बिग मर्जरका लागि २८ वाणिज्य बैंकबीच छलफल तीव्र


१८ असार २०७६, बुधबार
bank3

काठमाडौं, १८ असार । बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन (मर्जर) प्रेरित गर्ने नीति सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेपछि वाणिज्य बैंकहरूले छलफल तीव्र पारेका छन् ।

एक आपसमा गाभिनका लागि तयारी गर्ने लक्ष्यका साथ मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको बैठक आयोजना गरियो । बैठकमा एक आपसमा गाभिने विषयमा छलफल भएको थियो । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुनु अघि ‘मर्जर’ को विषयमा उपयुक्त निर्णय गर्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएका थिए ।

यही निर्देशनानुसार वाणिज्य बैंकहरूले मर्जरका विषयमा अनौपचारिक तवरले छलफल तीव्र पारेका हुन् । हाल २८ वटा वाणिज्य बैंक सञ्चालनमा छन् । वित्तीय स्थिरताका लागि बैंकको संख्या घटाउनुपर्नेमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको समान धारणा छ ।

गर्भनर डा. नेपालकै शब्दमा ‘मौद्रिक नीति अगावै ‘लभ’ गर्नुस्’ । गर्भरनको उक्त आग्रहपछि वाणिज्य बैंकहरू एक आपसमा कसरी मिल्न सकिन्छ भन्नेमा छलफल जारी राखेका छन् । बैंकर्स सङ्घ अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाका अनुसार आज सामान्य छलफल भएको हो ।

त्यसो त यही असार १२ गते केन्द्रीय बैंकले वाणिज्य बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सम्मिलित छलफल कार्यक्रम आयोजना गरेर मौद्रिक नीति अगावै मर्जरको विषयमा आवश्यक निर्णय गर्न आग्रह गरेको थियो ।

मर्जरमा जान वाणिज्य बैंक तयार भए पनि उनीहरूले केही सुविधा राष्ट्र बैंकले दिनुपर्नेमा एकमत देखिएका छन् । बैठकमा सहभागी एक बैंकरका अनुसार केन्द्रीय बैंकको निर्देशन कार्यान्वयन गर्न आफूहरू तयार रहेको तर केही सुविधा भने उपलब्ध हुनुपर्नेछ ।

मंगलबारको बैठकमा समेत केन्द्रीय बैंकको निर्देशनलाई कार्यान्वयन गर्दै मौद्रिक नीति अगावै केही सैद्धान्तिक सहमति गर्ने विषयमा छलफल भएको बताइन्छ । वाणिज्य बैंकबीच हुन लागेको गाभिने प्रक्रियालाई राष्ट्र बैंकले ‘बिग मर्जर’को संज्ञा दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७