नेपालगञ्जका होटल भारतीय पर्यटकले भरिभराउ, विमानस्थल व्यस्त


७ असार २०७६, शनिबार
nepalgunj airport

बाँके, ७ असार । नेपालगञ्जमा भारतीय पर्यटकको भीड बढेको छ । नेपालगञ्ज, कोहलपुर र आसपासका होटल भारतीय पर्यटकले भरिएका छन् । नेपालगञ्ज हुँदै कैलाश मानसरोवर तीर्थाटन गर्न जान आएका भारतीय पर्यटकका कारण यहाँका होटल भरिभराउ भएका हुन् ।

होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष भाष्कर काफ्लेका अनुसार मानसरोवर जाने उपयुक्त समय हरेक वर्षको वैशाखदेखि भदौसम्म हो । मानसरोवर–कैलाश पर्वत भ्रमणका लागि आउने भारतीयको संख्या बढ्दै गएको काफ्ले बताउँछन् ।

‘पर्यटकको संख्या बढेसँगै यहाँ होटल तथा अन्य व्यवसाय फस्टाएको छ’, उनले भने । नेपालको बाटो हुँदै जाने भारतीय तीर्थयात्रीको संख्या वर्षेनी बढ्दै गएको छ । पछिल्लो समय पर्यटकको संख्यासँगै स्तरीय होटल समेत बढेका छन् ।

हवाई उडानलाई व्यवस्थित गर्दै हुम्लाको हिल्सासम्मको सडकलाई विस्तार गर्न सके अझै धेरै भारतीय तीर्थयात्री बढ्न सक्ने देखिन्छ । पाँच महीनासम्म चल्ने मानसरोवर यात्रामा जानेको संख्या बढ्दै गएको छ ।

बाँकेमा तीन हजारभन्दा बढी होटल सञ्चालनमा छन् । नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै एक हजार ५ सय भन्दा बढी होटल सञ्चालनमा रहेको होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले बताए ।

नेपालगञ्जमा होटल सोल्टी, वेस्टेन्ड प्रिमियर, सिद्धार्थ भ्यू, किचन हट, बाटिका, स्नेहा, सिटी प्यालेस, सिग्नेट इन कृष्णा, कल्पतरु र कोहलपुरमा सेन्टर प्लाजालगायत होटल सञ्चालनमा छन् ।

भारतीय पर्यटकको चाप बढ्न थालेपछि नेपालगञ्जका प्रायः सबै ठूला र मध्यम खालका होटल भरिभराउ छन् । नेपालगञ्ज नाका हुँदै मानसरोवर कैलाश दर्शन गर्न जान दैनिक सयौँको संख्यामा भारतीय पर्यटक नेपालगञ्ज आउने गरेका छन् ।

गत वर्ष करीब १५ हजार पर्यटकले कैलाश मानसरोवरको दर्शन गरेको तथ्याङ्क छ । यस वर्ष यो संख्या बढेर करीब २५ हजार पुग्ने अनुमान गरिएको छ । भारतबाट भित्रिने पर्यटक दिल्लीबाट हवाई मार्ग हुँदै काठमाडौँ र त्यहाँबाट नेपालगञ्ज आउने गरेका छन् ।

त्यस बाहेक सडक यातायातको प्रयोग गरी नेपालगञ्ज नाकाबाट समेत पर्यटक भित्रिने गरेका छन् । होटल सिटी प्यालेसका सञ्चालक लोकेन्द्र अर्याल मानसरोवरका यात्रुले होटल भरिभराउ रहेको बताउँछन् । अधिकांश पर्यटक नेपाल भएर मानसरोवर जाने हुँदा उनीहरुले नेपालमै ९० प्रतिशत रकम खर्च गर्ने गरेको उनले बताए ।

नेपालगञ्ज र काठमाडौँबाट मानसरोवर जानका लागि पर्यटकले रु पाँच लाखदेखि रु सात लाखसम्म खर्च गर्ने गरेका छन् । विभिन्न ट्राभल एजेन्सीमार्फत आएका पर्यटक नेपालगञ्ज–सिमकोट–हिल्सा हुँदै जाने गरेका छन् । ।

नेपालगञ्ज विमानस्थल व्यस्त

तीर्थयात्रीका कारण नेपालगञ्ज विमानस्थल व्यस्त बनेको छ । मानसरोवर जाने तीर्थयात्री ओसार्न निजी एयरलाइन्सलाई भ्याइनभ्याइ छ । तीर्थयात्री ओसार्नकै लागि नेपालगञ्ज विमानस्थलमा ताराका दुई, सीताका दुई, सिम्रिकका दुई र नेपाल वायुसेवा निगमको एक जहाजले दैनिक २० उडान भर्ने गरेको छ ।

सिमकोट विमानस्थलमा सिम्रिक, डाइनेस्टी, फिस्टेल, माउन्टेन एयरका हेलिकप्टरले हिल्सासम्मको उडान भर्दै आएका छन् । नेपालगञ्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार दैनिक करीब ४ सयसम्म भारतीय तीर्थयात्री नेपालगञ्जबाट सिमकोट पुग्ने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७