प्रशान्त महासागरमा फरफराउँदै गरेको झन्डा र वेश्यालयमा नाङ्गै डान्स गरीरहेका हाम्रा छोरीहरु

हाम्रो सभ्यताको इतिहासमा करोडौँ चिन्तकहरुको खोजीको विषय मानिस स्वयम् हो । मानिसका दुःख, सुख, सामर्थ्यको बारेमा सबैभन्दा ठूलो खोजी भयो । मार्क्स ती मानिस हुन् जसले १२ हजार वर्षको चिन्तनको इतिहासमा मानिसका सुख–दुःख, सामर्थ्यका बारेमा सबैभन्दा बढी सटिक जवाफ दिएका थिए । त्यसैले हामी मार्क्सलाई सम्झिन्छौँ ।

उनले व्याख्या गरेर दुनियाँको अगाडि के राखिदिए भने मान्छे आफैले सृजना गरेका अनगिन्ती बन्धनमा बाँधिए । त्यसमध्ये सबैभन्दा महत्वपूर्ण कुरा ऊ वर्गको बन्धनमा बाँधियो । त्यसर्थ मान्छेको आजको दुःख वर्गको दुःख हो । साथै, मानिसले सामाजिक जीवनमा प्राप्त गर्ने सबैभन्दा सुखको अवस्था भनेको समाजवाद हो भनेर उनले व्याख्या गरे ।

यस्तो व्याख्या त्योभन्दा अगाडिका मानिसले पनि गरेका थिए । तर, मार्क्सले समाजवाद ल्याउने सामर्थ्य कुनै देवी–देउता वा अर्काे कुनै काल्पनिक वा ईश्वरीय शक्तिमा नभएर मानिससँग नै छ भनेर भनेका छन् ।

१२ हजार वर्षको ज्ञान र चिन्तनको इतिहासको आधारमा भन्ने हो भने यो सबैभन्दा महत्वपूर्ण कुरा हो । आजसम्म जे–जति ज्ञान र चिन्तनको छलफल भएको छ, सारा बहसमा मार्क्ससँग नठोक्किन दुनियाँमा कोही पनि चिन्तक हुन सकेका छैनन् । उसले या त आफूलाई मार्क्ससँग विमति राख्नुपर्छ या मार्क्ससँग ऊ सहमत हुनुपर्छ ।

करीब १९६० पछि धेरै ठाउँमा सशस्त्र विद्रोहहरु भए । कम्युनिष्ट पार्टीहरुले सशस्त्र विद्रोहको सुरुवात गरे । त्यसले समाजमा के प्रभाव पार्याे त्यसको अर्काे विश्लेषणको पाटो होला । तर, धेरै जसो विद्रोहहरु प्रतिक्रयावादीहरुको दमनमा कुल्चिएर मारिए ।

आज मुलुकमा समृद्धि र समाजवादको हामी जुन कुरा गर्दैछौँ, त्यो समृद्धि र समाजवादमा हामी कहाँ छौँ भन्ने कुराको पनि हामी हेक्का नराखी हिँड्दैछौँ भने यो समृद्धि र समाजवाद कतै गई हिमपत्थरमा ठोकिएर सत्यानाश हुनसक्छ ।

आज कम्युनिष्ट पार्टीका नाममा जुन जनमत यो मुलुकमा प्राप्त भएको छ त्यो चानेचुने छैन । उक्त उपलब्धिका हिसाबले भन्दा हामीलाई कुनै पनि किसिमले उत्ताउलो हुने अनुमति दिँदैन । कुनै पनि हिसाबले न आत्तिन दिन्छ न मात्तिन दिन्छ । त्यो जिम्मेवारीका साथ हामीले यसलाई हेर्नुपर्नेछ ।

सन् १९१८ मा लेनिनको नेतृत्वमा कम्युनिष्ट पार्टी गठन भएको थियो । त्यसपछि कम्युनिष्ट पार्टीको इतिहासमा संसदीय लोकतान्त्रिक पद्धतिको हिसाबले यत्तिको उपलब्धि कसैले लिएका थिएनन् । यस अर्थमा हामीसँग यो सय वर्षको इतिहासमा भएका उथलपुथल, यसमा बगेको रगत, पसिना र मूल्यको भार हाम्रो काँधमा छ ।

नेपालकै सन्दर्भमा गएको सत्तरी वर्षमा हामी एकपछि अर्काे अस्थिरताबाट गुज्रेर आयौँ । मलुक रहन्छ वा रहन्न भन्नेसम्मको उतारचढाब आए । क्रान्तिकारी, राजनीतिक र इतिहासको आखाँबाट हेर्ने हो भने यो असाध्यै महत्त्वपूर्ण छ । अर्काे पनि आँखा छ । त्यो आँखा हो–हिजो राजाले खाएका थिए त्यसपछि काँग्रेसले खाए अब पालो हाम्रै हो ।

यस हिसाबले भन्ने हो भने आज प्रश्न कहाँबाट गर्ने हो ? पार्टीको नेता, कार्यकर्ता, सदस्य र शुभचिन्तक कहाँबाट हेर्छन् ? यसले धेरै कुरा निर्धारण गर्नेछ । हामीले इतिहासमा जे नारा लगायौँ, जे लडाई लड्यौँ, जुलुस गर्याैँ, पुलिसको कुटाई–पिटाई यातना सारा कुरा भोग्नुपरेको थियो । यसलाई सम्झिने देशभित्रका मान्छेहरु श्रमजीवि मान्छेहरु, श्रम गरेर पनि खान नपाएकाहरु, अरबको ५२ डिग्रीको घाममा अर्काको ऊँट चराउँदै गरेका, अफ्रिकाको वेश्यालयमा नाङ्गै डान्स गर्न बाध्य बनेका हाम्रा छोरीहरु ती सबैले यो उपब्धिलाई आशाको नजरले हेरेको छन् । स्वयम् हामीले कत्तिको जिम्मेवार भएर उत्तर दिन्छौँ भन्ने कुरा उनीहरु सुन्न चाहन्छन् । इतिहासमा पहिलोपटक नेपालमा संसदीय प्रजातान्त्रिक पद्धतिबाट शक्ति आर्जन गरेको नेकपा छ भनेर उनीहरुले हामीतर्फ आशाका नजरले हेरेका छन् । हामीहरुले पनि यी कुराको उत्तर दिनुपर्नेछ । हामी यी कुराबाट बेखबर भएर केही गर्न सक्दैनौँ । केही गर्न खोज्यौँ भने त्यो दुई दिनको कुरा हुन्छ । हामीले ठक्कर खान्छौँ ।

समृद्धि र समाजवादको कुरा दोस्रो विश्वयुद्धपछि ल्याटिन अमेरिका, अफ्रिका, र एशियाका अधिकांश मुलुकहरुको नारा हो । सबैले समृद्धि र समाजवादको कुरा गरे । तर आएका नयाँ सत्ताहरुसँगै नयाँ वर्ग आयो । त्यो वर्ग रुपान्तरण भयो । क्रमशः प्रतिक्रान्तिसँग मिल्दै गयो । विश्वयुद्धपछि आएको नयाँ प्रजातन्त्रसँगै त्यो सकियो । समाजवादको आफ्नै इतिहासमा पनि धेरै कुरा भए । सोभियत संघ ढल्यो, क्युवा ढलेन । क्युवा आज पनि टिकिरहेको छ । यसको सारा अनुभव हेर्दा ती नयाँ प्रजातन्त्रहरु जसले समाजवाद र समृद्धिको सपना देखेका थिए त्यहाँभित्रै नयाँ वर्ग जन्मियो । क्रान्तिले जन्माएको नयाँ वर्गले नै क्रान्ति खाइदियो । समाजवादको इतिहासमा भन्ने हो भने जुन दिनदेखि पार्टीले आफूलाई जनताभन्दा माथि ठान्यो र नेताले आफूलाई पार्टीभन्दा माथि ठाने त्यहीँबाट क्रान्ति ओरालो लाग्यो । सोभियत संघको हालत त्यही थियो । ऊ आफै अर्थ राजनीतिक हिसाबले कमजोर हुँदै गयो । जब नेताले पार्टी छाड्छ, पार्टीले कार्यकर्ता छोड्छ, पार्टी आन्तरिक रुपमा कमजोर बन्छ । त्यहाँबाट क्रान्ति ओरालो लाग्छ । त्यो सारा इतिहास हामीले हेरेका छौँ ।

त्यसर्थ आजको प्रश्न भनेको हामी कहाँ छौँ ? इतिहास र सिद्धान्तको जगमा यो प्रश्नको उत्तर निकाल्न सकिएन भने हामीमाथि खतरा छ । त्यसो गर्दा क्रान्तिपछि नयाँ वर्ग जन्मिने खतरा छ । त्यो धुमधामका साथ आउँछ । सोभियत संघ ढल्ने बेला त्यहाँ एउटा टुरिस्ट गाइड थिइन् । सोभियत संघ ढल्नुभन्दा पाँच सात महिना अगाडिको कुरा हो । त्यतिखेर उनले बोरिस यल्त्सिनको बारेमा देवदुतलाई झैँ वर्णन गर्थिन् । तर त्यहाँ समाजवाद मात्र ढलेन सोभियत संघ गर्लयाम गुर्लुम ढलेर गयो ।

हाम्रो राजनीतिमा के फरक छ भने हामी संसदीय निर्वाचनमा छौँ । हामीले चुनाव जित्नुपर्नेछ भनेर यसमा एकोहोरिदै जाने खतार हुन्छ । त्यसपछि विस्तारै समाजवाद पाखा लाग्दै जान्छ । सबैभन्दा पहिलो प्रभाव के हुन्छ भने अब त्यो संसदीय निर्वचनमा जित्नुपर्नेले होइन, जित्न सक्नेले टिकट पाउने एउटा परिस्थिति बन्दै जान्छ । पहिला केन्द्रिय कमिटिहरु त्यो चाँजोपाँजोमा लाग्छन् । उनीहरु चुनाव जित्नेतर्फ लाग्न थाल्छन् । त्यसपछि समाजवाद हराउँदै जान्छ । यो प्रक्रिया नै यस्तो छ कि दिनमा सयजना दलाल पूँजीपतिसँग भेट हुन्छ । बिहान भन्सारको तस्कर आयो । त्यसपछि कर छल्ने मानिस आयो । अनि उद्योग छल्ने मान्छे आयो । दिउँसो आफ्नै पार्टीको नपढाउने प्रोफेसर आयो । साँझ भूमाफिया आयो । यो राजनीतिमा हामी बिहानदेखि साँझसम्म धेरै मानिससँग ठक्कर खान्छौँ ।

अर्काेतिर आफ्नै जिन्दगी हुन्छ । यो संसदीय राजनीतिमा ठूलो हुनका लागि घर अलिकती ठूलो भए, छोराछोरी अंग्रेजी बोल्ने स्कुलमा पढाउन पाए हुन्थ्यो भन्ने  आकाङ्क्षा बढ्दै जान्छन् । त्यस्तै श्रीमतीको पेशा, आफ्नो अगाडि पछाडि हिँड्ने मान्छे, एयरपोर्टमा उत्रिँदा–चढ्दा स्वागत गर्ने मानिस भइदिए म पनि केही गर्न सक्थे होला भन्ने भावना बढ्दै जान्छ । यी सबै उसले क्रान्तिकै लागि गरेको छु भन्ने सोच्छ । एकातिर आफ्ना व्यक्तिगत समस्या छन् भने अर्कातिर ती मान्छेसँग भेट हुन्छ जोसँग पहिलै यति धेरै समाधान छ की तपाईंले आँखा मात्र झिम्क्याउँदा  तपाईंको समस्या हल हुन्छ । यो क्रममा जसले एकपटक झिमिक्क गर्याे सकियो । एकपटक त्यो क्रान्तिकारीले होस गुमाएपछि फर्केर आउँदैन । दन्त्यकथाको किचकन्याको पासमा पुगे जस्तो त्यो क्रान्तिकारीले कहिल्यै खुट्टा टेक्दैन ।

ठूलो नेता हुनको लागि माथिबाट संरक्षण चाहिन्छ भने तलबाट सहयोग चाहिन्छ । अनि आफ्ना एजेण्डा बदलिँदै जान्छन् र यिनीसँग नयाँ एजेण्डामा माथिका मान्छेहरु र तलका मानिसहरुसँग संवाद सुरु हुन्छ । दिनरात यस्ता गुटबन्दीले कुन व्यापारी र तस्करको पक्षमा हुनुहुन्छ भनेर पार्टीभित्र सैद्धान्तिक विवाद सुरु हुन्छ ।

त्यसपछि आफ्नो कानूनी हिसाबले बच्नको लागि अदालत ठीक गर्नुपर्छ । त्यहाँ आफ्ना खल्तीका न्यायाधीशहरु हुन्छन् । अब कर हाकिम आफ्नो चाहियो । भन्सार हाकिम आफ्नो चाहियो । आफूले भने जस्तो टिप्पणी उठाउने कर्मचारी चाहियो । सबै जम्मा हँुदै जान्छन् । अख्तियारमा लोकमान चाहियो । वा त्यस्तै अर्काे मान्छे चाहियो ।

यसरी अब पार्टी, अदालत र अख्तियारलाई खास मौकामा काँध थाप्न केही मिडिया चाहिन्छन् । यो दलाल पूँजीवादी राज्यको गठबन्धन बन्छ र तल विचरा क्रान्तिकारीहरुले हाम्रै पार्टी ठूलो छ, हाम्रै नेता विशाल छ भनेर नारा लगाउँदै रहन्छन् । पार्टीभित्र भने नयाँ वर्ग जन्मिसकेको हुन्छ । क्रान्ति त्यसैले खान्छ । हामी जुन दलाल पूँजीवाद भन्दैछौँ त्यो दलाल पूँजीवाद होइन ।

हामीले समृद्धिको कुरा गर्छाैँ यो राम्रो कुरा हो । अझ हाम्रो नारा राम्रो छ । खासगरी एमालेको नवौँ महाधिवेशनपछि हामीले केही नयाँ सैद्धान्तिक प्रस्तावनाहरु तयार गर्यौँ । अबको बाटो हामीले दलाल पूँजीवादसँग लडेर त्यसलाई परास्त गरेर मान्छेको आकांक्षालाई प्रतिनिधित्व गर्ने ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारा बनायौँ । अहिले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा खुब लगाउँछौँ । तर दलाल पूजीँवादको बारेमा कतै बोलिँदैन, कतै उच्चारण गरिँदैन । के अब समाजवाद यसै आउँछ ? चुनौतीविहीन छ ? ल्याटिन, अफ्रिकी र एशियाका मुलुकहरुमा समाजवाद त्यसै ढलेको हो ? जुुन बाटो तिनीहरु हिँडे हामी पनि त्यही बाटोमा हिँडेपछि हामी ठक्कर खाऔँला कि नखाऔँला ? हामीले उठाउन खोजेको समृद्धि र समाजवादमा हामी कहाँ छौँ ? हामीले गर्न खोजेको प्रश्न यही हो ।

यो प्रश्न मुलतः वैचारिक हो । मान्छेले भन्छन् कहिलेकाँही दिक्क पनि लाग्छ  । कतिपय मानिसहरु कम्युनिष्ट पार्टीका सदस्य छन् जो मार्क्सवादले के हुन्छ भनेर लेख्छन्  फेसबुकमा । यस्तो फौज तयार गरेर अब क्रान्ति, समाजवाद र समृद्धि धेरै गाह्रो छ ।

राजा वीरेन्द्रले एशियाली मापदण्डको कुरा गरे । पढ्दा एशियाली मापदण्डको कुरा राम्रै छ । हरेक नेपालीको आहरा २२ सय क्यालोरी पुर्याउने, यस्तो खाना खाने भनेर सबै व्याख्या गरेर तिनले ल्याएका थिए । तर तिनी जता जाँदै थिए, जे भन्दै थिए, त्यसमा ठूलो ग्याप थियो । हामी आज त्यस्तै भन्दैछौँ ।

मलाई रेल र पानी जहाजको विरोधी हो भनेर केही मानिसले चित्रण गर्ने गर्छन् । म यो रेल र पानी जहाजको विरोधी होइनँ । तर, मेरो भनाई के हो भने अफ्रिकाको डान्सबारमा नाङ्गै नाच्ने यो मुलुकको छोरी भएसम्म समाजवाद भन्न मिल्दैन । विकासको कुरा गर्दा यो प्रशान्त महासागरमा पानीजहाजको कुरा गछौँ । यो काव्यात्मक र रमाइलो छ । जो सुकैलाई लोभ्याउने कुरा हो । तर आज प्रश्न त्यो डान्स बारमा नाच्दै गरेकी मेरो छोरीको हो कि सागरमा फरफराउँदै गरेको झण्डाको हो भन्ने हो । विकासलाई कहाँबाट हेर्नुहुन्छ ? हामीले मार्क्सवाद, समाजवाद, क्रान्ति, परिवर्तन, पानीजहाज हेरिरहेका छौँ । त्यसले विकासको कुरा गर्छ तर मान्छेकोे कुरा कसले गर्छ ?

एउटा नगरपालिकाले गुरुयोजना तयार गर्यो । त्यसले २५ वर्षको गुरुयोजना प्रिजेन्टेसन पनि दियो । बाटो रंगशाला, स्कुल सबैको कुरा गर्यो । मैले अन्तिममा एउटा प्रश्न सोधे – यो सारा कुरा त २५ वर्षपछि हुँदोरहेछ यो नगरपालिकाको महिला कस्तो हुनेछ ? दलित कस्तो हुनेछ ? त्यहाँको जनजाती कस्तो हुनेछ ? त्यसको बारेमा केही छलफल हुने गरेको छ ? तर, त्यो बारेमा केही पनि छलफल भएकै थिएन । माथिदेखि तलसम्म पुग्ने विकासका बारेमा चाँडै नसोच्ने हो भने हामी फर्किनै नसक्ने गरी खाडलमा जाकिँदै छौँ ।

भनेर र दावी गरेर हुने कुराबारे मार्क्सले ‘थेसिस अन फायरबाख’ मा एघारवटा सुत्र लेखेका छन् । उनका गुरु हेगेल थिए । त्यसमा उनले भनेका छन् – हेगेल तिमीले गरेका कुरा राम्रो होलान् । तिम्रा दावी असाध्यै सत्य होलान् । म सबै कुरा मान्छु । तर तिमीले भनेका सबै कुरा सत्य हुन् भन्ने कुरा हावामै पुष्टि गर्छौ कि यहाँ पुष्टि गर्छौ ?

हामीले जे गर्दैछौँ, यो व्यवहारमा पुष्टि हुनुपर्याे । यो मान्छेको लागि हुनुपर्याे । मान्छेको मात्र कुरा गर्दा हामी सबै धनी हुने कुरा गर्दैछौँ । आज नेपालमा सबैभन्दा पहिले धनी बनाउनुपर्ने को हो ? रोजगारी दिलाउनुपर्ने को हो ? उत्पादन बढाउनुपर्ने को हो ? अनि सबै धनी हुन्छन् ? यो कुनै अर्थशास्त्री वा दार्शनिकले भन्न सक्छ ? त्यसैले यो विचारको प्रश्न हो ।

विचारको प्रश्न भनेको अरु केही होइन । तपाई कहाँ उभिएर हेर्नुहुन्छ भन्ने हो । कुरा महिला र पुरुषको हो भने तपाई कहाँ उभिनुहुन्छ ? दुवैको मध्ये कसैको पक्षमा कसैले भन्यो भने त्यो आधा दलाल पुँजीवाद हो भन्छु । यदी कम्युनिष्ट पार्टीले म महिला, दलित र गरिबको पक्षमा छु भन्न सक्दैन भने हामीलाई किन चाहिन्छ यो सबै ?

हरेक ठाउँमा नारा छ, म भ्रष्टचार गर्दिन, भ्रष्टाचार हुन दिन्न । राम्रो कुरा हो तर अरु संयन्त्रले के गर्दैछ ? तल व्यवहारमा के हुँदैछ ? बासुकी नागको फोटो टाँसेर म सर्पबाट सुरक्षित भए भने जस्तै हो यो ।

प्रचण्ड बहादुर बुढाथोकीले गाउनु भएको गीत छ :

हेर देशको हालत त कस्तो छ ?

छाती पिटी चिच्याउनु जस्तो छ ।

हामीले जे क्रान्ति गर्यौँ । त्यो क्रान्ति सुरक्षित छ की छैन भनेर हेर्ने हो भने छाती पिटी चिच्याउने जस्तै छ ।

तर के सम्भावना नै छैन ? त्यस्तो पनि होइन । आज हामी असाध्यै राम्रो ठाउँमा छौँ । ठूलो बाम जनमत छ । धेरै ठूलो कुरा हो यो ।

हामी कस्तो अवस्थामा छौँ भने एउटा ठूलो युद्धको व्यवस्थापन गरेर आएका एकातिर, अर्कातिर भोट दलाली भए पनि हरेक घरमा गएर हरेक व्यक्तिलाई रिझाएर भोट लिँदै आएका नेता कार्यकर्ताहरुको एउटा ठूलो जमात छ । अलि माथिबाट हेर्दा संविधानमा समाजवाद लेखिएको छ यो चानेचुने कुरा होइन ।

एक हिसाबले हेर्ने हो भने नेपालमा विचारधाराको कुनै विवादै छेन । जो सुकै पनि आफूलाई उदार प्रजातान्त्रिक र उदार अर्थव्यवस्थाका पक्षधर भन्नेहरु हाम्रा मागहरुका वरिपरी आएर टेकिनै रहनुपर्ने स्थिति बनेको छ । यसले गर्दा वैचारिक र सांगठनिक हिसाबले हामी राम्रो स्थितिमा छौँ ।

तर अब प्रश्न भनेको यो संगठन कसले बोक्छ ? एउटा व्यक्तिले ? व्यक्ति आफैले समाजवाद ल्याउँछ ? मानौँ ऊ तान्त्रिक हो ? त्यो होइन । समाज आफैले समाजवाद ल्याउँछ ? त्यसले पनि ल्याउँदैन । कर्मचारीतन्त्रले ल्याउँछ ? त्यसले पनि ल्याउँदैन ।

अब पहिलो काम पार्टीभित्र र संगठनभित्र पनि पहिला सत्यनिरुपण गरौँ । को के धरातलमा छौँ र हाम्रो जीवन कसरी चलेको छ भनेर सत्यनिरुपण गरौँ । कानूनी हिसाबले कम्युनिष्ट पार्टी नैतिकताको धरातलमा उभिएको छैन तर कानूनी हिसाबले ठिकै देखिन्छ भने बरु मेलमिलाप गरौँ । साह्रै अपराधी हो भने त्यसलाई दण्ड दिने व्यवस्था गरौँ । एकपटक पार्टीमा यो छलफल सुरु गरौँ ।

क्रान्तिको कतै केन्द्र त हुनुपर्छ होला ? सबै ठाउँमा रहेका हाम्रा मान्छेहरु पूँजीवादसँगको अन्तरविरोधमा वाकिफ छन् भने क्रान्ति अगाडि बढ्छ । यदि त्यसमा वाकिफ छैनन् भने क्रान्ति मौन छ वा आत्मसमर्पण गर्दै छ । यो क्रान्तिले आत्मसमर्पण गर्नुहुँदैन भन्ने फेरि एकताबद्ध हुनुपर्छ । छलफल चलाउनुपर्छ र बाटो निकाल्नुपर्छ । त्यसो गर्दा पहिले सत्यनिरुपण होस् पछि मेलमिलाप गरौँला ।

जतिमाथि जान्छ त्यो कमिटी अनुशासनमा त्यति कडा हुनुपर्ने व्यवस्था कम्तिमा गर्नुपर्याे । कमसेकम सचिवालयका मानिसहरु यति गर्छन् वा गर्दैनन् भनेर त थाहा हुनुपर्ला नि ? कि त्यति पनि थाहा हुनुपर्दैन ? कमसेकम स्ट्यान्डिङ कमिटीमा जाँदा यो समाजवादी हो भन्ने खालको व्यवस्था गरौँ । संगठनमा विधानमा त्यो व्यवस्था गर्ने हो भने हामी क्रान्ति बचाउँछौँ । नत्र या त समाजवाद या त सत्यानाश । हामी सत्यानाश नरोज्ने हो भने कमरेडहरु दिमाग खुला गरौँ । मार्क्सले भने जति दिमाग खुला गरौँ । दुनियाँका अगाडि सबैलाई हेरौँ । समग्रतामा वस्तुनिष्ठ ढंगले मूल्याङ्कन गरौँ र क्रान्ति मर्न नदिउँ ।

(कार्ल मार्क्सको २०१ औँ जन्मस्मृति को अवसरमा (२२ वैशाख २०७६) आयोजित ‘समृद्धि र समाजवाद : हामी कहाँ छौँ ?’ नामक कार्यक्रममा प्रस्तुत मन्तव्य)

प्रतिक्रिया दिनुहोस्