यी मन्त्रालयका सचिव हुन् कि ठेकेदार ?


२३ बैशाख २०७६, सोमबार
ramesh sing

काठमाडौं, २३ बैशाख । सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले ठेक्कापट्टाका कामसमेत गर्दैआएका छन् । मन्त्रालयका सचिव सिंहले हैसियत बिर्सेर सहरी विकास तथा भवन विभागका प्रत्येक ठेक्कामा चासो राख्ने र आफ्ना कम्पनीलाई ठेक्का दिन दबाब दिने गरेका छन् ।

उनको नाममा ५ वटा कन्सलटेन्सी रहेका छन् । स्रोतका अनुसार एनडीसी कन्सलटेन्सी सहित उनको नाममा ५ वटा छन् । उनी सचिव बढुवा नहुन्जेल उनले आफ्नै नाममा र श्रीमती, भान्जाभान्जीका नाममा ती कन्सलेटन्सी दर्ता थिए । तर सचिव बढुवा भएपछि त्रिचन्द्र कलेजमा अध्यापन गराउने कृष्ण तिमिल्सिना लगायतका ब्यक्तिको नाममा कन्सलटेन्सी राखेका छन् ।

सहरी विकास तथा भवन विभागअन्तर्गतका सबै परामर्शका काम सचिव सिंहले आफ्नै कन्सलटेन्सीलाई दिन चर्को दबाब दिने गरेका छन् । सचिव सिंहका कन्सलटेन्सीले विभाग अन्तर्गतका आयोजनाका ६० प्रतिशत ठेक्का पाइसकेका छन् ।

मन्त्रालयका सचिवले नै फलानोलाई ठेक्का दिनू भनेर आफ्नै कन्सलटेन्सीको नाम दिने गरेकाले विभागका महानिर्देशक मणिराम गेलाल पनि हैरान छन् । विभागले परामर्शतादाताको लागि टेण्डर निकालिसकेपछि मूल्यांकन गर्ने बेलामा सचिव सिंहले सबै टेण्डर फाइल झिकाई आफ्नो कन्सलटेन्सीलाई ठेक्का दिन दबाब दिने गरेका छन् ।

उनका कन्सलटेन्सीबाहेक अरु केही कन्सलटेन्सीले उनले भनेअनुुसार जिन्सी वा घुस दिएपछि मात्र ठेक्का पाउने अवस्था भवन विभागमा छ । सचिव सिंहले अरु कन्सलटेन्सीका संचालकसँग स्वकीय सचिवलाई स्कुटर समेत माग्ने गरेका छन् ।

भवन विभागको महानिर्देशकका रुपमा काम गरिसकेका सचिव सिंहले सबै ठेक्काका फाइल झिकाउँदै उनका कन्सलटेन्सीलाई दिन दबाब दिन चरम दबाब दिने गरेका छन् ।

विभागका महानिर्देशकदेखि उपमहानिर्देशक र डीईहरु सचिवका कन्सलटेन्सीलाई ठेक्का दिंदा सुपरभिजन वा डिजाइनमा त्रुटि गरे पनि कारबाही वा सचेत गर्न पनि नमिल्ने भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पर्ने भयका बीचमा काम गरिरहेका छन् ।

सचिवका बाहेक अरु कन्सलटेन्सीले राम्रोसँग काम गरी रिपोर्ट बुझाए पनि भुक्तानी दिन झुलाएर दुःख दिने काम पनि मन्त्रालयका सचिव सिंहकै निर्देशनमा भवन विभागमा हुने गरेको छ ।

विभागका कर्मचारीहरुले सचिवले नै भुक्तानी रोक्नु भनेको छ भन्ने जवाफ दिने गरेका छन् । भवन विभागको महानिर्देशक हुँदा सिंहले कन्सलटेन्सीका बीसांै करोड रुपैयाँका ठेक्का सबै आफ्नै कम्पनीलाई दिएको अख्तियारले अनुसन्धान गर्दा पनि स्पष्ट हुने विभाग स्रोतले बताएको छ ।

सचिव भएपछि पनि उनले प्रत्येक ठेक्का आफ्ना कन्सलटेन्सीलाई दिन दबाब दिने गरेका छन् । महानिर्देशक हुँदाका डीई, उपमहानिर्देशक र आयोजना प्रमुखलाई उनले आफ्ना कन्सलटेन्सीलाई दबाब दिने गरेका छन् । सचिव सिंहले एनडीसी, ग्रीड, रिब्स, सिमेका लगायतका कन्सलटेन्सीलाई दिन दबाब दिने गरेका छन् ।

एनडीसी कन्सलटेन्सी सचिव सिंहकै हो । तर देखावटी रुपमा संचालक कृष्ण तिमिल्सिनालाई सचिव सिंंहले राखेका छन् । तिमिल्सिना नै सचिवको कन्सलटेन्सी हो, विना लगानी केही प्रतिशत फाइदा हुने भएकाले आफ्नो नाममा राख्न दिएको भन्ने गर्दछन्, आजको साँघु साप्ताहिकमा समाचार छ ।

सचिव सिंहले ठेक्कापट्टाको डिलका लागि होटल हिमालय कुपण्डोलमा एउटा कोठा नै लिएर राखेका छन् । उनी प्रायः बिहान बेलुका होटल हिमायलयमै बोलाएर ठेक्कापट्टाको डिल गर्दछन् । आफ्ना कन्सलटेन्सीले बाहेकका ठेकेदारसँग डिल पनि त्यहीँ गर्दछन् । मन्त्रालयको प्रशासनिक नेतृत्व गर्ने सचिव नै ठेक्कापट्टामा संलग्न हुँदा पनि मन्त्री इस्तियाक राईले उनलाई संरक्ष्ँण गर्दैआएका छन् ।

मन्त्री राईलाई करोडौं रुपैयाँ बुझाउने कबोल गरेर आएका सिंह जस्ता सचिवमाथि अख्तियारले समेत छानबिन किन गर्न नसकेको होला ? भवन विभागका एक इन्जीनीयरको प्रश्न छ–‘५–१० हजार रुपैयाँ काम गरिसकेपछि खुसी भएर सेवाग्राहीले दिएको रकम लिने खरिदार र नासु पक्राउ गर्ने अख्तियारले सचिवले आफ्ना मातहतका विभागमा दबाब दिई आफ्नै कम्पनीलाई २० औं करोडको ठेक्का दिंदा पनि किन छानबिन समेत गर्न नसकेको हो ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७