प्रेममा भूलको परिणाम


३२ जेष्ठ २०७६, शनिबार
tirtha sigdel

त्यसपछि उसले भनि, ‘तपाईको कथाले नराम्रो गरी रुवायो ।’
मैले भने, ‘हो के ? यसै भनेको होला ।’
‘हैन… हैन…, सत्ते होला । किन ढाँट्नु र !’ उसको जवाफले अलिकति शान्त पार्‍यो । तर, अनेकन प्रश्नहरू उब्जाएर ।

त्यसपछि उसले आफ्ना मनका पीडा ओकली । शायद मन शान्त पारी । किनभने मान्छेको मन न हो । कतिबेला धुम्म हुन्छ थाहा हुन्न । बरु आकाश खुल्ला तर, मान्छेको मनको आकाश खुल्न त शान्ति नै हुनुपर्छ । त्यो पनि मनको शान्ति ।

शायद त्यो दिनको पर्खाइमा हुन्छ, मान्छे । जुन दिन र समय, जसले उसको मनलाई अलिकति भएपछि मल्हमपट्टी लगाओस् ।
आज उसले त्यसै गरी । दशैंको समाप्तीसँगै उसको आगमनले अलिकति रौनकता थपेको हुन्छ ।
‘अनि कस्तो भयो त घुमघाम ?’
मेरो प्रश्नको गोलमटोल उत्तर थियो, ‘रमाइलै भो…।’

‘रमाइलो त के भन्नु ? यो उमेरमा अब के पो रमाइलो होला र ? तै पनि… रमाइलै भो भन्नु पर्छ नि …, उसका सहज प्रकृतिका उत्तरले केही सोच्न त बाध्य पार्छ । तर, त्यसको कारण खोतल्नुभन्दा पनि अरु नै कुरा गर्नु उचित लाग्छ मलाई । किनभने अरुको बैयक्तिक जिन्दगीमा धेरै टिप्पणी र चासो देखाउनु उचित हुन्न पनि ।’
‘हो, ऊ मेरो कथाको फ्यान हो ।’ पछिल्लो पटक अनलाइनमा आएको त्यो कथाको उसले अचम्म गरी प्रशंसा गरी ।

भनी, ‘हैन…यस्ता यस्ता कुराहरू लेख्न कहाँबाट आउँछ, तपाईलाई ?’
प्रशंसासँगै मिसिएको प्रश्नले जवाफ दिन बाध्य नै पार्दो रहेछ नि ।
‘आइहाल्छ नि । कथाका पात्रहरुको संगतले हो, यस्तो भएको’, मैले कनिकुथी कुरा फर्काएँ ।
शायद उसले चित्त बुझाई होला ।

उसले थपी, ‘तपाईले लेख्नु भएको त्यो कथा थियो नि । मैले त्यो कथा ५० जनालाई भन्दा बढीलाई पढाई दिएँ कि । तर, धेरेले त केही बुझेनन् रे ।’
मैले भनें, ‘कसरी बुझुन् त । किनभने त्यो त कथा न हो । कथालाई बुझ्न निक्कै गाह्रै पर्छ नि । जसले जीवनमा हरप्रकारको पीडा र दुःखलाई झेलेको हुन्छ, उसलाई त त्यति गाह्रो हुन्न । तर, सुखसयलमा बिताएको मान्छेले त कथाको भाव के बुझ्ला र ?’
उसलाई मेरो कुरामा दम छ भन्ने लागेछ ।
‘अनि नि … !’

‘वास्तवमा ठीकै भन्नु भो । हरेक मान्छेले जिन्दगीका पीडामा बाँच्न कहाँ सिकेका हुन्छन् र ? आज मलाई तपाईका कुराले मन छोयो । धेरैले त जिन्दगी के हो ? यसको परिभाषा कसरी गर्ने र कसरी सहज तरिकाले जीवन बिताउने भन्ने नै सोचेका हुँदा रहेनछन् । एउटा भूललाई नै जीवनको अन्तिम भूल सम्झेर बाँच्नेहरू धेरै रहेछन् । तर, त्यो भूलबाट पाठ सिकेर कसरी अगाडि बढ्ने भन्नेमा कमैको ध्यान जाँदो रहेछ ।’

परिणामतः मान्छेको जीवनमा क्षति पुग्छ । मुल कुरा त सोच्न सक्ने क्षमतामा पनि भर पर्ने रहेछ नि । सानो उमेरमा गरेको गल्ती प्रति आज आएर पछुताउनुको के अर्थ छ र ? बरु त्यो एउटा महान भूल थियो भनेर स्मरण गरे त भैहाल्यो नि । के भोर, बाँच्ने उमेर धेरै नै हुन्छ । त्यो पीडालाई मनमा सजाएर कहिलेसम्म बाँच्ने ?

एउटा कफी सप । आज रित्तो छ । शायद मान्छेहरू दशैंकै रमझममा छन् जस्तो छ ।
एउटा मान्छेको मायाले कति फरक पर्दछ, जिन्दगीमा…
एउटा साथीको साथले कति फरक पर्दछ, जिउनुमा…
उसले यो गीत गुन्गुनाई ।

शायद उसले आफूले हिजो भोगेका दुःख र पीडाका ती दिनहरू सम्झी ।
वास्तवमा उसले अस्ति नै भनेको कुरा थियो त्यो । जब उसले कक्षा ८ मा पढ्दा पढ्दै प्रेम गरेकी थिई । पछि त्यो प्रेम, काँडा बनेर उसको शरीरमा बिझेको थियो । एकपटक मान्छेको जीवनमा बिझेको काँडा त्यसै सजिलो गरी कहाँ झिकिदो रहेछ र ? त्यो प्रेम भूल बनेर सजिएको थियो, उसको जिन्दगीमा ।

एक प्रकारले भन्ने हो भने, उसले गुन्गुनाएको नारायण गोपालको त्यो गीत र मान्छेको जीवनमा के अन्तर रहेछ र ? तर, उसले त्यो परिबेशलाई भोगी र नयाँ जीवनको सूत्रपात गरी । उसले त्यो पीडादायी क्षणलाई बिर्सेर अगाडि बढ्न चाहिं र सफल पनि भई ।

बाध्यतामा बाँच्न कहाँ सहज थियो र ? एउटी घरपरिबार भएकी महिलाले त्यो परिवार चटक्कै छाड्न । पूर्वेली समाजको दोष हो, यो पश्चिमेली समाजको प्रभाव हो, उसले एउटा आँट गरी ।
उसले भनेकी थिई, ‘जब उसले मेरी बहिनीलाई मेरै सौता बनायो ।

तब मैले उसको साथ छाड्ने निधो गरेकी थिएँ । त्यो बेला मेरो मुटुको टुक्रालाई उतै छाड्न बाध्य हुनु प¥यो । मुटुको टुक्रा अर्थात् मेरी छोरी । हाम्रो प्रेम भूलको परिणाम थिई ऊ । तर, मेरा लागि ऊ मुटुको टुक्रा ।’
आज त्यो मुटुको टुक्रा ऊसँगै छ । मानौ, उसको आफ्नै मुटुमा टाँसिएर बसेको छ ।
दशैमा ऊ आफ्नो परिवारसँग घुम्न निस्केकी छे ।

फेसबुकमा अस्ति भेटिएको तस्बिरमा ऊ देखिन्छे । उसकी आमा र नयाँ बाबुसँगै टाँसिएर उसले खिचेको फोटोले मन तान्छ । सँगसँगै एउटा ऊ जत्रै एउटा केटो पनि देखिन्छ । शायद त्यो उतापट्टीको छोरो हुनुपर्छ । अनुमान लगाउन सजिलै हुँदोरहेछ । तर, मेरो अनुमान गलत साबित भएन । हो रहेछ, त्यो केटा त त्यो नानीको दादा रहेछ ।
कहिलेकाहीं, नराम्रो हुनु पनि राम्रो हुँदो रहेछ ।

रातपछि दिन हुन्छ हेर बिहान । शायद यो भनाईले यतिबेला थपडी पाइरहेको छ । जसरी रातले कष्ट दिन्छ, तर दिनले मान्छेलाई उर्जा भर्छ । त्यही रातको पीडा बिर्सेर मान्छे अगाडि बढ्छ, ऊ सफल हुन्छ । रातरुपी अनेकन् असफलतालाई एउटा भूल सम्झेर नयाँपनको खोजीमा लागेको मान्छे प्रायः माथि नै पुगेको छ ।

तर, जीवनका दुई पाटाहरुलाई केबल आत्मसात गनै मात्र सक्नु पर्दछ । त्यो चाहे रात होस् या दिन, उसले सही र गलत चरित्रलाई चिन्न मद्दत गरिरहेको हुन्छ ।
जसले त्यो सही र गलत प्रबृति र पात्रहरुलाई चिन्यो, उसले जिन्दगी गाडी सही ढंगले अगाडि बढायो । नत्र जीवनले ब्याक गिएर लगाउँछ ।
घुम्नु पनि जीवन रहेछ । उसले प्रारम्भको कुरामा कुरा पुर्‍याई ।
शायद बल्ल उसले जिन्दगी बाँच्नुको अर्थ महसुस गरी ।

                                                                                       

tirtha sigdel 1

                                                                                  कथाकार :- तीर्थ सिग्देल
                                                                                           बिर्तामोड, झापा

                                                                                            मझेरी डटकमबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७