संविधानमा हाम्रा विगतका आँशु, पीडा, संघर्ष र बलिदानका कथा छन् : प्रधानमन्त्री

‘संविधान विगतको संग्र्रह, वर्तमानको प्रतिविम्ब र भविष्यमा हिंड्ने बाटो हो’


४ भाद्र २०७६, बुधबार
PRO Ktm4

काठमाडौं, ४ भदौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस पटकको संविधान तथा राष्ट्रिय दिवस भव्यता र व्यापकताका साथ मनाउन सबैमा आह्वान गरेका छन् ।

ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धिका रूपमा संविधान आएकाले यो राष्ट्रव्यापी साझा दिवसको विशेषता, व्यापकता र भव्यता भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कसरी जनस्तरमै व्यापक बनाउन सकिन्छ, त्यसैगरी तयारी थाल्न आग्रह गरे ।

आज गृह मन्त्रालयमा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दिवसमा उद्योगी, व्यापारी, शिक्षक, कर्मचारीदेखि हरेक पसल र घरमा झण्डा होस् हरेक गाडीमा झण्डा होस्, हरेक घरले दिपावली मनाओस्, बिजुली नभएका ठाउँमा पनि लस्करै टुकी बालेर रमाइलो होस् भन्ने विचार व्यक्त गरेका छन् ।

PRO Ktm3

संविधान जारी भएको दिन अधिकारको अवसर, सुरक्षा, सम्मान, समृद्धि र सुखद्तर्फको यात्रा भएकाले दिवस अठोट प्रतिबद्धता र सङ्कल्पको चाड भएको प्रधानमन्त्रीले स्मरण गरे । प्रधानमन्त्री ओलीकै अध्यक्षतामा आज बसेको बैठकले असोज २, ३ र ४ गते संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाउने निर्णय समेत गरेको छ । त्यसका लागि भदौ २७ देखि नै तयारीका कार्यक्रम हुनेछन् । समितिले कागज र कपडा बाहेकका झण्डालाई निषेध गरेको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अङ्गिकार गरेको संविधान ठूलो बलिदान, सङ्घर्ष, त्याग र उपलब्धिको निचोड हो भन्दै प्रधानमन्त्री ओलीले संविधानले विभिन्न समयमा भएका योगदानको अभिव्यक्त, जनधारणा र जनअभिमतलाई सम्बोधन गरेको बताए । हरेक व्यक्तिका अपेक्षा जस्ताको त्यस्तै सम्बोधन नगरे पनि साझा दस्तावेजका रूपमा बृहत्तर राष्ट्रहित, राष्ट्रिय आकांक्षालाई संविधानले समेटेको प्रधानमन्त्रीको भनाइ थियो ।

उनले भने, ‘यो संविधान विगतको सङ्घर्ष, इतिहास, बलिदानको उपलब्धिको सङ्ग्रह हो, वर्तमान यथार्थको प्रतिविम्ब हो र भविष्यमा हिंड्ने बाटोको एकीकृत रूपमा हो, यसमा हाम्रा विगतका आँशु र पीडा, सङ्घर्ष र बलिदानका कथा छन्, वर्तमानका जटिलता अफ्ठेरा र आवश्यकता समेटिएको छ र भावी दिनका लागि कसरी अगाडि बढ्ने भन्ने राष्ट्रिय आकांक्षा र गन्तव्य समेटिएको छ ।’

सहमतिको दस्तावेज भए पनि संविधानले हाम्रो इतिहास गौरवपूर्ण परम्परालाई अङ्गिकार गरी परम्पराको नाममा भएका अवैज्ञानिक पक्षलाई हटाएको बताउँदै संविधान जारी भएको दिन राष्ट्रिय उत्सव भएकाले सेनाको मात्रै दिवस भनेर नबस्न प्रधानमन्त्री ओलीले आग्रह गरे ।

सबै जनताको दिवसको रूपमा मनाउनुपर्नेमा जोड दिंदै उनले नेपालीको सबैभन्दा ठूलो चाड भएकाले राष्ट्रव्यापीरूपमा र विदेशमा बसेका नेपालीले समेत मनाउने साझा उत्सव भएको बताए ।

‘यो चाड एउटा पक्ष र क्षेत्रको लागि होइन देशका लागि हो, त्यसमा केन्द्रीय सरकारदेखि प्रदेश सरकार र स्थानीय तहका सबै सरकार र निकायले राष्ट्रिय उत्सवका साथ भव्यरूपमा मनाउनु आवश्यक छ, राष्ट्रिय दिवसको रूपमा मनाउनका लागि उल्लासपूर्ण ढङ्गबाट जनव्यापीरूपमा कसरी लान सिकन्छ त्यसैगरी कार्यक्रम बनाउन आग्रह गर्दछु’, प्रधानमन्त्रीले थपे ।

उनले उक्त दिन झण्डा दिवसका रूपमा मनाउनु पर्नेमा जोड दिँदै झण्डामय बनाउन सबैलाई अनुरोध समेत गरे । अन्तर्राष्ट्रिय खेलमा हरेकको हातमा झण्डा हुँदा त्यसले देशको प्रतिनिधित्व गर्ने भएकाले सोहीअनुरूप राष्ट्रिय दिवस मनाउनुपर्नेमा उनको जोड थियो । झण्डालाई घरमा राख्न पाउने र सम्मानपूर्वक मुटुको अगाडि र पछाडि पर्ने गरी झण्डा भएको कपडा लगाएर राष्ट्रिय उत्सव मनाउन प्रधानमन्त्रीले आह्वान गरे ।

झण्डाले राष्ट्रिय एकता र उपलब्धिलाई मौन ढङ्गले दृढतापूर्वक अभिव्यक्त गर्दै साझा अभिव्यक्ति, भावना र देशभक्ति बोल्ने भएकाले त्यो दिन सिंहदरबारमा उपस्थित भई सबै कर्मचारीले झण्डा बोकेर र्‍यालीमा सहभागी हुने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे ।

उनले त्यो दिन घर बिदा नभई उत्सव बिदा भएकाले हाजिरीको अभिलेख राखेर कर्मचारीलाई सहभागी गराउन आग्रह गरे । यस्ता उत्सवमा असामाजिक तत्वले अवसर छोप्नेतर्फ प्रधानमन्त्री ओलीले ध्यानाकर्षण गराउँदै सतर्कता अपनाउन सुरक्षा अधिकारीलाई आग्रह गरे । उनले जुन धर्तीको उपजबाट हामी बाँचेका छौं, त्यस्ता मातृभूमिको विषयलाई विवादको विषय नबनाउन सञ्चारकर्मीलाई आग्रह गरे ।

दिवस मनाउनका लागि विभिन्न उपसमिति समेत बनाइएको छ । सो क्रममा गृहसचिव प्रेमकुमार राईले दिवसमा आयोजना हुने कार्यक्रमबारे पेश गरेको प्रस्ताव बैठकले पारित गरेको छ ।

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि बिहीबार सिङ्गापुर जाँदै
बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ परीक्षणका लागि बिहीबार अपराह्न सिङ्गापुर जाने जानकारी गराए । प्रधानमन्त्री ओलीले भने, ‘म स्वास्थ्य परीक्षण र हल्का उपचारका लागि जाँदैछु, १५ वर्ष अगाडि बिरामी थिएँ, अब १५ वर्ष तगडामा सामेल छु, बाँकी १५ वर्ष तगडामै हुन्छु ।’ उनले उपचारमा केही दिन लाग्ने बताउँदैै संविधान दिवसभन्दा अगाडि नै आइपुग्ने जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७