नेकपामा नेपाल समूह बलियो


६ श्रावण २०७६, सोमबार
Kp Oli pm of nepal Puspa kamal dahal prachand nad madhav kumar nepal

काठमाडौं, ६ साउन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जका टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले ७७ जिल्ला इन्चार्ज र सहइन्चार्जका साथै छ महानगरपालिकाका इन्चार्जको टुंगो लगाएको हो। पार्टी एकीकरण भएको एक वर्षपछि टुंगो लागेको जिल्ला इन्चार्जमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष हावी देखिएको छ।

तत्कालीन एमालेको भागमा परेका ५० इन्चार्जमध्ये नेपाल पक्षधर नेताहरुले २१ जिल्लासहित २४ इन्चार्ज हात पारेका छन् भने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली निकट नेताहरुले १९ जिल्लासहित २० इन्चार्ज भेटेका छन्।

त्यस्तै तत्कालीन माओवादीको भागमा परेका ३१ इन्चार्जमध्ये पुष्पकमल दाहाल निकटका २२ र नारायणकाजी श्रेष्ठनिकटका ४ नेताले इन्चार्जको जिम्मेवारी पाएका छन्। पाँच जिल्ला इन्चार्ज भने ओली र नेपालसँग सुमधुर सम्बन्ध राख्ने नेताले हात पारेका छन्। नेता ईश्वर पोखरेल निकटका कसैले पनि इन्चार्जको जिम्मेवारी पाएनन्।

पार्टीमा पछिल्लो समय शक्तिशाली बन्दै गएको आकलन गरिएका नेता रामबहादुर थापा निकटका ४ र नेता वामदेव गौतम निकटका ४ जना इन्चार्ज बनेका छन्। गृहमन्त्रीसमेत रहेका थापा प्रदेश र जिल्ला कमिटी गठनमा हावी भएका थिए।

नेपाल समूहले ताप्लेजुङ, झापा, मोरङ, तेह्रथुम, संखुवासभा, सिरहा, ओखलढुंगा, उदयपुर, पर्सा, मकवानपुर, रामेछाप, लम्जुङ, मुस्ताङ, पाल्पा, बर्दिया, जाजरकोट, डोल्पा, मुगु, कञ्चनपुर, अछाम र बाजुरा जिल्लाको इन्चार्ज पाएको छ। यस्तै वीरगन्ज महानगरपालिका, ललितपुर महानगरपालिका र काठमाडौ महानगरपालिकाको इन्चार्जको जिम्मेवारी पनि नेपाल पक्षधर नेताले पाएका छन्। अध्यक्ष ओली पक्षधर नेताहरुले सुनसरी, खोटाङ, सप्तरी, चितवन, नुवाकोट, काभ्रे, मनाङ, गुल्मी, स्याङ्जा, नवलपरासी पश्चिम, रुपन्देही, पर्वत, अर्घाखाँची, रुकुम पूर्व, सुर्खेत, बैतडी र डोटी जिल्लाको इन्चार्ज पाएका छन्। पोखरा महानगरपालिकाको इन्चार्ज पनि ओली समूहको हात लागेका छ।

त्यसैगरी नेता गौतम पक्षधरले काठमाडौं, दार्चुला र म्याग्दीको इन्चार्ज पाएका छन् भने पार्टी प्रवक्तासमेत रहेका नेता श्रेष्ठ निकट नेताहरुले महोत्तरी, सर्लाही, दाङ र कपलिवस्तुको जिल्ला इन्चार्ज पाएका छन्। थापा पक्षीय नेताहरुले कैलाली, भक्तपुर, रौतहट र तनहुँको इन्चार्ज पाएका छन्। त्यसबाहेक २१ जिल्लाका इन्चार्ज र २ महानगरपालिकाको इन्चार्ज भने दाहाल पक्षधरले पाएका छन्। भरतपुर महानगरपालिकामा मेयर रेणु चन्द आफैं इन्चार्ज भएकी छन्। त्यस्तै पोखरा महानगरपालिकामा पनि मेयर मानबहादुर जिसी आफैं इन्चार्ज भएका छन्।

जिल्ला इन्चार्जको अपेक्षा गरेका कतिपय पूर्वएमाले नेताहरुलाई भने कुनै जिम्मेवारी दिइएको छैन। नरेश खरेल, जगन्नाथ खतिवडा, टंक कार्की, केदार न्यौपाने, राजेन्द्र गौतम, पशुपति चौलागाईं, हिक्मत कार्की, तुलबहादुर गुरुङ, पार्वत गुरुङलगायतले कुनै पनि जिम्मेवारी पाएका छैनन्। त्यसैगरी सूर्य थापा र विष्णु रिजालले पनि कुनै जिम्मेवारी पाएका छैनन्।

सोलुखुम्बूमा भने पूर्वमाओवादीका तर्फबाट इन्चार्ज र सहइन्चार्ज तोकिएको छ। यसअघिका इन्चार्ज किशोर अधिकारीलाई जिम्मेवारीविहिन बनाइएको छ। धनकुटा, काभ्रे, गुल्मी, डोल्पा, दार्चुला, ताप्लेजुङ, ओखलढुंगा, नुवाकोट र प्युठानमा सहइन्चार्ज तोकिएको छैन। त्यसैगरी महानगरपालिकामा पनि सहइन्चार्ज तोकिएको छैन।

आइतबार बसेको नेकपाको सचिवालय बैठकले जिल्ला इन्चार्जको टुंगो लगाए पनि सचिवालय सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छैन। ३२ वटा विभागका प्रमुखसमेत तोक्ने गरी सचिवालयको बैठक बसे पनि स्कुल विभागमा विवाद उत्पन्न भएपछि जिल्ला इन्चार्ज र सहइन्चार्जमात्रै तोकेर बैठक सकिएको थियो।

स्कुल विभागमा अझै विवाद

स्कुल विभाग पूर्वएमालेको भागमा परे पनि नारायणकाजी श्रेष्ठले दाबी गरेपछि बैठकमा विवाद भएको थियो। प्रचार विभाग र आर्थिक विभाग पूर्वमाओवादीको भागमा परे पनि श्रेष्ठले ‘यस्तो भागबन्डाले हुँदैन, मलाई प्रचार विभाग भनेर सधैं थन्क्याउने काम राम्रो भएन’ भन्दै स्कुल विभागमा दाबी गरेका थिए।

सचिवालय सदस्य पोखरेलको पनि स्कुल विभागमा दाबी छ। तर पूर्वमाओवादीहरुले पोखरेललाई स्कुल विभाग प्रमुख अस्वीकार गरेका छन्। पोखरेलले जनताको बहुदलीय जनावादको वकालत गर्न थालेपछि पूर्व माओवादी समूहले उनलाई अस्वीकार गरेका छन्। विवाद आएपछि ओलीले मंगलबारसम्मका लागि बैठक स्थगित गरेका थिए। यो समाचार टपेन्द्र कार्की नागरिक दैनिकमा लेखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७