाथा चढ्न हालसम्मकै बढी अनुमति, २७ हिमालका लागि ९८ आरोहण दललाई अनुमति

४८ देशका ८२० नागरिक हिमाल चढ्दै


१३ बैशाख २०७६, शुक्रबार
himal

काठमाडौं, १३ वैसाख । यो वर्षको वषन्तकालीन सिजनमा हिमाल आरोहण गर्न हालसम्मकै बढीले अनुमति लिएका छन् ।

विहीबारसम्म ८८० स्वदेशी तथा विदेशीले विभिन्न हिमाल आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिइसकेका छन् । यसरी अनुमति लिनेहरुमध्ये सगरमाथा आरोहण गर्न चाहनेहरु धेरै रहेको पर्यटन विभागले जानकारी दिएको छ । विहीबारसम्म सगरमाथा आरोहणका लागि ३८ वटा आरोहण दलले अनुमति लिइसकेको पर्यटन विभागले जानकारी दिएको छ । तिनमा ३६२ विदेशी र १३ जना छन् ।

वषन्तकालीन सगरमाथा आरोहणका लागि अनुमति लिन चैतदेखि खुला गरिएको थियो । अनुमति लिनेक्रम अन्तिम चरणमा पुगेको विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिएकी छन् । ‘यस सिजनमा सगरमाथा आरोहणका लागि जान अनुमति पाउनेको संख्या हालसम्मकै धेरै हो,’ आचार्यले सुनाइन् ।

सगरमाथासहित २७ वटा हिमालका लागि यस सिजनमा ९८ वटा आरोहण दलले अनुमति लिइसकेका छन् । यी सबै दलमा ८२० आरोहण सदस्य छन् । यी हिमाल आरोहण गर्न अनुमति पाएकामा नेपालसहित ४८ वटा मुलुकका नागरिक छन् । वषन्तकालीन सिजनमा सगरमाथा आरोहण गर्न चाहने विदेशीले ११ हजार डलर (१२ लाख हाराहारी रुपैया) आरोहण दस्तुर बुझाउनु पर्छ भने नेपालीलाई ७५ हजार तोकिएको छ । सलामी दस्तुरमा सगरमाथा आरोहण सर्वाधिक महंगो हिमालको सूचीमा पर्छ ।

यस सिजनमा विभागले सगरमाथासहित २७ वटा हिमाल चुचुरा आरोहण गर्न गएकाहरूबाट ४८ करोड ७३ लाख रुपैया संकलन गरेको छ । सगरमाथातर्फ लागेका आरोहण दलका सदस्यबाट मात्रै ४३ करोड ६२ लाख रुपैया संकलन भएको छ । विदेशीका लागि वषन्तकालीन सिजनमा ११ हजार डलर दस्तुर तिर्नुपर्ने यो हिमालका लागि विभागले हिउद र बर्खा याममा २७ सय ५० डलरमात्रै लाग्छ ।

व्यवसायीहरूका अनुसार विदेशीले सगरमाथा आरोहण गर्दा कम्तीमा ३० लाखदेखी १ करोड रुपैयाँसम्म खर्च गर्छन् । सरकारलाई तिर्ने दस्तुर बाहेक आरोहीहरूले एक्सपिडीसन कम्पनीको लागत, विमा, हिमाल आरोहण गर्ने गियर (सामग्री), नेपाल सरकारले खटाउने सम्र्पक अधिकृतलाई भत्ता, हवाई टिकट लगायत खर्च ब्यहोर्नु पर्छ ।

नेपालमा पछिल्ला वर्ष सर्वाधिक हिमाल आरोहण गराउने सेभेन समिट ट्रेक्सका प्रवन्ध निर्देशक मिङमा शेर्पाका अनुसार, विहीबारसम्म सबैभन्दा धेरै भिडभाड सगरमाथा आधार शिविरमा छ । उनका अनुसार, सगरमाथा बाहेक, ल्होत्से र नुप्चे हिमाल आरोहण गर्नेहरू पनि त्यही पुगेका छन् । ‘लुक्लादेखि माथि खुम्बु क्षेत्रमा मात्रै यतिबेला १० हजार हाराहारी विदेशी, नेपाली, शेर्पा, गाइड, भरिया पुगिसकेका छन्,’ पर्यटन विभागमा सर्वाधिक सलामी दस्तुर बुझाउने सूचीमा रहेका मिङमाले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७