४९ लाख भ्रष्टाचार पुष्टि भएपछि प्रमुख सेनानी कार्की बर्खास्त


११ जेष्ठ २०७६, शनिबार
Nepali Army sena 20190129003714

काठमाडौं, ११ जेठ । नेपाली सेनाले लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी) एवं कालिसिद्धी गण उदयपुरका प्रमुख केशवराज कार्कीलाई भ्रष्टाचारको आरोप पुष्टि भएपछि बर्खास्त गरेको छ ।

गण र राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमको गरी ४९ लाख २९ हजार ८ सय ८९ रुपैयाँ भ्रष्टाचार गरेको समरी जनरल सैनिक अदालतले प्रमाणित गर्दै उनलाई दोषी ठर्हयाएको हो । चुरे तराई मधेस संरक्षण कार्यक्रममा कार्कीले १ लाख ६७ हजार हिनामिना गरेका थिए । उनलाई समरी जनरल सैनिक अदालतले भविष्यमा अयोग्य नठहरिने गरी तीन महिनाको कैद र बिगोसहितको फैसला गरिएको सैन्य स्रोतले जानकारी दिएको छ ।

आदेशलगत्तै उनलाई केन्द्रीय कारागार (जगन्नाथदेवल) चलान गरिएको स्रोतले बतायो । नेपाली सेनाको जंगीअड्डा स्रोतका अनुसार कार्कीले कालिसिद्धी गणमा रहँदा सरकारी कोषको रकम अनियमितता भन्दै वैशाख पहिलो साता उजुरी परेको थियो ।

उजुरीपछि गठन भएको ‘कोर्ट अफ इन्क्वाइरी’ले प्रमुख सेनानी कार्कीको कैफियत देखाउँदै ‘कोर्ट मार्सल’ का लागि सिफारिस गरेको थियो । जसको आधारमा २३ वैशाखमा समरी जनरल सैनिक अदालत गठन भएको थियो ।

अदालतले कार्कीलाई थुनामा राखेर कारबाही प्रक्रिया अघि बढाएको थियो । छानविनपछि प्रधानसेनापति पूर्णचन्द्र थापालाई निष्कर्ष सुनाइएको थियो । थापाबाट अदालतको फैसला सदर भएपछि शुक्रबार आदेश सुनाइएको सैनिक स्रोतको दाबी छ ।

कार्की ३५ दिन भित्र पुनारवेदन अदालतमा जान सक्नेछन्। सैनिक ऐन, २०६३ मा जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट फैसला वा अन्तिम आदेशमाथि चित्त नबुझे पीडित पक्षले विशेष अदालतमा पुनरावेदन दर्ता गर्न सक्ने प्रावधान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७