शिक्षक लाईसेन्स विज्ञापनको म्याद थपियो


१६ असार २०७६, सोमबार
tsc

भक्तपुर, १६ असार ।  शिक्षक सेवा आयोगले शिक्षक लाईसेन्सको लागि खोलेको विज्ञापनको फारम भर्ने म्याद थपेको छ । आयोगले सोमबार असार २२ गतेसम्म फारम भर्न सकिने गरी खुलेको विज्ञापनको म्याद एक साता थपेर २९ गते सम्म फारम भर्न सकिने बनाईएको जनाएको छ । 

यो बीचमा सर्भरमा केही समस्या आएकोले अनलाईन फारम भर्नेहरुलाई समस्या भएको गुनासो आए पछि म्याद थप गरिएको उनले बताए । 

दोब्बर दस्तुर तिरेर साउन ५ गते सम्म फारम भर्न सकिने छ । यस अघि दोब्बर दस्तुर तिरी असार २९ गते सम्म फाराम भर्न सकिने गरी विज्ञापन खोलिएको थियो । 

लामो समय देखि रोकिएको शिक्षक लाईसेन्सको विज्ञापन, आयोगले गएको असार २ गते खोलेको थियो । माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको छ । जसमा साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकका लागि पनि समेटिएको छ ।

साविकको उच्च माध्यमिक तहमा अध्यापन गर्दै आएका शिक्षकहरुले अध्यापन अनुमती पत्र (लाईसेन्स)का लागि खुलेको विज्ञापन स्थगन गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको भोली पल्ट आयोगले उक्त निर्णय गरेको हो । तर यो निर्णयमा उक्त मागको कुनै प्रभाव नपरेको आयोगका अध्यक्ष ताना गौतमले दावी गरे । 

उक्त विज्ञापन तत्काल स्थगन गरी कक्षा ११ र १२ मा वर्षौं देखि अध्यापन गरिरहेका, योग्यता पुगेका र अस्थायी अनुमती पत्र प्राप्त शिक्षकहरुलाई विना सर्त स्थायी अध्यापन अनुमती पत्र प्रदान गर्न माध्यमिक विद्यालय शिक्षक यूनियनले तिन दिने अल्टिमेटम सहित आईतबार ध्यानाकर्षण पत्र बुझाएको थियो ।

विज्ञापन नं ३५ वमोजिमको अध्यापन अनुमती पत्रका सम्वन्धमा यूनियनको ध्यानाकर्षण भएको उल्लेख गर्दै उक्त विज्ञापनमा साविक उच्च माध्यमिक तहमा अध्यापन हुने विषय र पाठ्यक्रमलाई पूर्ण वेवास्ता गरी असम्बन्धित विषयवस्तुहरु मात्र समेटिएको दावी गरिएको छ । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७