सांसद शान्ता चौधरी कक्षा ११ मा भर्ना, रोल नम्बर ६२


२९ श्रावण २०७६, बुधबार
santa chaudhari samsad

काठमाडौं, २९ साउन । भर्खरै एसईई परीक्षा उत्तीर्ण गरेकी सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद शान्ता चौधरी कक्षा ११ मा भर्ना भएकी छन् ।

सेतो नम्बरको सरकारी स्कार्पियोमा चढेर आफू पढ्ने विद्यालय पुगेकी चौधरीले बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना भएकी हुन् । चौधरी मानविकी संकायमा समाजशास्त्रको विद्यार्थीको रुपमा भर्ना भएकी हुन् ।

बुधबार विहान रत्नराज्य स्कूलमा पुगेकी संसदीय दलकी सचेतक समेत रहेकी चौधरीको रोल नम्बर ६२ रहेको विद्यालयले जनाएको छ । उनले दाङबाट यसै वर्ष एसईई पास गरेकी हुन् । चौधरीलाई विद्यालयका शिक्षकहरुले उनको कक्षामा लगेर सहपाठी विद्यार्थीहरुसँग परिचय गराई दिएका छन् ।

वाल्यकालदेखि नै जमिन्दारको घरमा कमलरी बसेकी चौधरीले सानोमा पढ्ने अवसर पाइनन् ।
उनी २०६४ सालमा संविधानसभा सदस्य भएर काठमाडौं आएपछि हस्ताक्षर समेत गर्न नजान्दा ठाउँ ठाउँमा अपमानित भएपछि पढ्न थालेकी थिइन् । उनले यस वर्ष दाङको महेन्द्र मावि तुलसीपुरबाट एसईई दिएकी थिइन् ।

उनका छोराले १२ कक्षा पास गरिसकेका छन् भने छोरीले यसैवर्ष आमासँगै एसईई दिएकी थिइन् । छोरीले नर्सिङ पढ्न चाहेको र उनको भर्ना बाँकी रहेको चौधरीले बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७