जबरजस्ती डोजर लगाउँदा लोकन्थलीमा पहिरो, आठ घर उच्च जोखिममा (भिडियाे)

काठमाडौं, ३ भदौ । भक्तपुरको लोकन्थलीस्थित मुख्य सडकमा गएराति पहिरो खसेको छ ।
सडक किनाराको एक छेउमा माथिबाट पहिरो खस्दा आठ घर उच्च जोखिममा परेका छन् । सोमबार राति परेको वर्षाका कारण मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीमा पहिरो गएको हो ।
जोखिममा परेका घरका मानिसलाई राति नै अन्यत्र सारिएको प्रहरीले जनाएको छ । काठमाडौ खानेपानी आयोजनाले खानेपानी टयाङ्की बनाउन भन्दै रेटनिङ पर्खाल भन्दा गहिराएर खनिदिएपछि पहिरो खसेको स्थानीयले बताएकाछन् ।
स्थानीय जनप्रतिनिधि, ठेकेदार कम्पनी, खानेपानी आयोजनाको लापरबाहीका कारण उक्त ठाँउमा पहिरो गएको श्री गोरखनाथ सेवा समाज समितिका कोषाध्यक्ष केशवराज पोखरेलले बताए ।
उक्त ठाँउमा ठेकेदारलाई डोजर लगाएर नखन्न पटक पटक आग्रह गर्दा पनि आफूले ठेक्का पाएको भन्दै जबरजस्ती रुपमा डोजर लगाएर खनिदा पहिरो गएको स्थानीयको भनाई छ ।
त्यस्तै अहिले मध्य बर्खामा काम नथाल्न र हिउदको समयमा रिजर्ब ट्याङ्की बनाउन स्थानीयले आग्रह गरेपनि आफ्नो टेन्डर परेको भन्दै जबरजस्ती रुपमा काम सुरुगरेपछि आफूहरुको घर जोखिममा परेको गुनासो गरेका छन् ।
पहिरो खस्दा सवारी आवागमन समेत प्रभावित बनेको छ । अरनिको राजमार्ग भएर काठमाडौं आउने सवारी साधान आवागमन प्रभावित बनेको छ ।